भीमदत्त नगरपालिकामा बृहत् सरसफाइ अभियान

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा सञ्चालित बृहत् सरसफाइ अभियानलाई शनिबार पनि निरन्तरता दिइएको छ । नगरपालिकाले ‘फोहर मैलालाई श्रोतमा नै न्यूनीकरण गरौँ’’ भन्ने मूल नाराका साथ सरसफाइ अभियान सुरु गरेको हो । नगरपालिकाले हरेक साताको शनिबार नियमित सरसफाइलाई अभियानको रूपमा अघि बढाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ‘मेरो नगर म आफैँ सफा गर्छु’ भन्ने नीति अन्तर्गत सरसफाइ अभियानलाई सञ्चालन गरेको छ ।

शनिबारको सरसफाइ अभियानमा महिला तथा बालबालिका समिति सभापति एंव सङ्घीय सांसद निरु देवी पाल, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, नगर प्रमुख सुरेन्द्र बिष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डे, नेपाली सेना २५ नम्बर बाहिनीका बाहिनीपति कृष्ण बहादुर जिसी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी लगायत जनप्रतिनिधि, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधिसहित स्थानीयको सहभागिता रहेको थियो ।

फोहर मैला व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने र फोहर मैला व्यवस्थापनलाई प्रभावकारी तवरले व्यवस्थापन गर्न सहयोग पुग्ने उद्देश्यका साथ युएनडिपीको आर्थिक सहयोगमा भीमदत्त नगरपालिकाले निड्स नेपालसँगको साझेदारीमा हरित पुनर्स्थापना प्रवर्द्धन परियोजना सञ्चालन गरिरहेको छ । सरसफाइ अभियानमा सहभागी हुँदै महिला तथा बालबालिका समितिका सभापति निरु देवी पालले नगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियान एकदमै राम्रो रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले आफ्नो नगर आफैँ सफा गर्ने नगरको नीतिलाई सबै मिलेर सफल पार्न आग्रह समेत गर्नुभयो । सबै नागरिकले सचेत र जिम्मेवार भए नगर सुन्दर र सफा बन्ने उहाँको भनाई छ । त्यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले पनि सबैले सरसफाइ अभियानमा हातेमालो गर्नुपर्ने बताउनु भयो । हरेक नगर सफा र सुन्दर बनाउन सबैले आवश्यक सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

सरसफाइ अभियानमा नगरपालिका सँगसँगै नेपाली सेना पनि जोडिएको २५ नम्बर बाहिनीपति कृष्ण बहादुर जिसीले बताउनुभयो । उहाँले अभियानलाई सफल पार्न नेपाली सेनाले आवश्यक सहयोग गर्ने उल्लेख गर्दै दिगो सरसफाइका लागि नागरिक जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि सरसफाइमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । अभियानमा नेपाल प्रहरीले नियमित सहयोग गर्ने उहाँको भनाई छ ।

त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले नगरपालिकाले ‘मेरो नगर म आफैँ सफा गर्छु’ भन्ने नीतिका साथ अभियानलाई अघि बढाएको बताउनु भयो । उहाँले नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन नगरपालिले सबै क्षेत्रसँगको साझेदारीमा कार्यक्रम अघि बढाएको बताउनु भयो । हरेक शनिबार सरसफाइसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि जोड दिइने उहाँको भनाइ छ । फोहोरबाट मोहर बनाउन सकिने उल्लेख गर्दै नगर प्रमुख बिष्टले दीर्घकालीन रूपमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रको काम अघि बढेको बताउनु भयो ।

भीमदत्त नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख गणेश ठगुन्नाले नगरपालिकाले नियमित सरसफाइ अभियानलाई अगाडी बढाउने बताउनु भयो । उहाँका अनुसार सरसफाइसँगै नागरिकलाई आफैँ सचेत गराउन अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले दैनिक रूपमा सरसफाइकर्मी मार्फत फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।

नगरलाई स्वच्छ र सफा बनाउन परियोजनाले काम अघि बढाइसकेको परियोजनाका संयोजक केशवराज पन्तले बताउनु भयो । उहाँले सरसफाइसँग त्यसको दीर्घकालीन समाधानका लागि नगरवासीलाई फोहोर बारे सचेतना जगाउने बताउनु भएको छ । अभियान आगामी दिनहरूमा स्थानीय सक्रिय सहभागिता र टोल विकास संस्थाको अगुवाइमा साप्ताहिक रूपमा नियमित सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । नेपालबोध डटकम बाट सभार

 

 

Total
7
Shares
Related Posts

काँग्रेस बेलडाँडीको सभापतिमा गज बहादुर विष्ट निर्वाचित

कञ्चनपुर : नेपाली काँग्रेस बेलडाँडी गाँउपालिकाको सभापतिमा गज बहादुर विष्ट निर्वाचित भएका छन । शनिबार सम्पन्न भएको निर्वाचनमा…
पुरा पढ्नुहोस

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस
Total
7
Share