

भारतीय टी–२० क्रिकेट टिमको नयाँ कप्तान र उपकप्तान घोषणा गरिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ओपनरद्वय रोहित शर्मालाई कप्तान र केएल राहुललाई उपकप्तान बनाएको छ।

भारतीय छनोटकर्ताले भर्चुअल बैठकमार्फत् मंगलबार न्युजिल्यान्डसँगको टी–२० सिरिजका १६ सदस्यीय टोली घोषणा गरेको छ।

नोभेम्बर १७ मा सुरु हुने ३ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि शर्माको कप्तानी टिम घोषणा गरिएको हो।
विराट कोहलीले टी–२० विश्वकपअघि नै कप्तानी छाड्ने घोषणा गरेपछि बिसिसिआईले शर्मालाई टी–२० को कप्तानी सुम्पेको छ।
रोहितले आइपिएलमा मुम्बईलाई सर्वाधिक ५ पटक उपाधि दिलाएका छन्। उनी आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान हुन्।

भारतले केही खेलाडीलाई आरामसमेत दिएको छ।
अनुभवी ब्याट्सम्यान विराट कोहलीसहित अलराउन्डर रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुमराहलाई न्युजिल्यान्ड विरुद्धको टी–२० सिरिजमा आराम दिइएको हो।
वेंकटेश अय्यर, आवेश खान, हर्षल पटेल पहिलो पटक भारतीय टिममा परेका छन्। उनीहरूले आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
न्युजिल्यान्डसँगको पहिलो टी–२० खेल १७ नोभेम्बरमा जयपुर र दोस्रो राँचीमा १९ नोभेम्बरमा हुनेछ। तेस्रो तथा अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ।
भारतीय टोली : रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवाड, इशान किशन (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, श्रेयस अय्यर, वेंकटेश अय्यर, रविचन्द्रन अश्विन, यजुर्वेन्द्र चहल, आवेश खान, अक्षर पटेल, भुवनेश्वर कुमार, दीपक चहर, मोहम्मद सिराज र हर्षल पटेल
(थाहा खबर बाट सभार)
