सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान सिंह

सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले कोभिशिल्ड खोपको दोस्रो डोज नपाएकाहरुलाई तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।

‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिशिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो सम्बोधन गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।

‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाइदिनुपर्यो भन्छन् । जनताका ती जायज माग हुन्,’ नेता सिंहले भने ‘सरकारले कोभिशिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनुपर्दछ ।’

उनले अगाडि भने, ‘कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नु पर्छ ।’ कांग्रेस नेतृत्वको सरकारको पहिलो प्राथामिकता कोरोना नियन्त्रण हुनुपर्ने उनको जोड थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गर्दै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अब त्यही अनुसारको कदम चाल्नु पर्यो नि । कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गरेकाहरुलाई सम्मान समेत गरेका थिए । (अनलाइन खबर बाट सभार)

Total
10
Shares
Related Posts

काँग्रेस भीमदत्त नगर सभापतिमा कलौनी निर्वाचित

नेपाली काँग्रेस भीमदत्त नगरको सभापतिमा अच्यूतराज कलौनी निर्वाचित भएका छन । कलौनीले आफ्ना निकटतम प्रतिद्वन्दी आशिष खत्रीलाई १सय…
पुरा पढ्नुहोस

काँग्रेसको पुनर्वास नगर कार्यसमितिको सभापतीमा तामाङ्ग विजयी

नेपाली काँग्रेसको पुनर्वास नगर कार्य समितिका लागि आज भएको चुनावमा शुक बहादुर तामाङ्ग विजयी भएका छन । नगर…
पुरा पढ्नुहोस

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस
Total
10
Share