सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना र मौसमी फ्लुले झुक्याउँदै बिरामी !!

 काठमाडौं । कौशलटारकी ४७ वर्षीया सावित्री पौडेल ज्वरो आउने, खोकी लाग्ने र शारीरिक रुपमा कमजोर महशुस भएको तीन दिन घरमै आराम गरिन् । तर ज्वरो घटेन, बरू खोकी बढेर सास फेर्न असहज भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगिन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले चिकित्सकले उनलाई एण्टिबायोटिक औषधि दिए भने पीसीआर परीक्षण र छातीको एक्स रे गराए । भोलिपल्ट रिपोर्ट आउँदा कोरोना नेगेटिभ देखियो र छातीमा पनि खराबी देखिएन । एक साता आराम गरेपछि उनी निको भइन् ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यस्तै लक्षण लिएर पुग्ने बिरामी बढेको निर्देशक अनुप बास्तोला बताउँछन् । उनका अनुसार पछिल्लो चार महिनामा टेकु अस्पतालमा कोरोनाजस्तै लक्षण देखिएका बिरामी बढेका छन् ।

World Link Ads
Mahakali Polytechnic

कलंकीकी २७ वर्षीया सलिना महर्जन पनि रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेकी थिइन् । कोरोना संक्रमणको बेलामा जस्तै लक्षण देखिएता पनि भाइरल ज्वरो ठानेर घरमै आराम गरिन् ।

Dirghayu Ads

चौथो दिन पुग्दा सास फेर्न गाह्रो भएको महशुस हुन थाल्यो भने मांशपेशी दुख्न थाले । एकोहोरो खोकी बढ्न थालेपछि मात्रै उनी अस्पताल गएकी थिइन् ।

उनको पनि पीसीआरको लागि स्वाब संकलन गर्नुका साथै छातीको एक्स रे गरियो । दुबैको नतिजा सोचे विपरीत आयो अर्थात उनलाई कोरोना संक्रमण भएर निमोनिया भइसकेको रहेछ ।

अकस्मात ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीर र टाउको दुख्ने भयो भने सामान्यतया मौसमी फ्लु भनेर बुझ्न सकिने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. बास्तोला बताउँछन् । उनका अनुसार मौसमी फ्लुले पनि दीर्घरोगी र जेष्ठ नागरिकलाई निकै नै जटिल बनाउँछ ।
पछिल्लो समय धेरै मानिसहरु मौसमी रुघाखोकी ठानेर घरमै बस्दा निमोनियाले समस्यामा परेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार अहिले कोरोनाजस्तै मौसमी फ्लुको लक्षणले चिकित्सकलाई समेत झुक्याएको छ ।

धेरै मानिसहरु मौसमी फ्लु भनेर बस्दा कोरोनाले मल्टी अर्गानमा संक्रमण गराएर सिकिस्त बनाएको उनीहरु बताउँछन् । ‘झट्ट हेर्दा लक्षण उस्तै भएकाले सर्वसाधारण मात्र होइन, चिकित्सकहरु नै झुक्किन्छन् । त्यसैले ढुक्क हुन पीसीआर गर्नुको विकल्प छैन,’ निर्देशक डा . बास्तोला भन्छन् ।

अस्पतालको तथ्याकंअनुसार गत असारमा कोरोनाजस्तै लक्षण देखिएका ४० जना बिरामीको परीक्षण गर्दा १२ जनामा मौसमी फ्लु देखिएको थियो । गत साउनमा ७८ जनाको परीक्षण गर्दा ४८, भदौमा ७५ जनामध्ये ४२, र असोजमा १० जनामध्ये ८ जनामा मौसमी फ्लु देखिएको थियो ।

देशभरका अस्पतालमा यसैगरी फ्लुको बिरामीको बढेको इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्ण पौडेल बताउँछन् । उनका अनुसार देशभरका विभिन्न जिल्लामा मौसमी फ्लुको बिरामी भेटिएको रिपोर्ट छ ।

पाटन अस्पतालमा पनि कोभिड जस्तै लक्षण देखिने मौसमी फ्लुका बिरामी देखिएको कोभिड फोकल पर्सन डा. विमल पाण्डे बताउँछन् । उनका अनुसार कोरोनाको लक्षण देखिएर परीक्षण गराएका धेरैको नतिजा नेगेटिभ आएको छ । ‘ज्वरो आएर थला परेपछि कोरोनाको शंका गरेर परीक्षण नगर्दा सिकिस्त हुने डर हुन्छ, त्यसैले परीक्षण नगर्नुको विकल्प नै हुन्न,’ डा. पाण्डे भन्छन् ।

