
जिन्दगी यस्तो पनि हुन सक्छ सोचेकै थिएन।
त्यहीँ पाइन्छ बार बार जे मैले खोजेकै थिएन।

सोध्न मन छ सत्य भन्ने पनि छ र अस्तित्वमा,
मलाई त्यही आरोप छ जे मैले बोलेकै थिएन।
जिन्दगी भोगाइ हो भन्थे हो रहेछ बल्ल बुझे,
अब सिक्दैछु भोग्न आजसम्म भोगेकै थिएन।

जो सङ्ग पोखियो नुन छर्किएर आनन्द लियो,
अब भन्दै हिड्छु मैले त दु:ख पोखेकै थिएन।
समयको घाउ ब्यक्तिको भन्दा गहिरो भएछ,
बाटो ढुकेर बस्छ र भन्छ मैले रोकेकै थिएन।
मखमली सम्झेर रोपेको ऐजेरु बनेर पलायो,
अब भन्ने विकल्प एक छ मैले रोपेकै थिएन।
