सालिक र नामको चपेटामा घुसुडी बजार

Sana Kishan
Total
38
Shares

पृष्ठभूमि :–
विक्रम सम्वत २०१८ सालमा कैलाली र कञ्चनपुर अलग–अलग जिल्ला कायम गरिए । बेलौरीमा अवस्थित कञ्चनपुरको सदरमुकाम र बह्मदेवमा रहेको बजारलाई तत्कालीन घुसुडी बजारमा स्थानान्तरित गरी महेन्द्रनगर बजार स्थापना भएको पाइन्छ । राजा महेन्द्र २०१८ सालमा एक महिने लामो बसाईँका क्रममा मझगाउँ आएका बखत महेन्द्रनगरलाई जिल्ला सदरमुकाम तथा व्यवस्थित बजार बनाउने परिकल्पना गरेको कुरा जानकारहरु बताउँछन् ।

Arus

“सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको सदरमुकाममा रहेको भीमदत्त नगरपालिका देशको संघीय राजधानी काठमाडौँबाट ७५० कि.मी. को दुरीमा रहेको छ । तत्कालीन महेन्द्रनगर नगरपञ्चायतको रुपमा वि.सं. २०३४ साल माघ ७ गते भुजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पूर्ण भूभाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भूभाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण हुन पूर्व यसको बजार क्षेत्रलाई घुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४६ को जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायतबाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णयानुसार
(शहीद भीमदत्त पन्तको सम्मान स्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।” (भीमदत्त स्मारिका, २०७६) “कञ्चनपुर जिल्लाको वर्तमान भौगोलिक क्षेत्रको ऐतिहासिकताको कुरा गर्दा आर्य कत्युरी वंशका शासक ब्रह्मदेवसँगको सम्बन्ध जोडिन्छ । ऐतिहासिक डोटी राज्यकालमा समेत २० कोष भावरक्षेत्रमा राजनैतिक सम्बन्ध रहेको बुझिन्छ । यस्तै पूर्वतिरबाट बसाइँ सर्दै आएका डंगौरा थारु तथा पश्चिमबाट राना थारु जातिको आगमनबाट यो क्षेत्र आवाद भएको ऐतिहासिकता पनि महत्वपूर्ण छ । नेपाल एकीकरणमा डोटी राज्यको विलयपछि सुदूरको दुर्गमताका कारण विर्ताप्रथा त्यति प्रभावकारी रुपमा नभए पनि २००७ साल पछि पहाडी जिल्लाहरुबाट तराईतिरको स्थायी बसाइँ–सराइ क्रमशः बढ्दै गएकोमा २०१८ सालपश्चात देशका विभिन्न क्षेत्रबाट विविध जातजाति एवम् भाषाभाषीहरुलाई यहाँको उर्वरभूमिले आकर्षित गरेको पाइन्छ ।” (ओझा, जगदीश ः २०७६)२०२२–२३ को अनिकालको समयमा पहाडी जिल्लाहरुमा भोकमरी परेको तथा सोही क्रममा राजा महेन्द्रले पहाडी जिल्लाहरुमा भ्रमण गरेको र कञ्चनपुर लगायतको भावरमा औलो उन्मूलन गरिदिने बचन दिएको तथा सो क्षेत्रमा आवादी गर्दै बस्न र कमाई खान उत्प्रेरित गरेको कुरा जनश्रुतीमा रहेको पाइन्छ ।
तत्कालिन अवस्थामा भारतीय हस्तक्षेप बढिरहेको र तराई भावरमा तिनीहरुले थिचोमिचो नगरुन् भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँठाउँमा हतियार चलाउन जान्ने भूपू सैनिकदेखि लिएर वर्माबाट लखेटिएका नेपालीहरुलाई आवास उपलब्ध गराई बस्ती बसाएका थिए । सो कार्य सम्पन्न गर्न पूनर्वास एण्ड कम्पनी कञ्चनपुरको पुनर्वासमा रहेको थियो, जो बहुदल पश्चात बन्द गरियो ।

