
अर्थ मन्त्री जनार्दन शर्माले नागरिकको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिनुभएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । ‘राजश्व भनेको नागरिकको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले राज्यका हरेक नीति निरन्तर सुधारको प्रक्रियामा रहेको भए पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताउनुभयो । ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सक्दैन’, मन्त्री शर्माले थप्नुभयो, ‘मैले गुणात्मक सुधारका लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन, विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लाग्नुभएका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आउँदा दिनमा पनि उपयोग गर्ने बताउनुभयो ।

बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवानिवृत्त हुन लाग्नुभएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गर्नुभयो । उहाँले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
बिदाइका क्रममा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थ मन्त्रीले अघि सार्नुभएको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्त्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व सङ्कलनमा समेत सुधार आउने तर्क गर्नुभयो । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उहाँले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोक सेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिनुभयो । सचिव पुडासैनीले भन्नुभयो, हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । नागरिक र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन । तीन दशकभन्दा लामो समय निजामती सेवामा बिताउँदाको अनुभव सुनाउँदै उहाँले नेपालमा राजनैतिक क्षेत्रले ब्युरोक्रेट्सलाई अझै पूर्णरूपमा विश्वास गरिनसकेको बताउनुभयो ।
विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामती सेवामा ३३ वर्ष बिताउनुभएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवारदेखि सेवा निवृत्त हुँदै हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार
