
कञ्चनपुर : बैतडीको पुर्चौंडी नगरपालिकाका विद्यार्थीले १२ कक्षासम्म नि:शुल्क पढ्न पाउने भएका छन् । कक्षा ११ र १२ का विद्यार्थीको शुल्क नगरपालिकाले तिरिदिन थालेपछि विद्यार्थीले निःशुल्क पढ्ने अवसर पाएका हुन् ।

नगर प्रमुख दीपकबहादुर बमका अनुसार कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने चुनावी घोषणाअनुसार विद्यार्थीको शुल्क नगरपालिकाबाट बेहोर्न थालिएकोे हो। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई माथिल्लो कक्षामा टिकाउनका लागि नगरपालिकाले विद्यार्थीको शुल्क तिर्न थालेको हो ।

नगरपालिकाभित्रका आठओटा विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीको मासिक शुल्क नगरपालिकाले विद्यालयको खातामा पठाउन थालेको बताइएको छ ।
