सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतका सिमा नाकामा कोरोना जाँच, बस चढेर गाउँ जान बाध्य संक्रमित !

नाका खुल्यो, भीडले सतर्कता राख्नै भुल्यो

कोरोनाको एन्टिजेन परीक्षणमा नतिजा पोजिटिभ आए पनि अब नाकामा संक्रमितलाई राख्ने आइसोलेसन छैनन्
आश्विन १७, २०७८माधव ढुंगाना, मनोज पौडेल, रूपा गहतराज, भवानी भट्ट, मोहन बुढाऐर, पर्वत पोर्तेल

 

भैरहवा,कपिलवस्तु, नेपालगन्ज, कञ्चनपुर, धनगढी र काँकडभिट्टा — लुम्बिनी प्रदेशका मुख्य नाकामा कोरोना संक्रमण नियन्त्रणलाई बेवास्ता गरिएको छ । नाकामा अहिले स्वास्थ्य मापदण्ड पालना भएरनभएको निगरानी गरिन्छ तर मुलुक भित्रिरहेका व्यक्तिमा संक्रमण छरछैन परीक्षणमा ध्यान दिइएको छैन । केही नाकामा एन्टिजेन परीक्षण भइरहेको छ । यस्तो परीक्षणको रिपोर्ट पोजिटिभ आएमा उनीहरूलाई आइसोलेसनमा राख्ने गरिएको छैन । व्यक्ति सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर पठाउने गरिएको छ ।

‘नाकामा रहेको हेल्थ डेस्कले बिहानैदेखि काम थाल्छ,’ कपिलवस्तुको कृष्णनगर नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘यात्रुको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्नेबाहेक काम हुन सकेको छैन ।’ भारतबाट आएकालाई दशगजामा छेक्ने अवस्था नरहेको उनले बताए । भारतीय प्रहरीले कडाइ गर्दैनन् । प्रहरीले सुरक्षा जाँच गर्छन् । उनीहरूलाई स्वास्थ्य जाँचबिना प्रवेश दिइन्छ । बिरामीको रेकर्ड राखिँदैन । बिहान ८ देखि साँझ ६ बजेसम्म स्वास्थ्यकर्मीले ज्वरो नाप्ने र शंकास्पद बिरामीको एन्टिजेन परीक्षण गरिरहेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले बताए ।

 

World Link Ads
Mahakali Polytechnic

‘अब प्रभावकारी बनाउँछौं,’ उनले भने, ‘राति पनि स्वास्थ्य चेक जाँचका लागि स्वास्थ्यकर्मी खटाउँछौं ।’ अहिले कृष्णनगरबाट दैनिक ३ सय हाराहारी प्रवासी नेपाली भित्रिरहेका छन् । डेढ वर्षपछि सरकारले यात्रुसहित भारतीय नम्बर प्लेटको सवारीसाधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएपछि खुसी बनेका छन् ।

बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा अहिले घर फर्कनेको लर्को छ । नेपालगन्ज नाकाबाट अहिले दैनिक १ हजार बढी मानिस घर फर्किरहेका छन् । जिल्लामा अझै कोरोना नियन्त्रणमा आएको छैन । नाकामा फर्किनेहरूका लागि हेल्प डेस्क राखिएका छन् । तर समूहमा आउने यात्रु सबैलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीलाई सकस छ । जमुनाह नाकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएकाहरू खुलेआम हिँडिरहेका छन् । कोरोना संक्रमित व्यक्तिहरू जमुनाह नाका भएर नेपालगन्ज प्रवेश गरिरहेका छन् ।

पूर्ण खोप लगाउने २१ प्रतिशत
सल्यान बागचौर नगरपालिका–४ सल्यानका पाँच जना युवा बिहीबार बिहान जमुनाह नाकामा आइपुगे । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले उनीहरूको कोरोना भएरनभएको यकिन गर्न एन्टिजेन परीक्षण गरे । तीमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका ती युवक एकछिन यताउता गरे । पछि अटोरिक्सा चढेर नेपालगन्ज बजारतिर लागे । उनीमात्र होइन, नाकाबाट यसरी भित्रिने संक्रमितहरू खुलेयाम नेपालगन्ज भित्रिएर सम्बन्धित जिल्लाको बस चढेर घर पुग्ने गरेका छन् ।

