बेखर्ची भइ नेपाल फर्किएकाहरूको क्वरेण्टीन खर्च सरकारले बेहोर्ने

‘डिपोर्टेशन सेन्टर’ मार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकका लागि लाग्ने क्वरेण्टीन खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकको क्वरेण्टीन खर्च सरकारले बेहोर्ने बताउनुभएको हो ।

यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र यसका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । आउँदा दिनका लागि नेपाल सरकारले उपयुक्त ठाउँमा क्वरेण्टीन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सरकारले कोभिड–१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि वा आदेशको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्यादसम्बन्धी आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । साथै पदाधिकारीले म्याद थपको आवश्यकता र औचित्य विश्लेषण गर्ने गरी नेपाल सरकारलाई थप लागत नपर्ने र म्याद थप गरेबापत अन्य कुनै दायित्व नपर्ने गरी त्यस्तो सम्झौताको ६ महिना समय थप गर्ने निर्णय गरेको छ ।

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना त्यही आयोगको प्रादेशिक मुकाम कार्यालयका लागि २१ जना तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरी चालु आर्थिक वर्ष २०७८÷०७९ का लागि स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । (उज्यालो अनलाइन बाट सभार)

Total
27
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
27
Share