तरङ्गित सवाल :–
छयालिस सालको जनआन्दोलनको आँधी बेहोरीले महेन्द्रनगर बजारमा अवस्थित राजा महेन्द्रको सालिकको राजदण्ड र चश्मा उडाएर लग्यो । ६२÷६३ को आन्दोलनले सालिकै उडायो । त्यो सालिक किन तोडियो ? कहाँ छ ? किन पुनः स्थापित भएन ? भन्ने प्रश्नहरु आज समाजमा छरपष्ट रहेका पाइन्छन् । आन्दोलनको दौरान देशका विभिन्न स्थानहरुमा रहेका थुप्रै व्यक्तिहरुका सालिक तोडिए के ती व्यक्तिहरु सम्झिन लायक नै थिएनन् त ? इतिहासका थोरैमात्र पात्रहरु सम्झिन लायक हुन्छन । नेपालको इतिहासमा थुप्रै राजा रजौटाहरुले शासन गरेको पाइन्छ । ती राजा महाराजाहरु मध्ये केहीले सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय पहिचानका क्षेत्रमा सकारात्मक योगदान पु¥याएको देखिन्छ र विना हिच्किचाहट सो को कदर गर्न हामीले सिक्नु पर्दछ । पृथ्वीनारायण कालिन सामन्ती शासन व्यवस्था र सामन्ती शासन व्यवस्थाका महासामन्त भएर पनि पृथ्वीनारायणले नेपालको एकीकरण गर्ने कार्यको थालनी मात्रै गरेनन् नेपाली पहिचानका लागि जीवन रहुन्जेल लडिरहेँ । एकीकरणका दौरानमा तलमाथि भएको हुनसक्छ सो कै आधारमा पृथ्वीलाई विर्सिनु सालिक भत्काइनु असल कार्य होइन् । उनकै योगदानले गर्दा हामी आज नेपाली भएर बाँच्न पाएका छौँ । आन्दोलनको चपेटामा भानुभक्तको सालिक पनि भत्काइयो, उनले के विगारे खै ? के भाषाका माध्यमबाट नेपालीहरुमा एकता जागरण गर्नु नै भानुभक्तको दोष थियो त ?

त्यस्तै नेपाली समाजमा राजा महेन्द्र विरुद्ध घृणाको वीऊ यतिसम्म रोपियो कि उनको नाम सुन्नै नचाहने, सालिक देख्नै नचाहने सम्म बनाइयो । यहाँसम्म कि सो मोर्चाका अग्रपंक्तिमा तिनै पात्रहरुलाई उभ्याइयो जो महेन्द्रको निगाहमा भूपू र बर्मेलीका नामबाट कञ्चनपुर आवाद गरिरहेका थिए ।

महेन्द्रलाई किन सम्झिने :–
महत्वाकांक्षी राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाएर एकतन्त्रीय शासन चलाएकै हुन् । महेन्द्रमाथि निरकुंश, तानाशाही, प्रजातन्त्र विरोधी जस्ता अनेकौँ आरोप लागे पनि आज आएर नेपाली इतिहास तिर फर्केर हेर्ने हो भने उनले चालेका कतिपय कदमहरु दूरदर्शी तथा राष्ट्रिय भावनाले ओतप्रोत रहेका देखिन आउँछन् । आफ्नो शासनकालमा देशमा नब्बे प्रतिशत भारतीय मुद्रा चलनचल्तीमा रहेको अवस्थामा त्यसलाई विस्तापित गरी नेपाली मुद्रा प्रचलनमा ल्याए । तत्कालिन समयमा हिन्दी भाषाको दबदबा बढ्दै गएको अवस्थामा नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिने राजा महेन्द्रनले देशको थुप्रै ठाउँमा औद्योगिक क्षेत्र स्थापना गरी देशलाई औद्योगिकरणतिर लग्ने भरभग्दुर प्रयास गरेको पाइन्छ । उनको शासन कालमा पञ्चवर्षीय योजनाको सुरुवात, नेपाल राष्ट्र बैंकको स्थापना, सर्वोच्च अदालतको स्थापना, राष्ट्रिय योजना आयोग, प्रज्ञा प्रतिष्ठान, नाँचघर, वायु सेवा निगम, वीरगञ्ज चिनी कारखाना, नेशनल ट्रेडिङ लिमिटेड, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट, कपडा लगायत थुप्रै उद्योगहरु स्थापना गरी विकासका पूर्वाधार निर्माण गर्ने कार्यहरु भएको पाइन्छ । राजाबाट भएका महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग) पृथ्वी राजमार्ग, अरनिको राजमार्ग जस्ता मार्गहरुको शुभारम्भले देशलाई जोड्ने कार्य गरेको जगजाहेर नै छ ।