 

संक्रमितहरूलाई सामान्य जानकारी दिएर घर पठाउने गरिएको जमुनाह हेल्थ डेस्कका स्वास्थ्यकर्मी चिरञ्जीवी ज्ञवालीले बताए । ‘सबैलाई चेकजाँच गर्न सम्भव छैन । समूहमा आएका दुई–चार जनाको परीक्षण गरेका छौं,’ उनले भने, ‘तर समूहमा आएकामध्ये एउटालाई कोरोना देखिए सबैको परीक्षण गर्ने गरेका छौं ।’ यसअघि संक्रमण पुष्टि भएकाहरूलाई जमुनाह नाकाबाट एम्बुलेन्समा राखेर सिधै सम्बन्धित जिल्ला पठाउने गरिएको थियो ।

रेडक्रसको एम्बुलेन्समार्फत उनीहरूलाई पठाउने गरिएकामा भदौ १० गतेदेखि भने जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रसँगको सम्झौता सकिएपछि आर्थिक कारण देखाएर रेडक्रसको एम्बुलेन्सले संक्रमित बिरामी लैजान छाडेपछि संक्रमितहरू समुदायसम्मै पुग्ने खतरा बढेको हो । ज्ञवालीले आफूले सबै सरोकारवालाहरूलाई जानकारी गराउँदा पनि कतैबाट सुनुवाइ नभएको बताए । संक्रमण पुष्टि भएर नेपालगन्ज आएका ती व्यक्तिहरू बजारमा किनमेल र घुमफिरसमेत गर्ने गरेका छन् ।यसरी नेपालगन्ज घुम्दै कोरोना संक्रमितहरू घर जाने गरेका छन् । जसका कारण कोरोना भाइरसको संक्रमण गाउँघरसम्म पुग्न थालेको छ । नाकाबाट दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म भित्रिरहेका छन् ।

रूपन्देहीको बेलहिया–सुनौली नाकामा मुलुक फर्किनेको चाप बढेपछि कोरोना परीक्षण बढाउने तयारी थालिएको छ । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा।राजेन्द्र गिरीले चाडपर्वलाई लक्षित गरी सीमा नाकामा एन्टिजेन परीक्षणको दायरालाई बढाउने तयारी गरिएको बताए । ‘कोरोना संक्रमण न्यूनीकरणका लागि चाडपर्वका बेला भारतबाट आउने नेपालीको कोरोना परीक्षणको दायरा नबढाई उपाय नै छैन,’ गिरीले भने, ‘परीक्षणका क्रममा जति पनि पोजिटिभ भेटिन्छन्, उनीहरूलाई आइसोलेसन सेन्टरमा राखेर थप व्यवस्थापन गर्नुपर्छ ।’ यसका लागि एन्टिजेन प्रशस्त रहेको र गत वर्ष सञ्चालित सबै आइसोलेसन सेन्टर रद्द नगरी तयारी अवस्थामा राखिएको उनले जनाए ।

