सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

योगः जान्नैपर्ने केही कुरा

गलत खानपान र जीवनशैलीका कारण अहिलेका मानिसहरु अनेक प्रकारका रोगको शिकार बनिरहेका छन् । चाहे मधुमेह होस् वा उच्च रक्तचाप, थाइराइड होस् वा क्यान्सर सबै रोग खानपान र जीवनशैलीसँगै जोडिन्छन् ।

यसरी अनेकन रोगले थलिदै गएको ज्यानलाई कसरी तन्दुरुस्त बनाउने ? कसरी स्वस्थ एवं निरोगी हुने ? अस्पताल धाएर ? औषधी खाएर ? शल्यक्रिया गरेर ? विकल्प अनेक छन् । तर, सबैभन्दा पहिलो आवश्यकता भनेको जीवनशैली परिवर्तन हो । खराब जीवनशैली त्यागेर रोगमुक्त जीवन जिउन सकिन्छ । यसका लागि प्राकृतिक उपाय सर्वोत्तम हुन्छ । र, त्यसको एक विधी हो योग ।

त्यसो त अहिले योग गर्नेको संख्या विश्वभर बढिरहेको छ । योगप्रतिको जागरुकता बढेको छ । कोही योग सेन्टरमा धाएर, कोही टेलिभिजन हेरेर योग गरिरहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

योग गर्नु शारीरिक तन्दुरुस्ती र निरोगी जीवनको सर्वोत्तम उपाय हो । यद्यपी योग गर्दा त्यसको विधी र प्रभावबारे प्रष्ट हुनुपर्छ । अन्धधुन्ध योग गर्दा अपेक्षित नतिजा हासिल नहुने मात्र होइन, उल्टो असर गर्न सक्छ । अतः योगका सम्बन्धमा यी कुरा बुझौं ।

वर्कआउट कि योग ?

जिममा पसिना बगाएर हामी आफ्नो शरीरलाई फिट राख्न सक्छौ । तर, योगले शरीरलाई बलियो र लचिलो बनाउँछ । साथै मस्तिष्कलाई शान्त राख्ने, तौल नियन्त्रण गर्ने, छालामा निखार ल्याउने र समग्र शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।

सामान्यत योगलाई केवल आसनसँग मात्र जोडेर हेर्ने गरिन्छ । तर, वास्तविकतामा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ यसमा । जब यी तीन एक लयमा हुन्छन्, हामी स्वस्थ हुन्छौं । तनावबाट मुक्ती, आन्तरिक शान्ति, रोग प्रतिरोधात्मक क्षमता बढाउने, उर्जा बढाउने, शरीरमा लचिलोपन ल्याउने आदि कार्यमा योगको महत्वपूर्ण भूमिका हुन्छ ।

योगका लागि लचिलोपन चाहिन्छ ?

योगका लागि केवल ताकत, सन्तुलन र लचिलोपन चाहिन्छ । जो कोहीमा यसमध्ये एक चिज हुन्छ, जसको मद्दतले अर्को काम सजिलै गर्न सक्छन् । नियमित रुपले योग गर्नाले तौल नियन्त्रण हुँदै जान्छ र शरीर लचिलो पनि बन्दै जान्छ ।

के हो सही समय ?

दिनमा कुनै पनि समय योग गर्न सकिन्छ । तर, खाना खानासाथ तुरुन्तै योग गर्नु हुँदैन । बिहान खासगरी सूर्योदयलगत्तै योग गर्नु बढी लाभदायक हुन्छ । सूर्योदयको दुई घण्टासम्म आफ्नो सुविधाअनुसार योग गर्न सकिन्छ । खासगरी बिहान शान्त र स्वच्छ वातावरण हुन्छ । साथै हाम्रो दिमाग पनि शान्त हुन्छ ।

कस्तो हुनुपर्छ स्थान ?

