सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशभर झरी र हिमपातले हिउँदे बालीलाई फाइदा, किसान खुसी

हिजो मङ्गलवार रातिदेखि देशभर हिउँदे झरी तथा हिमपात भएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा बढिरहेको बेला देशभरि नै झरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

अहिले पनि देशभर मौसम बदली भएको छ भने धेरै ठाउँमा वर्षा पनि भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्मै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

हिउँदे झरी तथा हिउँ परेकाले किसानहरू खुसी भएका छन् । यसबेला हिउँ पर्दा लेकाली क्षेत्रमा गहुँ, जौ तथा आलुखेतीका लागि समेत राम्रो हुने किसानहरू बताउँछन् । यस्तै पहाड तथा तराईका जिल्लामा पनि गहुँ, तरकारी लगायतका बालीलाई सिँचाइ हुन्छ । यसबेलाको हिउँ तथा वर्षा हिउँदेबालीका लागि उपयोगी हुने किसानहरू बताउँछन् । यस्तै पानी परेका कारण देशभर बढेको वायु प्रदूषण पनि कम भएको छ ।

World Link Ads
Mahakali Polytechnic

वर्षा र हिमपातका कारण चिसो भने बढेको छ । हिउँ परेका ठाउँका बासिन्दालाई घरबाहिर निस्कनै समस्या भएको छ भने चिसो देशभर नै बढेको छ । हिमाली क्षेत्रमा बर्सेनि यो मौसममा हिउँ पर्ने भएकाले मानिस तथा गाईवस्तुका लागि खानेकुरा र दाउरा लगायतको जोहो गरिएको हुनाले हिउँ परेका बेला धेरैजसो घरभित्रै बस्ने गर्छन् । अत्यावश्यक परेर हिँडडुल गर्नुपर्दा भने समस्या हुन्छ ।

Sana Kishan

यद्यपि काठमाण्डौ उपत्यका वरपरका डाँडाहरू– चन्द्रागिरि, चम्पादेवी, फुलचोकी लगायतका ठाउँमा हिउँ खेल्न जानेको भिड लागेको थियो । विभिन्न सहर र बस्ती नजिकैका ठाउँमा हिउँ खेल्न जानेहरू पनि उल्लेख्य रहेका छन् ।

पूर्वतयारी भए पनि चिसोका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । चिसो बढेका बेला सकेसम्म घर बाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर मात्र निस्कन र खानेकुरामा ध्यान दिन जनस्वास्थ्यविद् अरुणा उप्रेतीले बताउनुभयो । चिसोको समयमा झोलिलो, पोसिलो र कागती, अमला लगायतका भिटामिन ’सी’ प्राप्त हुने खानेकुरा खान उहाँको सुझाव छ । चिसोका कारण बालबालिका तथा वृद्धवृद्धामा निमोनिया लगायतका समस्या देखिने भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

यसैबीच वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम खण्ड लगायत विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रका सडकमा हिउँ जमेका कारण आवातजावातमा समस्या भएको छ । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आज बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।

वर्षा र हिमपातले चिसो बढेपछि विभिन्न ठाउँमा आगो बाल्ने, न्यानो कपडा बाँड्ने लगायतका काम पनि भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गाका विभिन्न चोकमा आगो बालिदिएको छ । यसैबीच हिमाली र उच्च पहाडी जिल्लामा हिमपात तथा तराईमा शीतलहरले मानव जीवनमा जोखिम सिर्जना गरेकोले तत्काल राहत र उचित प्रबन्ध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै पालिकालाई निर्देशन दिएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.