
नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले प्रतियोगितामा दोस्रो जित हात पार्दा जनकपुरले भने पहिलो हार भोगेको छ। टियू मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ५३ रनले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा दोस्रो खेल पनि जित्यो।
टियू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रनको गतिलो स्कोर बनाएको थियो। जवाफमा जनकपुर १ सय ५५ रनमा नै समेटिन पुग्यो।

काठमाडौंको फराकिलो जितमा एलेक्स ब्लेकले ८३ रनको विष्फोटक इनिङ खेलेका थिए। उनले आफ्नो इनिङमा ४३ बलमा ४ चौका र ७ छक्का प्रहार गरेका थिए। ओपनर वीरनदीप सिंहले ४९ रन बनाउँदा अजमतुल्ला ओमरजाईले ४३ रन बनाएका थिए।

लोकेश बमले १५ रन बनाए। जनकपुरका पवन सराफले २ विकेट लिंदा सोमपाल कामी, जितेन्द्र मुखिया, सर्फुदीन असरफ, मोहम्मद आदिल अलामले १÷१ विकेट लिएका थिए।
२ सय ९ रनको कठिन लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा १ सय ५५ रनमै अलआउट भएको थियो। उसका लागि समिउल्ला सिनवारीले २९ रन बनाउँदा सुदीप जोराले २६ र पवन सराफले २४ रन बनाए।
सर्फुदीन अशरफले १९ रन जोड्दा मोहम्मद आदिल अलामले १६ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जितेन्द्र मुखियाको १३ रन रहेको थियो।
काठमाडौंका लागि अजमतुल्ला ओमरजाईले ३ विकेट लिए भने बसिर अहमेदले २ विकेट हात पारेका थिए। थाहा खबर बाट सभार
