सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको मृत्यु हुन थालेपछि गत शुक्रबार गण्डकी प्रदेशबाट विशेषज्ञसहितको चिकित्सक टोली बारपाक पुगेको थियो । उक्त टोली तीन दिन बसेर फर्किसकेको छ ।

त्यस अवधिमा उनीहरुले १ हजार ३५६ जनाको कोरोना परीक्षण गरे । ९६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भयो भने पीसीआर विधिबाट ३४२ जनामा परीक्षण गर्दा १३० जनामा कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षणका लागि स्वाब दिएका ५० जनाको रिपोर्ट आउन अझै बाँकी छ ।

World Link Ads
Mahakali Polytechnic

संक्रमितको उपचारका लागि बारपाकमा ५ बेडको आइसोलेसन छ । बारपाक स्वास्थ्य चौकीसँगै रहेको आमा समूहको भवनमा ५ बेडको आइसोलेसन तयार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्ट बताउँछन् । उक्त आइसोलेसनमा अक्सिजनको सुविधा पनि छ । आइसोलेसनमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्स एक÷एक जना र स्वास्थ्यचौकीका कर्मचारी खटिएका छन् ।

Dirghayu Ads

‘होम आइसोलेसनमा रहेकाहरुको उपचार र निगरानीका लागि एक÷एक जना हेल्थ असिस्टेन्ट र नर्सिङ स्टाफ खटाएका छौं, घरघरमा गएर उहाँहरुले संक्रमितको अवस्था बुझ्ने, मनोपरामर्श दिने काम गरिरहनुभएको छ,’ भट्टले भने ।

बारपाकमा कोरोना संक्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ । तीन जनाको उपचारको क्रममा स्वास्थ्य संस्थामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए । सात जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।

Sana Kishan

बारपाकीको उपचारमा केही ढिलाइ भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले स्वीकार गरे । ‘एक हप्ता अगावै जानुपर्ने अवस्था रहेछ, परीक्षण गर्न आएका अधिकांशले एक हप्ताअघि ज्यान दुख्ने, खानाको स्वाद नपाउने भनेका थिए,’ उनले भने ।

थप चिकित्सक टोली गएर स्थानीयको उपचारमा ध्यान दिनुपर्ने उनले बताए । ‘झुरुप्प भएको बस्ती छ, संक्रमितहरु आइसोलेट गरेर राख्नुपर्छ, नयाँ केसहरु पत्ता लगाउनुपर्छ, त्यसैले थप स्वास्थ्यकर्मीको टोली केही दिन राखेर त्यहाँ उपचार र निगरानी बढाउनु आवश्यक छ,’ उनले भने ।

प्रदेशबाट थप चिकित्सक टोली खटाइँदै

बारपाकमा प्रदेशबाट थप चिकित्सक टोली खटाउने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पारामेडिक्स, मेडिकल अफिसरसहितको टोली खटाउने निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

‘सम्भवतः उहाँहरु भोलि जानुहुन्छ, कम्तीमा एक हप्ता त्यहाँ बसेर स्वास्थ्य सेवा दिनुहुन्छ,’ उनले भने । अवस्था सामान्य भएपछि उक्त टोली फर्किने उनले बताए । (विकास मरहट्टाले onlinekhabar.com मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.