सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल डाटाकै भरमा : ४० प्रतिशत सिममा खुल्दैन इन्टरनेट !!

काठमाडौं । नेपालमा इन्टरनेटको सेवामा ७४ प्रतिशत हिस्सा मोबाइल डाटाकै छ । तर अझै बजारमा सक्रिय रहेका ४० प्रतिशत सिमकार्डमा इन्टरनेट सेवा खुलेको छैन ।

नेपालमा तीन मोबाइल कम्पनी, नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकमले ‘मोबाइल डाटा’ मार्फत् इन्टरनेट सेवा दिन्छन् । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार २ करोड २८ लाख ४८ हजार मोबाइलमा इन्टरनेट खोलिन्छ । जबकि देशभर ३ करोड ८४ लाख ५१ हजार मोबाइल प्रयोगकर्ता (सिम) सक्रिय छन् । अर्थात् करिब १ करोड ५६ लाख ३ हजार सिममा इन्टरनेट सेवा ‘एक्टिभ’ छैन ।

 

प्राधिकरणका अनुसार जनसंख्याको अनुपातमा ७६.०३ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् ।

World Link Ads
Mahakali Polytechnic

एकै व्यक्तिसँग धेरै सिम हुने, ग्रामीण क्षेत्रमा राम्रो इन्टरनेट नचल्ने र सामान्य साक्षर रहेका व्यक्तिले मोबाइल डाटा प्रयोग नगर्ने लगायतका कारण अझै ठूलो संख्यामा सिममा ‘मोबाइल डाटा’ एक्टिभ नभएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

 

Dirghayu Ads

नेपालमा सबभन्दा धेरै थ्रिजी सेवा प्रयोगकर्ता छन् । एक करोड २८ लाख मोबाइल प्रयोगकर्ताले थ्रिजी सेवा लिएका छन् । थ्रिजीमा एक करोड १० लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ९९ लाख ५४ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ५० लाख ४२ हजार प्रयोगकर्ता नेपाल टेलिकमको मात्रै छन् । एनसेलसँग जम्मा ७४ लाख ४४ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि एक लाख ६६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा ई–भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।

जनसंख्याभन्दा धेरै प्रयोगकर्ता !

२०७८ असारबाट नेपालमा इन्टरनेटका ग्राहकको संख्या देशको जनसंख्याभन्दा माथि उक्लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा इन्टरनेट ‘सस्क्राइबर’ को संख्या तीन करोड १० लाख ८३ हजार पुगेको छ । यो संख्या नेपालको कुल जनसंख्याभन्दा करिब ३ प्रतिशत बढी हो ।

एकै व्यक्तिले दोहोरो÷तेहेरो रुपमा फरक–फरक सेवा प्रदायकबाट सेवा लिइरहेको तथ्यांकका कारण खासमा कति प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने छैन ।

 

सबै कम्पनीका ग्राहकको संख्या फरक–फरक किसिमले जोड्दा ग्राहक संख्या जनसंख्याभन्दा धेरै देखिएको प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल बताउँछन् । तर, वास्तवमै कति जनता इन्टरनेटको पहुँचमा छन् भन्ने यकिन भने नभएको उनको भनाइ छ ।

‘कतिपय एकै व्यक्तिले मोबाइल र फिक्स्डलाइन इन्टरनेट दोहोरो÷तेहेरो रूपमा गरिरहेकाले यो तथ्यांकले वास्तविक इन्टरनेट प्रयोगकर्ताको संख्याको प्रतिनिधित्व गर्दैन,’ उनी भन्छन्, ‘तर महामारी कालमा इन्टरनेट बजार र सेवा विस्तार ब्यापक रूपमा भएको तथ्यांकले देखाउँछ ।’

२०७७ यतामात्रै इन्टरनेटमा करिब एक करोड ग्राहक थपिएका छन् । २०७७ वैशाखदेखि २०७८ असारसम्म एक वर्षका बीचमा मात्रै ९६ लाख इन्टरनेट ग्राहक थपिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । २०७७ वैशाखसम्म दुई करोड १५ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७८ वैशाखसम्म सो संख्या तीन करोड करोड १० लाख पुगेको हो ।

Sana Kishan

फैलिँदै फाइबर नेट

नेपालमा केबल र फाइबर इन्टरनेट सेवा दिने करिब ४४ वटा कम्पनी छन् । महामारीपछि तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले ग्राहक संख्या विस्तार गरेका छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करिब ७८ लाख ८७ हजार छ । २०७७ वैशाखसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजारमात्रै थियो । दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुने अनुमानमा यस्तो तथ्यांक राखिन्छ ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको अनुपात संख्या कुल जनसंख्याको २५ प्रतिशत छ । २०७७ वैशाखससम्म यस्तो अनुपात १७ प्रतिशत मात्रै थियो ।

 

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरू अग्रपंक्तिमा छन् । आईएसपीहरूले ६५ लाख ३१ हजार प्रयोगकर्ता बनाइसकेका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ७ लाख २८ हजार छ । टेलिकमको ‘फाइबर नेट’ प्रयोगकर्ता ५ लाख ९५ हजार छन् ।

यसैगरी २ लाख ११ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या एक लाख २० हजार छ भने ९० हजार ५ सयले वाइम्याक्स प्रयोग गर्छन् ।

महामारीको देन

पछिल्लो समयमा मोबाइलमा इन्टरनेट जोड्नेको संख्या उच्च दरमा बढिरहेको तथ्यांकले देखाउँछ । उच्च गतिको इन्टरनेटको आवश्यकताका कारण ‘थ्रिजी’ इन्टरनेट छाडेर ‘फोरजी’मा जानेहरु धेरै छन् । मोबाइलको बजार बढेसँगै ‘मोबाइल ब्रोडब्यान्ड इन्टरनेट’ जोड्नेको संख्या बढ्दैछ ।

 

मोबाइल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक पनि बढेका छन् । आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार महामारीमा अनलाइन कक्षा, भर्चुअल मिटिङ र घरमै गरिने काम लगायतका कारण इन्टरनेटको ग्राहकको संख्याको वृद्धिदर सामान्य समयभन्दा फरक देखिएको हो । मोबाइल डाटा महँगो र कम प्रभावकारी भएकाले पनि पछिल्लो फिक्स्ड लाइन इन्टरनेट जरुरत परेको उनको बुझाइ छ ।

‘इन्टरनेट अत्यावश्यक सेवा भइसक्यो,’ अध्यक्ष पराजुली भन्छन्, ‘सरकारले यसको महत्व बुझेर नीति र योजना बनायो भने अझै दुर्गम ग्रामीण भेगसम्म सेवा पुर्याउन सकिन्छ ।’

पछिल्लो सयममा युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्ने संस्कृति बढेकाले पनि इन्टरनेटको प्रयोगकर्ता थपिएको आइस्पानको निष्कर्ष छ । अरूबाट पासवर्ड लिएर काम चलाएकाहरूले पनि पछिल्लो समयमा आफैँ इन्टरनेट जोडिरहेका छन् ।

पछिल्लो वर्षमा गाउँसम्म पनि इन्टरनेट सेवा पुगिरहेको छ । नेपाल टेलिकम र एनसेलको गाउँसम्म मोबाइल डेटा सेवा प्रभावकारी बनाएकाले पनि इन्टरनेट प्रयोगको क्रम बढाउन मद्धत पुगेको दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

 

(अनलाइनखबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.