

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए।

सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

उनले भने, ’यो आर्थिक वर्ष समाप्त हुन लागिसक्दा पनि यो विषय कार्यान्वयन हुन नसकेकामा म चिन्तित छु, विषयगत रुपमा सञ्चार मन्त्रालयअन्तर्गतको कार्यक्रम भए पनि यो कार्यान्वयनको सवाल मेरो मन्त्रालयसँग जोडिएको विषय हो, म मेरै कार्यकालमा यो विषय कार्यान्वयनको सुरुआत होस् भन्ने चाहन्छु।’

मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्वयनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउँदै उनले सबै नेपालीलाई बीमाको दायरामा आउन अपिल गरे।
महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले कोरोना महामारीको समयमा जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीको प्रशंसा गरे। थाहा खबर बाट सभार