नाकाबाट आएका नेपालीलाई पहिला दैनिक १ सय ६० जनासम्मको एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा घटेर ४०र५० जनामा झरेको छ । परीक्षणका क्रममा पोजिटिभ भेटिएका यात्रुलाई सम्बन्धित पालिकामा खबर गरी गन्तव्यसम्म पठाउने गरिएको छ । पछिल्ला दिनमा संक्रमितको संख्या निकै कम पाइएपछि सिमानानजिकै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टर खाली अवस्थामा छ । पोजिटिभ रिपोर्ट आएका यात्रुमध्ये कतिपयले आफैं ट्याक्सी रिजर्भ गरेर जाने गरेका छन् । टाढाका भएमा र ट्याक्सी रिजर्भ गर्न नसक्ने यात्रुलाई बसको अगाडितर्फको सिट खाली राख्न लगाएर पछाडितर्फ राखेर पठाउने गरिएको छ । धेरैजना पोजिटिभ यात्रु भएमा अलग्गै गाडीको व्यवस्था पनि गर्ने गरिएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले संक्रमित यात्रु भेटिएमा गन्तव्यसम्म पुर्‍याउन रेडक्रसको सहयोगमा सिमानामा एउटा गाडी तैनाथ राखिएको र पोजिटिभ भेटिएका यात्रुका बारेमा सम्बन्धित पालिकासँग समन्वय गरी अनुगमन गर्न लगाउने गरिएको बताए । विगत ६ दिनमा सुनौली–बेलहिया नाकाबाट घर आएका नेपाली यात्रुमध्ये ५ सय ७६ जना यात्रुको एन्टिजेन परीक्षण गर्दा २ जनामा पोजिटिभ देखिएको थियो । सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी बल नेपाल डन्डा बीओपीका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालले भारतीय नागरिक नेपाल आउँदाको अवस्थामा ७२ घण्टाभित्र पीसीआर परीक्षण गरिएको रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने प्रावधान रहेको बताए ।

Sana Kishan

संक्रमण देखिए सिधै आइसोलेसनमा

कञ्चनपुरको सीमानाका गड्डाचौकी भएर भारतबाट घर फर्किने नेपालीमा कोरोना संक्रमण देखिए नाकाबाटै आइसोलेसनमा बसाउने गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणपछि संक्रमण पुष्टि भए महेन्द्रनगरस्थित स्वास्थ्य कार्यालयले बनाएको कम्युनिटी हेल्थ इन्स्टिच्युट ९आईसीएच० को आइसोलेसनमा राख्ने गरिएको हो । शनिबार आईसीएचको आइसोलेसनमा ११ जना संक्रमित बसिरहेका छन् । गड्डाचौकी नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षणपश्चात् संक्रमण पुष्टि भए महाकाली प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत आइसोलेसनसम्म पुर्‍याइन्छ । आफ्नै घर जान चाहनेले सम्बन्धित पालिकाको सिफारिस र छट्टै सवारीसाधन वा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने हुन्छ । ‘कतिपय १४ दिन आइसोलेसनमै बसेर घर जान्छन्, चाँडै जान खोज्नेहरू पालिकाको सिफारिसअनुसार होम आइसोलेसनमा बस्ने गरी जान्छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘उनीहरू आफैंले छुट्टै सवारीसाधनको व्यवस्था गर्नुपर्छ ।’

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीको चाप बढ्न थालेको छ । अहिले दैनिक ६र७ सयको संख्यामा घर फर्किन लागेका छन् । शनिबार गड्डाचौकी नाकाबाट ७ सय ८८ जना भित्रिएका छन् । जसमध्ये ७ सय ५६ को एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गौरीफन्टा नाकाबाट ४ सय २४ जना भित्रिएका छन् । तीमध्ये २ सय २५ को एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएन । स्वास्थ्य कार्यालयका अनुसार गड्डाचौकी नाकामा हालसम्म ४७ हजार ६ सय ३३ को एन्टिजेन परीक्षण गर्दा ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको गौरीफन्टाबाट भित्रिने सबैको परीक्षण भने गरिँदैन । समूहमा आउनेमध्ये केहीको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भए दुई साता आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । यहाँ धनगढी–१५ उर्मामा आइसोलेसन सेन्टर बनाइएको छ । तर अहिले आइसोलेसनमा एक जना पनि संक्रमित छैनन् । एक सातायता नाकाबाट भित्रिएकामध्ये एक जनामा पनि कोरोना पुष्टि नभएकाले आइसोलेसन बेड खाली रहेको सीमानाकाका हेल्थ हेल्प डेस्कमा कार्यरत दिनेश ठकुल्लाले बताए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले संयुक्त रूपमा नाकामा हेल्थ डेस्क स्थापना गरेका हुन् । हरेक दिन पाँच सयभन्दा बढी घर फर्किरहेका नेपालीको हरेक समूहबाट २र३ सय जनाको मात्रै एन्टिजेन परीक्षण हुने गरेको छ । ‘हाम्रो प्रयास शतप्रतिशतको स्वास्थ्य परीक्षण गर्ने हो,’ हेल्थ डेस्क इन्चार्ज ठकुल्लाले भने, ‘तर कहिलेकाहीं ठूलो संख्यामा नेपाली भित्रिने भएकाले सबैको परीक्षण गर्न नसकिने अवस्थामा शंकास्पद, समूह वा परिवारको एक जनाको मात्रै परीक्षण गर्छौं ।’ उनले एक जनामा पनि संक्रमण पाइए समूहमा रहेका सबैको परीक्षण गरिँदै आएको बताए । पछिल्लो समयमा कतिपयले भारतमै कोरोना परीक्षणको रिपोर्ट पनि साथै लिएर आउने गरेको बताए । भारत सरकारको सरकारी अस्पतालको परीक्षण रिपोर्ट लिएकालाई भने नाकामा जाँच गरिँदैन ।

