यस वर्ष औसत मितिभन्दा छिटै मनसुन भित्रिने प्रक्षेपण

मौसमविदहरुले यस वर्ष औसत मितिभन्दा अगाडि नै नेपालमा मनसुन भित्रिने पूर्वानुमान गरेका छन् । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख हो ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘जुन १३ सम्म पुग्दैन । त्यस अगाडि नै यस वर्षको मनसुन सुरु हुने सम्भावना छ ।’

यस वर्षको मनसुनमा नेपालका धेरैजसो स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले गरेका छन् । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

पछिल्लो अवस्थाको मौसमी गतिविधिको विश्लेषण गर्न केही दिनयता दैनिकजसो जल तथा मौसम विज्ञान विभागका मौसमविदहरु छलफलमा जुट्दै आएका छन् । मनसुन आगमनको अवस्थाबारे सोमबार पनि छलफल गरेका उनीहरुले मंगलबार पनि छलफल गर्दैछन् । अहिलेसम्मको छलफलले नेपालमा मनसुनका लागि अनुकूल गतिविधि बढ्दै गएको र जुन १३ अघि नै भित्रिने निष्कर्ष निकालेको हो ।

सन् १९९१ देखि सन् २०२० सम्मको अवधिको आधारमा नेपालमा मनसुन सुरु हुने नयाँ औसत मिति जुन १३ र मनसुन बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरिएको छ । यसअघि जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो ।

पूर्वी नेपालबाट मनसुन भित्रिने र पश्चिम नेपालबाट बाहिरिने गर्दछ । केही दिनयता पूर्वी क्षेत्रतिर मनसुन अनुकुलको वातावरण बन्दै गएकाले पानी पर्ने क्रम जारी छ । सोमबार र मंगलबार पनि पूर्वी नेपालका केही भागमा हल्का पानी परेको थियो । केही दिनयता बादल लाग्ने र हल्का पानी पर्ने गरिरहनुलाई मनसुन सुरु हुने पूर्वसंकेतको रुपमा लिइएको मौसमविद कँडेलले बताइन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । तर बुधबार र बिहीबार भने केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबारसम्म पुग्दा देशभर पूर्ण बदली भई ५ वटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टामा भने पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहे पनि उच्च वर्षाको सम्भावना कम रहेको मौसमी बुलेटिनमा उल्लेख छ । (विनोद घिमिरेले onlinekhabar.com मा लेखेका छन्)

Total
6
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
6
Share