

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा गोलबद्ध हुन सबैसँग आह्वान गरेका छन्। अहिले फरकफरक विचार र सिद्धान्त बोकेका पार्टीहरूबीच गठबन्धन भएको भन्दै उनले देशमा स्थायित्व चाहने जति सबैलाई एमालेमा गोलबद्ध हुन आह्वान गरेका हुन्।
चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसका अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलि सभा एवं स्मृति ग्रन्थ विमोचनमा उनले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताए।

’नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली कांग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ,’ पोखरेलले भने। राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताए।


सो कार्यक्रममा वरिष्ठ नेता पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताए। भेटवालले पार्टीभित्र कडा रूपमा टिप्पणी गर्ने, विरोध गर्ने तर पार्टीले निर्णय गरेको कुरा आफूअनुकूल नहुँदा समेत स्वीकार गरेर हिँड्ने गरेको स्मरण गरे। सो अवसरमा पोखरेलले जागृतप्रसाद भेटवाल स्मृति ग्रन्थको विमोचन गरेका थिए।
राजनीतिमा मात्र नभएर साहित्यमा झर्रो आन्दोलन गरेका नेता भेटवालले ‘नौलो साहित्य’ पत्रिका छपाएर ह्रस्वमात्र लेख्ने अभियानको थालनी गरेका थिए। पत्रिकाले तत्कालीन राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध ठूलो जनमत सिर्जना गरेको थियो।
विसं २०४२ मा पञ्चायती व्यवस्थाको निर्वाचनमा क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लिएर भेटवाल अगाडि बढेको नेता काशीनाथ अधिकारीले बताए। थाहा खबर बाट सभार
