धेरै अभिभावक यस्ता हुन्छन्, जो बच्चालाई आफूले चाहे जस्तै बनाउन खोज्छन्। जस्तो कि हरेक कुरामा पोख्त होस्।
परीक्षामा अरुले भन्दा राम्रो अंक प्राप्त गरोस्। खेलकुदमा पनि उत्कृष्टता हासिल गरोस्। पढाइलेखाइ, नाचगान सबैमा निपूर्ण होस्। समयमा खाने, उठ्ने, सुत्ने, दिसा–पिसाब गर्ने। सबै काम आफूले सोचेजस्तै पूर्ण होस्। तर यस्तो हुन्छ त ?
बुबाआमाले सोचेजस्तै बच्चाको प्रवृत्ति, खुबी, दक्षता, स्वभाव नहुन सक्छ। किनभने हरेक बच्चा आफ्नै जन्मजात गुण लिएर आउँछन्। त्यसैको आधारमा उनीहरुको क्षमता र रुचिहरु पनि निर्धारण हुँदै जान्छन्।
हुन त पारिवारिक वातावरण, अभिभावकत्व, साथीसंगत, शिक्षा–दीक्षाले पनि यस कुरामा प्रभाव पार्छ। यद्यपि बच्चामा जन्मजात जुन गुण हुन्छ, सकेसम्म उनीहरुले त्यसै अनुरूप आफूलाई विकास गर्ने यत्न गर्छन्। त्यसैले त भनिन्छ हरेक बच्चा आफैँमा विशेष हुन्छ।
तर हरेक बच्चालाई हामीले हेर्ने दृष्टिकोण फरक छ। अक्सर हामी अरु बच्चासँग तुलना गरेर वा आफैँले एउटा मानक बनाएर बच्चालाई हेर्ने गर्छौं।
उनीहरुलाई त्यस्तै देख्न चाहन्छौं, जस्तो हामी सोच्छौं । यही कारण कुनैपनि बच्चाले आफ्नो गुण र क्षमता अनुरुप हुर्कने अनुकूलता पाइरहेका हुँदैनन्।
बच्चाको गुण र क्षमता पहिचान गरेर सोही ढंगले उनीहरुलाई हुर्कने वातावरण तय गरिदिनुपर्ने हो। तर हामीले उनीहरुमाथि हस्तक्षेप गर्छौं र आफ्नो रुचि, सोच अनुरुप उनीहरुलाई डोहो¥याउने कोसिस गर्छौं। यसले बच्चाको क्षमता विकास हुने, रचनात्मकता बढ्ने होइन, बरु उनीहरुले दबाब महसुस गर्न थाल्छन्।
प्रायःजसो अभिभावकहरु आफ्ना बच्चाहरुलाई आफ्ना अनेक गतिविधिहरुमा सहभागी गराउँछन्। कहिलेकाहीँ त बच्चाको रुचि हुँदा–नहुँदै पनि उसले आमाबुबाको रुचि अनुरुपका गतिविधिमा सहभागी हुनु पर्ने बाध्यता नै हुन्छ।
यदि तपाईं कुनै कुरा सिक्ने गतिविधिमा सहभागी हुनुहुन्छ र आफ्ना बच्चालाई पनि सहभागी गराउँदै हुनुहुन्छ भने उनीहरुको यसप्रति रुचि छ छैन बुझ्नु आवश्यक छ। यदि रुचि छैन भने बच्चालाई जबर्जस्ती सिकाउनु हुँदैन।
तपाईं घरको ठूलो व्यक्ति भएका कारण सबै निर्णय तपाईं स्वयं लिने अधिकार तपाईंलाई छ। तर आफूले लिएको निर्णयले आफ्ना बच्चाहरुलाई कुनै गुनासो छ कि त्यो पनि बुझ्नु आवश्यक छ।
यदि तपाईंको बच्चा क्रिकेट खेल्न चाहन्छ र तपाईं उसलाई टेनिस खेल्न दबाब दिनुहुन्छ भने तपाईंको यो दबाबले ऊभित्र भित्रै निस्सासिएको अनुभव गर्न थाल्छ।
तपाईं आफ्ना बच्चालाई दबाब दिने कुरा गर्नुहुन्छ ? क्रिकेट म्याचमा यदि तिमीले धेरै रन ल्याएनौं भने कोचले तिमीलाई अर्को म्याचमा राख्दैन ?
साधारण हिसाब त गर्न सकेनौं, गाह्रो झन् कसरी गर्छौं ? जस्ता कुराहरुले तपाईंको बच्चालाई कुनै पनि कुराको लागि एक मात्र मौका छ भन्ने अनुभव गराउनु हो। जुन गलत हो।
तपाईंले आफ्ना बच्चालाई कुनै कुरामा पछि परे अथवा गर्न सकेनन् भने चिन्ता नगर, जीवनमा अगाडि बढ्न अरु पनि धेरै मौकाहरु आउँछन् भनेर सम्झाउनुपर्छ।
आफ्ना बच्चालाई अरुसँग तुलना गरेर तपाईं आफ्नो बच्चाको उपलब्धिहरुलाई कम महत्व दिँदै हुनुहुन्छ र उनीहरुमा प्रतियोगिताको भावना उत्पन्न गराउँदै हुनुहुन्छ। (nayapusta.com बाट सभार)