कोभिड–१९ को महामारी चलिरहेकाले मौसमी फ्लु होला भनेर घरमै बस्न नहुने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार मौसमी फ्लु भनेर घरमै बस्दा कोरोना संक्रमण भएर ज्यानै गएको दृष्टान्त पनि छ । त्यसैले ज्वरो, खोकीलगायतका लक्षणहरु ३ दिनभन्दा बढी देखिएमा कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

Sana Kishan

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बम लक्षण हेरेर मौसमी फ्लु र कोरोना फरक छुट्याउन सकिँदैन, तर कोरोना होइन भनेर शत प्रतिशत ढुक्क हुन नसकिने बताउँछन् । त्यसैले ज्वरो आएर सिकिस्त भएमा कोरोना परीक्षण नै गर्नुपर्ने उनको भनाइ छ । ‘फ्लु भनेर घरमै बस्दा निमोनिया भएर अस्पताल आएका बिरामीहरू पनि छन्, त्यसैले जोखिम नलिई पीसीआर परीक्षण गर्दा सुरक्षित भइन्छ’ डा. बम भन्छन् ।

अकस्मात ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीर र टाउको दुख्ने भयो भने सामान्यतया मौसमी फ्लु भनेर बुझ्न सकिने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. बास्तोला बताउँछन् । उनका अनुसार मौसमी फ्लुले पनि दीर्घरोगी र जेष्ठ नागरिकलाई निकै नै जटिल बनाउँछ ।

त्यसैगरी सामान्य रुखाखोकी लाग्ने, स्वाद र गन्ध हराउँदै कमजोर महसुस हुने र पाँच दिनपछि खोकी लगातार बढेर सास फेर्न गाह्रो हुने भएमा कोरोना भएको बुझ्नुपर्छ । तर धेरै बिरामीहरुले आफूलाई कस्तो लक्षण देखिएको भनेर थाहा नपाउने भएकाले पीसीआर परीक्षण गर्नुको विकल्प नभएको उनी बताउँछन् ।

‘महामारीको बेला भएकाले स्वास्थ्यमा जोखिम लिनु अत्यन्तै घातक सावित हुन जान्छ, त्यसैले ज्वरो आएर ३ दिनभन्दा बढी थला परियो भने कोरोना परीक्षण गरेर ढुक्क हुनुपर्छ,’ डा. बास्तोला भन्छन् ।

‘यो फ्लु देखिने समय हो’

यो समय सामान्यतया मौसमी फ्लु देखिनु सामान्य हो । तर यो पटक कोरोना महामारी पनि भएकाले डर बढेको चिकित्सकहरु बताउँछन् । फेब्रुअरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार तुलनात्मक रुपमा जुलाई–अगस्टतिर मौसमी फ्लु बढ्ने भएकाले कोरोना जस्तै लक्षण देखिदा धेरै आत्तिनु पर्दैन । ‘अहिले लक्षण देखिएर धेरैले कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँछ, यसको मतलब फ्लु भएको भन्ने बुझ्नुपर्छ’ उनी भन्छन् ।

अस्पतालका निर्देशक डा. बास्तोलाका अनुसार नेपालमा सामान्यता इन्फलुएन्जा ए बढी फैलिन्छ भने इन्फ्लुएन्जा बी तुलनात्मक रुपमा कम ।

टाइप ए इन्फ्लुएन्जा महामारी जस्तै गरी फैलिन सक्ने भएपनि टाइप बीले भने सामान्यता त्यस्तो अवस्था सिर्जना नगराउने उनको भनाइ छ । ‘इन्फ्लुएञ्जा सन् २००९ देखि फैलिएको भएकाले धेरै मानिसमा एण्टीबडी बनिसकेकाले डराउनु पर्दैन, तर सतर्क भने रहनुपर्छ,’ डा. बास्तोला भन्छन् ।

पछिल्लो समय फ्लु बीले धेरैलाई सताएको डा. पुन बताउँछन् । उनका अनुसार कोभिड–१९ हुँदा भन्दा फ्लु लाग्दा गाह्रो पारेको बताउने बिरामी धेरै भेटिएका छन् । यसले अहिले फ्लु ए भन्दा फ्लु बी आक्रामक भएर आएको बुझिने उनको भनाइ छ ।

डा. बास्तोलाका अनुसार बर्ड फ्लु, स्वाइन फ्लु र हङकङ फ्लुजस्ता फ्लुले मानिसलाई सिकिस्त बनाउँछ । यी फ्लु टाइप ए अन्तर्गत पर्छन् । दुवै फ्लुमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने र बालबालिकालाई पखाला लाग्नेजस्ता लक्षण देखिन्छ । ‘फ्लु र कोरोना परीक्षण नगरी छुट्याउन कठिन भएकाले लक्षण देखिनासाथ अस्पताल आउनुपर्छ,’ उनी भन्छन् ।

 

(onlinekhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.