छयालिस साल यताको नेपालको राजनीतिलाई नियालौ भने थुप्रै नेताहरुले समेत तानाशाही, अधिनायकवादी उपमा पाएकै देखिन्छ । दलिय व्यवस्थामा देश आए पश्चात गणतन्त्र सम्मको यात्रामा राजनीतिक चरित्र हेर्दा एक दुई जना बाहेक सम्झिन लायक राजनेताहरु देशले नपाउनु नेपालीको दुर्भाग्य नै हो भन्नु पर्दछ । कतिपय नेताहरुको शासनकालमा भएका हरकत र कालाकरतुतहरु नियाल्ने हो भने विर्षन पनि नसकिने खालका देखिन्छन् । एउटा सचेत नेपाली नागरिकको आँखाले सत्य तथ्य हेर्ने, कानले सत्यतथ्य सुन्ने तथा मुखले सत्य तथ्य बोल्ने प्रयास गर्ने हो भने महेन्द्र कालमा नेपालको कुटनीति, राष्ट्रियता, राष्ट्रिय सिमाना हालको भन्दा सबल रहेको इतिहास साक्षी छ । महेन्द्रले मुलुकी ऐन, निजामति ऐन, प्रहरी ऐन, जातिय विभेद उन्मुलन गर्न छुवाछुत विरोधी ऐन, भूमिसुधार ऐन जस्ता ऐन ल्याएकै हुन र हाल देशले नयाँ संविधान प्राप्त गरे पश्चात पनि तिनै ऐनहरु संशोधन हुने गरेको यथार्थ स्वीकार गर्नै पर्दछ ।
भारतीय हस्तक्षेप र चिोमिचो विरुद्ध महेन्द्रले गरेको कार्य सह्रानीय नै देखिन्छ । तसर्थ राजा महेन्द्रलाई नेपाली हुनको नाताले तानाशाही सुधारवादी राजाको रुपमा सम्झिनु पर्दछ, विर्षनु हुदैन । म राजावादी हुँदै होइनन्, राजाको प्रशंसा गरेको पनि होइन। मेरो स्वभाव समाजको प्रगति चाहने सभ्य, शिष्ट, मर्यादित र अनुशासित समाजको परिकल्पना गर्ने भएको हुनाले सामाजिक तथा राष्ट्रिय प्रगतिका लागि इतिहासलाई बोल्न दिऊँ र सत्यतथ्य खोल्न दिउँ भन्ने मान्यता भने राख्दछु । तसर्थ तानाशाह महेन्द्रले गरेका राम्रा काम समाजले सम्झियोस् भन्ने हो ।

नाम परिवर्तनको राजनीति :–
नाम परिवर्तनले मात्रै विकास र सभ्यताको निर्माण हुन्छ भन्नु वेकार हो । विकास र सभ्य समाज निर्माणका लागि असल नियतका साथ काम गर्नुपर्ने हुन्छ । कसैलाई अन्यथा नलागोस उदाहरणका लागि “धनुवाको नाम परिवर्तन गरी धनबहादुर राख्यो भन्दैमा असल काम नगरेपछि परिवर्तित धनबहादुरको सम्मानीत धनुवा पनि हराउने खतरा बढ्ने देखिन्छ ।”
घुसुडी बजार ठिकै थियो, मौलिक नाम । राजा महेन्द्रको निर्देशनमा व्यवस्थित बजार बन्यो, नाम महेन्द्रनगर राखियो । महेन्द्र स्मारक बन्यो, महेन्द्रको सालिक राखियो । के नै विग्रियो र ? राजा महेन्द्र तानाशाह हुन वा सामन्ती हुन कञ्चनपुरका लागि कञ्चनपुरका जनताका लागि उनले सालिक राख्न योग्य काम गरेकै हुन भन्ने देखिन्छ ।

छयालिस सालको जनआन्दोलनपछि नाम परिवर्तनको राजनीतिक सुरुवात भएसँगै ०६२÷०६३ को आन्दोलन पछि त झन चुलियो । महेन्द्रनगरको नाम भीमनगर, भीमदत्तनगर, विशालनगर आदि आदि राख्ने अभियान थालियो । एक किसिमको आन्दोलन नै शुरु भयो । क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको तत्कालिन ठालु प्रथा विरुद्धको आन्दोलन, अन्याय र अत्याचार विरुद्धको उनको अदम्य साहस जति प्रशंसा गरेपनि थोरै हुन्छ । भीमदत्त पन्त माथि कसैले अनर्गल टीका टिप्पणी गरे पनि उनी स्वतन्त्रता प्रेमी, न्यायप्रेमी, निर्भिक निडर योद्धा भएको कुरा इतिहासले लुकाउन खोज्दैमा लुक्ने अवस्था छैन । भीमदत्तको सम्मान गर्नु पर्दछ ।

