

कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिका १५ मा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । आज १५ औँ विश्व रेबिज सप्ताहमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाइएको हो ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले वडा कार्यालयसित सहकार्य गरी रेबिज विरुद्धको खोप लगाएको हो । यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मटेला र तुमडानीमा कुकुरहरूलाई खोप लगाइएको छ ।

भेटेरिनरी अस्पतालका प्रमुख डा. पान सिंह ठगुन्ना सहित पशु चिकित्सकहरू महेन्द्रराज पाण्डेय लगायतले खोप लगाए ।कार्यक्रममा भीमदत्त नगरपालिका १५ का अध्यक्ष भीम बहादुर शाहुले कुकुरहरूलाई रेबिज विरुद्ध खोप लगाएपछि रोग फैलिने त्रास हटेको बताएका छन् ।‘यो क्षेत्र निकुञ्ज किनारको भएकाले त्यहाँबाट जनावरबाट कुकुर र कुकुरबाट जनावरमा सर्ने सम्भावना निकै हुन्छ’ उनले भने,‘अब यताउता कहीँ सर्दैन, मान्छेबाट कुकुरमा पनि सर्दैन ।’

वडा कार्यालयले बर्षेनी कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउँदै आएको अध्यक्ष शाहुले बताए । भेटेरिनरी अस्पतालका प्रमुख डा. ठगुन्नाले खोल लगाएका कुकुरबाट रोग फैलिन नसक्ने भएकाले सबैले आ–आफ्ना कुकुरलाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताए।हाल भीमदत्त नगरपालिका १५ मा तीन सय भन्दा बढी कुकुर रहेको वडा कार्यालयका पशु स्वास्थ्यकर्मीहरू बताउँछन् । गोदावरी न्युज बाट सभार
