म सालिक हुँ 

Sana Kishan
Total
44
Shares

म सालिक हुँ
सडक किनाराको सालिक
एक मौन सालिक
धुलो दल्छु, सुँघ्छु धुवाँ
र खान्छु पनि
शहरको चौकिदारसरी
नजर परेसम्म एक टकले नियालिरहन्छु
बेपर्वाह सारा मृत शहरको तडकभडक
कुनै सहमति र प्रतिक्रिया बिना
जिउँदो शहर भनौ कसरी ?
लाख अन्याय सहिरहन्छ
अत्याचार टुलुटुलु हेरिरहन्छ
र त खाने लाउनेहरूको
मृत शहर नै त हो
म सालिक
मृत शहरको सालिक

Arus

स्वतन्त्र पक्षी भुर्र उडेर आउँछन्
मेरै टाउकोमाथि टेकेर बिष्ट्याउँछन्
कुकुरहरूको त कुरै छाडौ
बिहानीको शुभ मूहुर्त मैं
आफ्नो एउटा खुट्टो उचालेर
मेरो पाउ धोएर जान्छन्
मोटर हुईकिएर आउँछ
छेउको खाल्डोबाट
डुङडुङ्ति गन्हाउने हिलो
मेरो अनुहार भरि छ्याप्छ,
र पनि म मौन रहन्छु
मतलब छैन् ,मलाई फरक पर्दैन्
किनकी म सालिक हुँ
बेपर्वाह गल्लीको सालिक

मेरो प्रारब्ध मै धुलो दल्नु छ
मेरो सौभाग्य नै धुवाँ खानु हो
र मेरो नियति नै हिलोले नुहाउनु हो
बर्षाैदेखि मेरो नामका पदकहरू
सानले घाँटीमा झुण्ड्याएकाहरूलाई समेत
मतलब छैन मेरो
र फरक पर्दैन मलाई
किनकी हेपिनु र चेपिनु
दबिनु र दबाइनु नै मेरो
नियति हो, दुःखी कर्म हो
किनकि म सालिक हुँ
सडक किनाराको सालिक
मृत शहरको सालिक
बेपर्वाह गल्लीको सालिक

रमेश पन्त मीतबन्धु – मीतबन्धु

Indreni

Total
44
Shares
सम्वन्धित समाचार
Total
44
Share