
निकै भएको थियो शरीर भारी लग्न थालेको। चार तलामाथि उक्लेर राउन्ड लिँदा पनि श्वास फुलेको जस्तो भान हुन्थ्यो। आलस्य लाग्थ्यो केही गर्न पनि। लाग्थ्यो, जाँगरको कमी थियो भित्रैबाट। सायद अल्छी हुन थालेछु, बाहिर खानामा रमाउन थालेछु। ऐना हेर्दा पनि अलिक भिन्न देख्थें। वजन बढेछ, नापेको ८५ केजी !
विश्व समुदायका केही तथ्यांक हेर्दा करिब ४० प्रतिशत मानिसको तौल आफ्नो उमेर र उचाईभन्दा बढी देखिन्छ। त्यस्तै १६ प्रतिशत निकै नै बढी मोटोपनको सिकार हुने गरेको तथ्यांक भेटियो। यो तथ्यांकको प्रत्यक्ष असर मानिसमा हुने अल्पायुमा देखिएको पाइन्छ। सन् २०१७ को तथ्यांक हेर्दा करिब ४७ लाख मानिसको मृत्यु मोटोपनका कारण अल्पायुमै भएको पाइयो। यी ती तथ्यांक हुन् जसको विदेशी मुलुकमा प्रत्यक्ष निगरानी हुन्छ। हाम्रो जस्तो मुलुकमा यस्तो कतिपय घटना बाहिर नै आउन पाउँदैन। व्यस्त दैनिकी, तनावपूर्ण जीवन,अव्यवस्थित खानपिन, अल्छीपन, आधुनिक सहरिया जीवनशैली आजको आधुनिक समाजका अभिन्न अंग हुन्। यी तिनै विरुवा हुन् जसले हामीलाई आकर्षित गर्दै आफूतिर तान्छन् र अस्वस्थ्य बनाउँछन्।

हाम्रो शरीर यिनै भुमरीमा बेरिँदै रोगको घर बन्दैछ। पछिलो समयमा बढी देखिएका रोग जस्तो उच्च रक्तचाप, कोलेस्टेरोल, मुटुको रोग, मधुमेय आदिको श्रोत यिनै हुन्। सँगै हामीमा पनि मोटोपन बढ्दै जाँदैछ। स्वादे जिब्रो, रक्सी चुरोटको लत एउटा मुख्य कारण। जिब्रोको गरिमामा हामी यसरी बाँधिएका छौं कि तलतल थाम्न सक्दैनौं। बढ्दो जंक फुडको लतले आजकल कम उमेरमै हाम्रो तौल बढी हुन थालेको छ। साथै बढ्दो व्यस्तता या अल्छीपनले १० मिनेट हिँडाइको बाटो पनि सवारीसाधनको प्रयोग गर्छौं। यिनै कारण जिब्रो र शरीर बढी मात्तिएर रोगको गुँड बन्दै गरेको छ। यसको उपाय के त ? भन्नेले भन्छन्, यहाँ व्यायाम गर्ने फुर्सद छैन। तर सोच्नुस् आफ्नो शरीरका लागि आधा घण्टा तपाईसँग छैन ? आफ्नो शरीरका लागि खानामा सन्तुलन छैन ? राति १२ बजे सुतेर ८ बजे उठ्नुको सट्टा १÷२ घण्टा अगाडि सुत्न सकिन्न ? पक्कै सकिन्छ ।
मोटोपनको कारण
शरीर स्वास्थ्य राख्ने उत्तम उपाय भनेकै मुख्यत हाम्रो खानपिन र जीवनशैली नै हो। बढी क्यालोरीयुक्त खाना, तरकारी र फलफूल, जंक फुड, कोल्ड ड्रिङ्स, फ्राइड राइस आदि धेरै परिमाणमा एकैचोटी खानु अनि रक्सी खान नियन्त्रण नगर्नु पनि मूल कारण नै हुन्। साथै केही वंशानुगत समस्या, हर्मोनको प्रभाव, कम शारीरिक क्रियाकलाप, ऐसआरामको जीवन प्रक्रियाले शरीरमा बोसो जम्मा गर्न मद्दत गर्दछ। बढ्दो कम्प्युटर र आधुनिक उपकरणका कारण घन्टौंसम्म एकै ठाउँमा बसिराख्नाले हाम्रो गतिविधिमा कमी आउँछ र मोटोपनालाई सहायता पुग्दछ।
