गाऊ भन्दा नि नसकिने तिमी गार्हो गीत रैछौ
लाउ भन्दा नि नसकिने तिमी सार्हो प्रीत रैछौ
रैछौ रुखो माटो तिमी छरे विउ नउम्रिने
बुझ्दै जाँदा ज्ञात भयो दुश्मनको मीत रैछौ
अप्हाएको खुरुखरु मान्दा पनि शान्ति पाइन्
खाए हार सधैँ मैले तिमी पक्का जीत रैछौ
गर्यौ वाचा नछुट्टिने तर भयौ टाढा आज
यता भनि उता लाग्ने तिमी उल्टो रीत रैछौ
ढुङ्गा सरी दिल तिम्रो, फूल जस्तो रुप मात्रै
थाहा पाए बल्ल आज कर्कलाको शीत रैछौ
रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट सभार