

गोकर्णेश्वर नगरपालिकाले नगर भित्रका विद्यालय सञ्चालनमा रोक नलगाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गर्न निर्देशन दिए पनि जिल्लासँग समन्वय गरी सञ्चालन गरिने नगरपालिका प्रमुख सन्तोष चालिसेले बताएका छन्।
नगरपालिकाले करिब ५ महिनादेखि बन्द रहेका विद्यालय हिजो (मंगलबार) देखि नगरभित्रका सबै निजी तथा सामुदायिक विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमै अध्ययन अध्यापन गराउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका थिए। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने जोखिम कायमै रहेकाले मंगलबार नै स्कुल बन्द गर्न निर्देशन दिएको थियो।


नगरपालिका प्रमुख चालिसेले भने,‘अभिभावक,प्याब्सनलगायत सबै सरोकारवाला निकायसँग छलफल गरेर खोल्ने निर्णय गरेका हौँ, लामो समयदेखि स्कुल बन्द हुँदा केटाकेटीले पढ्न पाएका छैनन्। यहाँका ७० प्रतिशत विद्यार्थीसँग मोबाइल नै छैन, अनि अनलाइन कक्षा कसरी पढ्नु? यसको जिम्मा कसले लिने? बन्द गरेर मात्र भएन नि, स्कुल बन्द हुँदैन। सिडिओसँग कुरा गरेर सञ्चालन गर्ने वातावरण मिलाउँछु।’
सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर नै पठनपाठन सञ्चालन गर्ने उनको भनाइ छ। काठमाडौं जिल्लाले पनि बुधबार आदेश जारी गर्दै स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने जनाएको छ। थाहा खबर बाट सभार
