दम्पतीबीच के निहुँमा झगडा पर्छ ? धेरै दम्पतीले यसबारे चासो राखेकै हुँदैनन्। अर्थात्, आफूहरूबीच हुने झगडाको कारण वा बिउ के हो ?
उनीहरूले सायदै हेक्का राख्छन्। यद्यपि झगडा भने भइरहेकै हुन्छ। मनमुटाव भइरहेको हुन्छ। भनाभन भइरहेको हुन्छ। कति दिनसम्म बोलचाल बन्द भइरहेको हुन्छ। तर, दम्पतीले फर्केर सोच्दैनन् कि हामीबीच झगडा हुने मुख्य कुरा के हो ?
यदि उनीहरूले यसको खोजी गर्ने हो भने झगडाको समाधान निकाल्न पनि सहज हुन्छ। जब झगडाको निहुँ फेला पर्छ, दुवैले धैर्यतापूर्वक त्यसमा बहस गर्न सक्छन्। गल्ती वा कमजोरी कहाँ भइरहेको छ ? थाहा पाउन सक्छन्।
के झगडा नराम्रो हो ?
त्यसो त दम्पतीबीच हुने झगडामा दुई किसिमको प्रवृत्ति पाइन्छ।
एक, कतिपय झगडा यस्ता हुन्छन्, जो भुसको आगो झैं भित्रभित्रै सल्कन्छ। त्यसले निकै भयानक रुप लिन्छ। दम्पतीबीच सानोतिनो निहुँमा भनाभन परिरहन्छ। एकअर्कामा अविश्वास र असहयोगको स्थिति हुन्छ। यसले परिवारमा कलह ल्याउँछ भने दम्पतीमा फाटो आउँछ।
दुई, अर्को पाटो पनि छ यसको । दम्पतीबीच हुने झगडाले कतिपय भ्रम, असमझदारीलाई मेट्छ । आफ्ना पार्टनरलाई के कुरामा चित्त बुझेको छैन वा बुझ्दैन भन्ने कुरा थाहा हुन्छ।
उनीहरू एकअर्कालाई चित्त नबुझेको कुरा खुलेर व्यक्त गर्छन्। यसले उनीहरूलाई एउटा समझदारीको विन्दुमा पु¥याउँछ। अतः यस किसिमको झगडाले दम्पतीबीचको सम्बन्ध अरू परिपक्क र बलियो हुँदै जान्छ।
के निहुँमा हुन्छ झगडा ?
दम्पतीबीच हुने झगडाको निहुँ उनीहरूको दाम्पत्य अवधिले पनि निर्धारण गर्छ। सुरुवाती दिनमा दम्पतीबीच एकअर्काको रुचि र आकांक्षालाई लिएर हुने गर्छ । त्यसपछि बच्चाको निहुँमा। त्यसपछि फेरि घर व्यवहारको निहुँमा।
पहिलो चरणमाः एकअर्काको रुचि, आनीबानी र आकंक्षा
दुवै एकअर्कासँग राम्ररी परिचित भइसकेका हुँदैनन् । अर्थात्, एकअर्काको आनीबानी, प्रवृत्ति, सोच, रुचिबारे दुवैलाई थाह हुँदैन।
विवाहको सुरुवाती दिनमा उनीहरूलाई एकअर्काको व्यवहार र सोच र चिन्तन बुझ्नै समय लाग्छ । यहि क्रममा उनीहरूबीच कतिपय असझदारी हुन्छ । ठाकठुक पर्छ ।
दोस्रो चरणमाः बालबच्चको निहुँमा
बच्चा जन्माइसकेपछि भने उनीहरू एक हिसाबले परिपक्क भइसकेका हुन्छन् । आफ्ना पार्टनरले के चाहन्छन्, के रुचाउँछन् भन्ने कुरा बुझिसकेका हुन्छन् । यद्यपि बच्चाको विषयलाई लिएर उनीहरूबीच झगडा हुन्छ ।
बच्चालाई राम्ररी स्याहार नगरेको, बच्चालाई राम्ररी नखुवाएको आदि निहुँमा दम्पतीबीच झगडा हुन्छ । बच्चा फोहोरमा खेले, चोटपटक लागेमा पनि उक्त विषयलाई लिएर दम्पतीबीच भनाभन पर्छ ।
तेस्रो चरणमाः घरायसी विषयलाई लिएर
बच्चा हुर्किँदै गएपछि उनीहरूले बच्चाकै निहुँमा झगडा गर्न छाड्छन् । यद्यपि अर्को निहुँ बन्छ घरायसी कुरा । घरायसी व्यवहार मिलाउने क्रममा दुवैबीच ठाकठुक पर्छ ।
घरको खर्च कसरी कम गर्ने, सामग्रीहरू कसरी जतन गर्ने, चाडपर्व कसरी टार्ने भन्ने विषयमा भनाभन पर्छ । यसैगरी आमाबुबा, सासुससुरा, नन्द भाउजू आदिलाई निहुँ बनाएर पनि उनीहरूबीच मनमुटाव हुन्छ ।
चौथो चरणः आपसी आशंका र अविश्वास
सबै दम्पतीबीच यो विषयले प्रवेश पाउँछ भन्ने छैन । पहिलो चरणमै परिपक्क भइसकेका दम्पतीबीच अविश्वास र आशंकाको स्थिति रहँदैन । तर, कतिपय दम्पतीबीच भने एकअर्कामा आशंका गर्ने वातावरण बन्न थाल्छ । अहिले फेसबुक जस्ता सामाजिक सञ्जाल यसको अर्को निहुँ बनेको छ ।
आफ्ना पार्टनर हरक्षण मोबाइलमा लिप्त भइरहँदा वा अरू नै साथीहरूसँग रमाइरहँदा दम्पतीबीच आशंका पैदा हुन्छ।
साइड इफेक्ट
दम्पतीबीचको झगडा उनीहरूमा मात्र सीमित हुँदैन । यसले सबैभन्दा बढी पिरोल्ने भनेका साना बालबच्चालाई हो। उनीहरू बेकसुर आमाबुबाको झगडाको सजाय भोग्न बाध्य हुन्छन्। त्यसैगरी यसले पारिवारिक माहोल बिथोल्छ। परिवारका अन्य सदस्यलाई पनि समस्यामा पार्छ।
के छ उपचार ?
दम्पतीले यदि कुनैपनि असमझदारी वा अविश्वास भए त्यसमा छलफल गर्न सक्छन्। हुन त रिसलाई नियन्त्रण गर्न कठिन छ, यद्यपि पारिवारिक सुखका लागि यो आवश्यक पनि छ। त्यसैले, धैर्यता र विनम्रता नै दम्पतीबीच हुने झगडाको ओखती हो। नयाँ पुस्ता बाट सभार