एक पक्ष भन्छ “राजा महेन्द्रले २०१८ सालमै व्यवस्थित बजार बसाउने परिकल्पना र साहस गरे ठीक गरे यसलाई महेन्द्रनगर नै रहन दिऔँ । अर्को पक्ष भन्छ नगरपालिकाको नाम मात्रै होइन बजारको नाम पनि बदल्नै पर्दछ, तानाशाहलाई सम्झिनु हुदैन् ।”
२०४६ साल पश्चात भीमदत्तको नामबाट कञ्चनपुरकै बजार विस्तार भइरहेका महेन्द्रनगर बाहेकका अन्य क्षेत्रहरुमा व्यवस्थित बजार बनाउने साहस र परिकल्पना गर्न किन सकिएन ? साहस र परिकल्पना गरियोस् बजार बसाऔँ । राम्रो कार्यमा सबैको सहमति नै रहला भनेर विश्वास गरोँ । किसान नेताको सम्मानमा महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका कायम गरेको सबैले स्वागत गरिसकेको अवस्था छ । हामीले बुझे अनुसार भीमदत्त नगरपालिका भित्र महेन्द्रनगर नामको बजार क्षेत्र पर्दछ । अब यो बजार क्षेत्रको नामको लागि रोइलो किन ? बजार क्षेत्रका संघ, संस्था तथा पसलहरुको नाम हे¥यौँ भने ठेगानामा फरक फरक नाम महेन्द्रनगर, भीमनगर, भीमदत्तनगर आदि लेखिएको देख्न सकिन्छ ।

कसैले नजानेर भी.न.पा. १८ लेख्ने ठाउँमा भीमदत्तनगर–१८ लेखेका होलान ठीक छ, तर सबै ठाउँमा नजानेरै लेखिएको भन्ने कुरा हुँदै होइन् । यदि महेन्द्रनगरको नामै फेर्ने आन्दोलनको थालनी हो भने वहस गरौँ, बजारको नाम पनि भीमनगर, भीमदत्तनगर नै राखौँ के नै विग्रिन्छ र ? नगर परिषद्बाट निर्णय गरे भैगो नि त । जस्तै महेन्द्रनगर नगर विकास समितिको पनि भीमदत्तनगर विकास समिति नामाकरण भइसकेको छ ।

Indreni

जनतालाई सु–सुचित पार्ने एउटा पत्रिका लेख्छ ‘……..महेन्द्रनगर …..’ अर्को लेख्छ …… भीमनगर ….. अर्को लेख्छ ….. भीमदत्तनगर । सुदूरपश्चिमको शिक्षाको केन्द्र, विश्वविद्यालय भएको शहर, थुप्रो बुद्धिजीवीहरु भएको र बुद्धिजीवी तथा शैक्षिक जनशक्ति उत्पादन गर्ने थलो मै नामको

रनभुल्लमा परेर अलमल गरेको सुहाएन कि भन्ने हो । यसरी जनतालाई अलमलमा पार्ने काम ठिक होइन भन्ने नै हो । जे नाम राख्नु छ राखौँ तर एउटै नाम राखौँ, विरोधका लागि विरोध गर्नु ठीक होइन कि जस्तो लाग्छ । तथ्य र कारणमा टेकेर बहस गरौँ, एउटै नाम राखौँ । या त भीमनगर, भीमदत्तनगर, महेन्द्रनगर जे लेखे पनि एउटै शहर हो भनेर कसले कागज बनाएर हुने हो कागज बनाइयोस् । बेकारको रोइलो किन ?

कसको सालिक राख्ने :–
कञ्चनपुर लगायत नेपालका तराई भावर क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याउने तथा महेन्द्रनगर बसाउने राजा महेन्द्रको सालिक पुनः स्थापना गरौँ । इतिहास आफैँ बोल्छ बोल्न दिऊँ । ध्वंस पछि पुनः निर्माण गर्न पनि सिकौँ । दुईवटा महेन्द्रनगर माविहरुले ‘महेन्द्रनगर’ नामको साख जोगाएको बजार क्षेत्रमा जननेताहरु वि.पि. कोइराला, पुष्पलाल, मदन भण्डारी, आदिकवि भानुभक्त, शहीद दशरथ चन्द, शहीद भीमदत्तका सालिकहरु स्थापना गरेकै छौँ । धेरै नयाँ सालिकहरु थपेर मात्रै पनि काम छैन । भएका सालिक संरक्षण र सम्बद्र्धन पनि गर्ने गरौँ । सचेत शहरमा राजा महेन्द्रको सालिक पुनः स्थापना गर्दैमा विग्रने, राजनीतिक जात जाने अवस्था पनि त देखिदैन ।

ठीक छ जनआन्दोलनमा रीसको झोंकमा पृथ्वीनारायण, महेन्द्र, विरेन्द्रका सालिक त के भानुभक्तका सालिक समेत ढालिए, तोडिए तर राणाहरुका भने तोडिएनन् । एउटा पक्षधरले अर्कोको सालिक तोड्दै जाने हो भने हामी र हाम्रो इतिहास कतातिर जान्छ ? एकछिन सोच्नु पर्ने बेला आएजस्तो लाग्छ ।

