
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गरेका हुन।

मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न आयोगको तर्फबाट सबै मतदातालाई हार्दिक आह्वान गर्नुभएको छ । साथै उनले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने , ‘‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारीहरू पूरा भइसकेको छ ।’’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टाबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजकता अपनाएको छ ।
यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगम टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमनको कार्य भइरहेको पनि उनले बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको जानकारी दिए।

यसैगरी, आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्ता लगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीहरूलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशन दिइएको जानकारी दिए ।
उनले भने, ‘‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटक पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्काे कुनै अनाधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गरी मतदाताको स्वच्छता र स्वतन्त्रता कायम गर्न मतदान अधिकृत तथा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक एवम् निर्वाचन प्रतिनिधि समेतलाई आवश्यक निर्देशन दिइएको छ ।’’
निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गरेको उनले बताए । गोदावरी न्युज बाट सभार
