सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आजदेखि ई–पासपोर्ट, यस्ता छन् विशेषता

सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । त्रिपुरेश्वरमा रहेको राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।

अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ।

के हो ई–पासपोर्ट ?
हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले ई–पासपोर्ट जारी गरिरहेका छन् । ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ।

World Link Ads
Mahakali Polytechnic

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् । विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ ।

Dirghayu Ads

साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

Sana Kishan

लाइभ इन्रोलमेन्ट, पासपोर्ट ढिलो बन्ने समस्याको अन्त्य
ई–पासपोर्ट अनलाइनमार्फत लाइभ इन्रोलमेन्ट हुन्छ । लाइभ इन्रोलमेन्ट सिस्टम भएको हुँदा सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा गएर पैसा तिरेपछि फोटो खिच्नेदेखि अन्य काम कम्प्युटरमार्फत नै हुनेछ ।

जिल्ला प्रशासनबाट लाइभ आवेदन हुने हुँदा विभागले तत्काल पासपोर्ट प्रिन्ट गरेर जिल्ला प्रशासन कार्यालयलाई पठाउने छ । यो व्यवस्थाले जिल्ला प्रशासन कार्यालयले फारम सङ्कलन गरेर विभागमा ल्याउनु पर्ने, विभागले फेरि जाँच गरेर प्रक्रिया अघि बढाई प्रिन्ट गर्नु पर्ने र प्रिन्ट भएका पासपोर्ट पठाउँदा लाग्ने समय बचत हुनेछ । राहदानी विभागका निर्देशक शरद राजका अनुसार ई–पासपोर्ट जारी हुन थालेपछि आवेदन दिएको १५ दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै ई–पासपोर्ट लिन सकिनेछ ।

यसअघि एमआरपी बनाउँदा जस्तो डेढदेखि दुई महिना कुर्न पर्दैन । जिल्ला प्रशासन कार्यालयबाट मात्र नभई विदेशमा रहेका नेपाली नियोगबाट पासपोर्टका लागि आवेदन दिनेहरूको हकमा पनि यही व्यवस्था लागू हुनेछ ।

‘अहिले विदेशबाट राहदानी नवीकरणका लागि लामो समय लाग्छ किनभने, आवेदन दिन प¥यो, त्यसको सङ्कलन, डिप इमेल, त्यसको अन्य प्रक्रिया र प्रिन्ट गरी पठाउँदा लामो समय लागिरहेको छ,’ विभागका निर्देशक तथा प्रवक्ता शरद राज अरनले भन्नुभयो,‘अब ई–पासपोर्ट भएपछि यो झन्झण्ट रहँदैन र लामो समय पनि कुर्न पर्दैन ।’

म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ ई–पासपोर्ट जारी हुँदैमा एमआरपी पासपोर्ट नचल्ने भन्ने हुँदैन । अहिले जारी भएको एमआरपीको म्याद रहँदासम्म एमआरपी पासपोर्ट चल्छ । तर त्यसको म्याद सकिएपछि भने नयाँ बनाउँदा ई–पासपोर्ट नै जारी हुन्छ । ई–पासपोर्ट जारी हुन थालेपछि विभागले नयाँ एमआरपी पासपोर्ट जारी गर्ने छैन । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.