

आइसिसी विश्वकप क्रिकेट लिग–२ को महत्वपूर्ण अभियानमा रहेको नेपाल निरन्तर खराब प्रदर्शनको शिकार भइरहेको छ। नामिबियामा सम्पन्न भएको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित एकदिवसीय सिरिजको चौथो खेलमा नेपालले बिहीबार स्कटल्यान्डलाई जितका लागि १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले १७ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै फराकिलो जित निकाल्यो।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले ४५ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले ४६ रनको नटआउट इनिङ खेले। कप्तान रिची बेरिङ्गटन १२ रनमा नटआउट रहे। ओपनर क्याली कोटजर भने १६ रनमा आउट भएका थिए।
नेपालका लागि गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिएका थिए।
त्यसअघि बिहीबार युनाइटेड क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलको ४७ रन सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक दिपेन्द्रसिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ रन जोडेका थिए। थप दोहोरो रनको स्कोरका रुपमा सागर ढकालको ११ रन रह्यो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा ब्रान्डन मक्मुलेन, सफायन सरीफ र मार्क वाटले २÷२ विकेट लिँदा क्रिस सोले, क्रिस्टोफर म्याकब्राइड र क्रिस ग्राभेसले १÷१ विकेट लिएका थिए।
स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल सिरिजमा जितविहीन रह्यो।
पहिलो खेलमा वर्षाका कारण नामिबियासँग १ अङ्क पाएको नेपालले त्यसपछि नामिबिया र स्कटल्यान्डसँग लगातार हार भोग्यो।
विश्वकप लिग–टू मा नेपाल २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहँदा स्कटल्याण्ड भने ३२ खेलबाट ४६ अङ्कका साथ पहिलो स्थानमा रहेको छ।
अब नेपालले आफ्नो एकदिवसीय वरीयता जोगाउन १२ खेलमध्ये कम्तिमा ९ खेल जित्नु पर्नेछ। थाहा खबर बाट सभार