योग गर्दा शान्त, खुला स्थान बढी उपयोगी हुन्छ । दुर्गन्धित, कोलाहालपूर्ण स्थानमा योग गर्नु राम्रो हुँदैन ।

घरको छत, बगैंचा वा खुला कोठा जहाँ पनि योग गर्न सकिन्छ । योग गर्दा खुकुलो पहिरन लगाउनुपर्छ । योग गर्ने स्थान पनि सजिलो हुनुपर्छ ।

योग गरिरहँदा कुनै पनि उपकरण नजिकै राख्नु हुँदैन । घडी, मोवाइल बोक्नु हुँदैन ।

Sana Kishan

खाली पेट हुनुपर्छ ?

योग गर्नुअघि खाली पेट हुनुपर्छ । कब्जियत छ भने दुईदेखि तीन गिलास पानी पिउनुपर्छ । यसले पेट राम्ररी सफा हुन्छ । यदि तपाई बिहान–बिहान खाली पेट योग गर्न पाइरहनुभएको छैन भने खाना खाएको तीन वा चार घण्टापछि योग गर्नुहोस् ।

कुनै विशेष डाइट ?

योगका लागि डाइटको कुनै शर्त छैन । योग गर्नेहरु शुद्ध शाकाहारी हुनुपर्छ भन्ने पनि छैन । हुन त शाकाहारी भएमा बढी स्वास्थ्य लाभ मिल्छ । यद्यपि मांशाहारीले पनि योग गर्न सक्छन् ।

मासिक धर्म वा गर्भावस्थामा योग गर्न सकिन्छ ?

मासिक धर्म वा गर्भावस्थामा पनि योग गर्न सकिन्छ । यद्यपि यसका केही सीमा छन् । निश्चित आसन छन् । खासगरी गर्भवती महिलाले घोप्टो परेर गरिने आसन गर्नुहुँदैन । सहज योगासन गरिरहँदा कुनै असजिलो भएमा त्यसलाई बन्द गर्नुपर्छ ।

मानसिक रुपले कत्तिको रिल्याक्स हुनुपर्छ ?

योगको मूल नियम हो, कन्सियसनेस अर्थात् सचेतता । योगमा भलै शारीरिक आसन हुन्छ, तर यसको असर भावनात्मक रुपले पर्छ । कन्सियसनेस आवश्यक हुन्छ । किनभने यसले नराम्रो र राम्रो उर्जा एवं विचारको विश्लेषण गर्छ । साथै शरीरको पोस्चर, सासमाथि नियन्त्रण र मानसिक स्थिरताको सही तालमेल बनाउँछ ।

नसक्दा पनि प्रयास गर्नुपर्छ ?

आसन गरिरहँदा शरीरमा कुनै पनि किसिमको अनावश्यक दवाव दिनुहुँदैन । शरीरलाई असहज हुनेगरी वा बलजफ्ती योग गर्नु हुँदैन । किनभने शुरुवाती चरणमा मांसपेशी लचिलो हुँदैन । यस्तो अवस्थामा योग गर्दा विभिन्न समस्या आइपर्न सक्छ । संयमित भएर योग गर्नुपर्छ । योग गरिरहँदा शरीरले सहज अनुभव गर्नुपर्छ ।

योगासन लगत्तै नुहाउन सकिन्छ ?

योग पनि एक किसिमको शारीरिक व्यायाम हो, जसबाट शरीरमा उर्जा प्राप्त हुन्छ । योगलगत्तै नुहाउँदा उर्जा कम हुन्छ । त्यसैले तुरुन्तै नुहाउनु हुँदैन । २० मिनेट अन्तरमा नुहाउन सकिन्छ ।

योगमा सासको प्रक्रिया कति अहम् हुन्छ ?

योग गर्दाका् पहिलो नियम हो भनेकै नाकले सास लिनु हो । योगबाट त्यसबेला बढीभन्दा बढी फाइदा लिन सकिन्छ, जतिबेला आसन र सासको बीचमा तालमेल मिलाइन्छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.