कतारमा जारी फिफा विश्वकपको समूह ‘ई’अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन्। अल बायट रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा सब्स्टिच्युट फरवार्ड अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। जोर्डी अल्बाले बायाँतर्फबाट दिएको क्रसमा जर्मन डिफेन्डरलाई बिट् गर्दै मोराटाले उत्कृष्ट गोल गरेका थिए।
स्पेनविरुद्ध पछाडी परेसँगै आक्रामक बनेको जर्मनीका लागि ८३औं मिनेटमा सब्स्टिच्युट फरवार्ड निक्लास फुल्कर्ग उत्कृष्ट गोल गरेका थिए।


युवा मिडफिल्डर जमल मुसियालले दिएको पासमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा स्पेनिस गोलकिपर युनई सिमोन निरिह बनेका थिए।
पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गरेको स्पेनले बराबरीसँगै चार अंक जोडेको छ। पहिलो खेलमा जापानसँग २–१ को अप्रत्यासित हार बेहोरेको जर्मनीले एक अंक बटुलेको छ।
समूह चरणको अन्तिम खेलमा स्पनेले जापान र जर्मनीले कोस्टारिकासँग खेल्ने छ। कोस्टारिका र जापान दुवैको तीन–तीन अंक छ। अन्नपूर्ण पोस्ट बाट सभार