मोटोपनको जटिलता

मुटुरोग र हृदयघात : प्रायः चिल्लोपन बढी हुनाले रगतको नली साँघुरिँदै जान्छ र मुटुमा समस्या आउने गर्छ। उच्चरक्तचाप र मधुमेह ः धेरैजसो मोटो मानिसमा देखिने मुख्य समस्या हो यो । पाचन समस्या ः पित्तथैलीमा ढुंगा, ग्यास्टिक, कलेजोमा बोसो जम्मा भई कलेजोमा खराबी साथै पाचन शैलीमा समस्या हुन्छ। कलेजोको खराबी सिर्होसिस र क्यान्सरको प्रमुख कारण मोटोपन पनि एक हो। क्यान्सर ः पेट, कलेजो, पाठेघर, ठूलो आन्द्रा, पित्तथैली, प्यानक्रियाज र मृगौलामा क्यान्सर हुनसक्छ। स्त्रीरोग ः महिनावारीमा समस्या हुने, बाँझोपन, पाठेघरको क्यान्सरको खतरा हुने देखिन्छ। पुरुषमा ः नपुंसकता हुने देखिएको छ। हड्डी कमजोर ः जिउ आलस्य हुने, चाँडै हड्डी खिइने र नसाको समस्या हुन्छ । डिप्रेसन र डेमेन्सिया पनि यसकै कारण हुन् ।
मोटोपनको उपचार र रोकथाम : धैर्यता, अनुशासन, नियमितता अनि आत्मविश्वास यी चार चिज अनिवार्य छन्, मोटोपनलाई कम गर्न। सर्वप्रथम त मोटोपन हुन नदिन कोसिस गर्नुपर्छ। यदि भइहाले कम गराउने माध्यम पनि छन्। जुन यस प्रकार छन्,
खानपान : व्यवस्थित खानपान नै यसको मुख्य विकल्प हो। यदि वजन घटाउनु छ भने कमसेकम दिनको आवश्यकता भन्दा ४००–५०० क्यालोरी कम खानुपर्छ। धेरै मानिस खान छोडेर वजन घटाउन खोज्छन्, त्यो पनि गलत तरिका हो। थोरै तर नियमित खानाले शरीरमा चाहिने आवश्यक तत्त्व, भिटामिन र मिनरल्स पनि प्रदान गर्दछ। पानी प्रसस्त मात्रामा पिउन जरुरी हुन्छ।
व्यायाम : दिनको ३० देखि ४५ मिनेटसम्मको शारीरिक क्रियाकलाप शरीरका लागि आवश्यक छ। यसले वजन कम गर्न छिटो मद्दत गर्दछ। दौडिने, खेल्ने, पौडिने अथवा वजन उठाउने जुन पायक पर्छ त्यही अनुसारको व्यायाम गर्न सकिन्छ। यसका अतिरिक्त कोठामा पनि नबसी भान्सासम्म हिँड्ने, नजिकको गन्तव्य हिँडेर पुग्ने गर्नाले शरीर फुर्तिलो रहिरहन्छ। यस अतिरिक्त अनावश्यक तनाव नलिने, अनावश्यक औषधि सेवन नगर्ने, मदिरा चुरोटबाट पर बस्ने, उपचार हुने रोगको समयमै पहिचान गरी उपचार गर्नुपर्छ।
समग्रमा, वनमाराको झारजस्तै फैलिँदै गरेको मोटोपनको समस्या सुल्झाउन बेलैदेखि सतर्कता अपनाउनु पर्दछ। नियमित सन्तुलित खाना, शारीरिक अभ्यास, तनावरहित अनुशासित जीवनशैली मुख्य सूत्राधार हुन्, यसलाई रोक्न अनि कम गर्न। भविष्यमा आउन सक्ने विभिन्न शारीरिक तथा मानसिक रोगबाट बेलामै बच्न आफ्नो तौल नियन्त्रण गर्न जरुरी छ। (डा. अवशेष भण्डारीले अन्नपूर्ण पोस्टमा लेखेका छन्)