पूर्वी नाकामा अझै सवारी रोक

सिलिगुडीका नेपालीभाषी ज्ञानेन्द्र अर्याल शनिबार घुमघामका लागि मेची तरेर काँकडभिट्टा आए । विगतमा निजी सवारी लिएर आउने उनी शनिबार भने पारिको भारतीय भूमिमै गाडी पार्किङ गरेर नेपाल छिरे । ‘गाडी चलाएर जान पाइएन,’ उनले भने, ‘नेपालले त दिने निर्णय गरेको रहेछ, भारतकै कारण गाडी लैजान सकिएन ।’

सरकारको निर्णयसँगै कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द पूर्वी नाका खुकुलो भए पनि सवारीसाधनलाई भने अझै खुला गरिएको छैन । भारतीय अवरोधका कारण सवारी आउजाउ खुला नभएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सवारी साधन निर्वाध आउजाउको प्रबन्ध मिलाउन पश्चिम बंगलाको दार्जिलिङ र विहारको किसनगंज जिल्लाका जिल्लापालहरूलाई शुक्रवार फोनमार्फत आग्रह गरेका थिए । जिल्लापालहरूले केन्द्र सरकारको निर्णय आइनसकेका कारण सवारी आउजाउ गर्न रोकिएको जनाएका थिए । ‘दुवै राज्यका जिल्लापाल सवारीसाधन आउजाउ खुलाउन सकारात्मक छन्,’ प्रजिअ तिम्सिनाले भने, ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी गराइएको छ ।’

सरकारले नाका खुलाए पनि सवारी आउजाउ नभएको भन्दै सिमा क्षेत्रका सर्वसाधारण आक्रोशित बनेका छन् । झापा ट्राभल संघका अध्यक्ष नेत्र कार्कीले सवारी आवागमनमा भारतले अवरोध गर्दा सकस भएको जनाए । ‘निजी गाडीमा निर्धक्क आउन सक्ने अवस्था नहुँदा सर्वसाधारणलाई झन् समस्या भएको छ,’ उनले भने, ‘सरकारले जतिसक्दो चाँडो यो समस्या हल गरोस् ।’ भारतबाट आउने नेपाली र भारतीयहरूकै संख्या पनि अहिले बढेको छ ।

कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको कार्ड या पीसीआर रिपोर्टका आधारमा भारतीयलाई प्रवेश दिइएको छ । नेपालीको हकमा भने त्यो छैन । उनीहरूलाई नाकामा एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिने गरेको प्रशासनले जनाएको छ । तर, एन्टिजेन परीक्षण नगरी पनि मान्छेहरू भित्रिरहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता ५० हजार १ सय ४८ सर्वसाधारण नेपाल भित्रिएका छन् । ६ हजार ३ सय ५२ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३ सय ४२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

(कान्तिपुर डटकमबाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.