क्यासिमिरोको निर्णायक गोलप्रेरित ब्राजिल समूह ‘जी’मा स्विट्जरल्यान्डलाई १–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा पुगेको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिललाई ९७४ रंगशालामा जित दिलाउन क्यासिमिरोले ८३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।
ब्राजिलले विश्वकपमा गरेका पछिल्ला १० गोल सबै दोस्रो हाफमा मात्रै भएका छन्। समूह चरणको पहिलो खेलमा सर्बियाविरुद्ध पनि रिचार्लिसनले दोस्रो हाफमा दुई गोल गरेका थिए।

खेलको सुरुआतदेखि नै निरन्तर दबाब बनाए पनि फाइनल थर्डमा चुक्दा ब्राजिलले अग्रता लिन सकेको थिएन।

रोडरिगोले दिएको पासमा हाफ भली प्रहार गर्दै क्यासिमिरोले सुन्दर गोल गरेका थिए। सोही गोल निर्णायक बन्दा ब्राजिल सुरुआती दुई खेलबाट ६ अंक बटुलेर एक खेल अगावै नकआउटमा पुग्ने दोस्रो टिम बनेको छ।
यसअघि साविक विजेता फ्रान्स पनि एक खेल अगावै प्रि–क्वार्टरफाइनलमा पुगिसकेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुनसँग खेल्ने छ भने स्विट्जरल्यान्ड र सर्बिया आमनो सामनो हुनेछन्। अन्नपूर्ण पोस्ट बाट सभार
