सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैशाख ११ गतेदेखि मेलम्चीको पानी धारामा : मन्त्री उमाकान्त चौधरी

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाण्डौ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ । पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्चीको मुहानबाट गएको चैत ३० गते सुरुङमा हालिएको पानी हिजो सोमवार राति सुन्दरीजलमा आइपुगेपछि आज मङ्गलवार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो । काठमाण्डौ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उहाँले आह्वान गर्नुभयो । मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका ठाउँमा सडक विभागसँग समन्वय गरेर मर्मत गरी सडक पुनर्निर्माण गरिने बताउनुभयो । काठमाण्डौ उपत्यकामा अहिले तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उहाँले जानकारी दिनुभयो । मेलम्चीको पानी नयाँ र पुरानो दुवै धाराबाट वितरण गरिने बताइएको छ ।

Dirghayu Ads

मुहानबाट दुई सय ६० लिटर प्रतिसेकेन्डका दरले सुरुङमा हालिएको पानी सोमवार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याइ प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि काठमाण्डौ आइपुगेको पानी गएको वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।

मेलम्ची आयोजनाले अहिले अस्थायीरूपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ । वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.