सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी गर्ने तिहारमा स्वास्थ्यको ख्याल ?

नेपालीहरूको घर आँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउँछन् ।

उनले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउने गर्छन् । ‘रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी पकाउने गर्दछु,’ उनले भने, ‘तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।’

तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्त्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेष गरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् । टीकापुरकै सृष्टि शाहलाई पनि तिहारमा रोटी नपकाउँदा रमाइलो लाग्दैन । सृष्टिको छिमेकका सबै मिलेर रोटी पकाउँछिन् । ‘थरिथरिका रोटी पकाउँदा, घर झिलिमिली गर्दा बल्ल रमाइलो हुन्छ । हामी छिमेकमा मिलेर पालैपालो रोटी पकाउने गर्छौँ,’ शाहले भने, ‘सबै मिलेर पकाउँदा रमाइलो हुन्छ, चाडबाडमा मीठो र चिल्लो खाने, खुवाउने, अरूलाई बाँड्ने गर्छौँ ।’

World Link Ads
Mahakali Polytechnic

जानकी गाउँपालिकाकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी पाकिसके । अब उनी सेलरोटी पकाउने तयारीमा छन् । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी रुपकलाले छिमेकीको सहयोग लिएर रोटी पकाइन् । ‘यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन,’ उनले भनिन् ।

Dirghayu Ads
Sana Kishan

स्वास्थ्यकर्मी मेलिना केसीले पनि तिहारको समयमा रोटी पकाउँछन् । मेलिनाको परिवारलाई अनावश्यक चिल्लो खानेकुरा खान हुँदैन भन्ने राम्ररी थाह छ । ‘पर्व मनाउनका लागि थोरै परिकार पाक्छ, पाकेको परिकार देउसी भैलो खेल्नेलाई पनि खुवाउनुपर्छ,’ मेलिना भन्छिन्, ‘हामी सचेत छौँ, अनावश्यक चिल्लो खाँदैनौँ, चिल्लो खाइहाले पनि रेसादार, झोलिलो खानेकुरा र हरियो सागपात बढी खान्छौँ ।’

मेलिनाको परिवारलाई एकैपटक बढी चिल्लो र मीठो खानु हुँदैन भन्ने थाहा छ । ‘मैले मेरा बच्चालाई पनि खानपानमा ध्यान दिनुपर्छ भनी सिकाएकी छु,’ उनले भनिन्, ‘चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्छ ।’ तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्ट्रोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुपर्ने चिकित्सकको सुझाव छ ।

टीकापुर अस्पतालका डा. सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउँछन् । ‘खाने तेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेले प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ,’ उनले भने, ‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभाबी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।’ डा. खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । ‘स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ,’ उनी भन्छन् । मकालु खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.