

बैतडीः बैतडीको पाटन नगरपालिमा रहेको उदयदेव मन्दिरमा चोरी भएको छ। घटस्थापनाको अघिल्लो राति मन्दिरमा चोरी भएको हो। मन्दिरमा राखेको दानपेटीका फोडेर चोरले पैसा लगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
दानपेटीमा कति रकम थियो भन्ने कुरा खुलेको छैन। तर एक वर्षदेखि दानपेटीका नखोलेको बताइएको छ। यस्तै मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लुटिएको छ।


महेन्द्रनगरबाट दर्शनका लागि आएका गणेशबहादुर चन्दको १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ। चन्द मन्दिरमा सुतेको मौका पारेर उनको पैसा लुटिएको हो। चोरीमा संलग्न भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

(ईन्फो खबरबाट साभार)