बिर्सिएको बाटो :–
भारतीयहरुले गोराहरुलाई भारतबाट धपाए पनि उनले बनाएर गएका विकासका पूर्वाधारहरु भत्काएनन् । बरु अंग्रेजले गरेको औद्योगिकीकरण र पूर्वाधारहरुलाई प्रयोग गरी अगाडि बढ्ने कार्य गर्नाले भारतले आजको भौतिक प्रगति तथा आर्थिक उन्नति प्राप्त गरी विश्व शक्ति बनिरहेको कुरा विश्व सामु जगजाहेर छ । २०४६ पछि राज्यले ठूलो गल्ती ग¥यो । राजनीतिकरणले यहाँसम्म गाँज्यो कि विद्यालयदेखि विश्वविद्यालयसम्म कोही पनि अछुतो रहेनन् । नेपाली र संस्कृत भाषा विरुद्ध लडाई लड्दै अंग्रेजी भाषा अनिवार्य गरियो । बल्ल आज आएर स्थानीय तहहरुले स्थानीय भाषालाई प्राथमिकता दिएर भइरहेको कार्य प्रशंसनीय छ ।

हामी आन्दोलन र परिवर्तनको नाममा राजा महेन्द्रले खडा गरेका भौतिक पूर्वाधारहरु ध्वस्त पार्दै गयौँ । आज तिनीहरुलाई संरक्षण र सम्बद्र्धन गर्दै अगाडि बढेको भए तिनै पूर्वाधारहरु माथि टेकेर अवश्य पनि आर्थिक प्रगति नै हुन्थ्यो होला । उदाहरणार्थ कोरोना कालमा उतिबेलाको साझा यातायात र वायुसेवा निगमको अवस्था सबल रहेको भए आवतजावतमा कति सहज हुन्थ्यो होला ? तर त्यसो गरिएन । आन्दोलन पश्चातका शासक वर्गहरु सरकारी कम्पनी डुबाउन, संस्थाहरुको जग्गा खाना, कमिसनमा निजीकरण गर्न मै बेफुर्सतिला रहे । रोजगारका भएका ढोकाहरु बन्द गरेर युवाहरुको वैदेशिक रेमिटेन्स खानमै मस्त रहेको देखियो, विभिन्न वाद र क्रान्तिको नाममा । ध्वंस बढी भयो, निर्माण कम ।

निष्कर्ष :–
सालिक विना पनि बजार चल्ने नै हुन् । सालिकै हुनुपर्छ भन्ने जरुरी छैन । तर यहाँ सालिक थियो र इतिहास थियो । भरसक ऐतिहासिक विषयवस्तु नयाँ पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्न सके राम्रो । चरित्र र सोच परिवर्तन नगरी कुनै पनि समस्याको समाधान नाम परिवर्तनले मात्र हुन्छ भन्नु मुनासिव देखिदैन । भीमनगर, भीमदत्तनगर, महेन्द्रनगर जे राख्ने हो एउटै नाम राखौँ । कहिले महेन्द्र स्मारक, कहिले भीमदत्त स्मारक, कहिले गणतन्त्र स्मारक हुने ठाउँमा जसको सालिक राख्ने हो राखौँ, होइन भने त्यो बचेको ठूटो देखाइराख्नुको कुनै महत्व र औचित्य रहँदैन । राज्यको सम्पत्ति महेन्द्रनगरको तोडिएको सालिक कहाँ छ ? खोज्ने काम गरियोस् । उक्त सालिक पुनः स्थापना गर्न सकिदैन भने संग्रहालयमा राखेर महेन्द्रनगरवासीलाई हेर्ने मौका भने अवश्य प्रदान गरियोस् । हैन्, महेन्द्रको सालिक राख्न टाउको नै दुख्छ, अन्तरआत्माले मान्दै मान्दैन, सम्मान गर्न जान्दै जान्दैन भने मौलिक नाम घुसुडी बजार नै कायम गरेर घुसुडी स्मारक नामाकरण गरी सालिक नभएको ठूटोमा घुसुडीको प्रतीक स्थापना गरे भैगो नि । यसमा त सबै राजनीतिकवादहरुका बिच विवाद नरहला नि कि कसो ? रमेश पन्त ‘मितबन्धु’ले जनसरोकार पोस्टमा लेखेका छन्।

 

Total
38
Shares
सम्वन्धित समाचार
Total
38
Share