कञ्चनपुर ३ क मा एमाले र राप्रपाबीच चुनावी तालमेल,एमाले पार्टी कार्यालययमा गरियो तालमेल सम्झौतामा हस्ताक्षर

महेन्द्रनगर । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । एमाले पार्टी कार्यालयमा शनिबार साँझ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कञ्चनपुर ३ को प्रतिनिधि सभा र प्रदेश सभा ख मा राप्रपाले एमाले र प्रदेश सभा क मा एमालेलाई राप्रपालाई सहयोग गर्ने भएका छन् ।
चुनावी तालमेलका लागि एमाले र राप्रपाबीच यस अघि अनौपचारिक सहमति भएको थियो । उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन दुबै दलले एमाले पार्टी कार्यालयमा तालमेलका लागि औपचारिक सहमति गरेका हुन् ।


सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्यद्वय राजेन्द्र सिह रावल, निरुदेवी पाल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपाबाट सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी र जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतका नेता सहभागी भएका छन् ।
राप्रपाका प्रदेश अध्यक्ष जोशी कञ्चनपुर ३ क मा उम्मेदवार छन् । यसैगरी एमालेबाट प्रतिनिधि सभामा निरुदेवी पाल र प्रदेश सभा ख मा सुरेन्द्र विष्ट उम्मेदवार भएका छन् ।विकल्प दैनिक
