सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिउँचितुवामा रेडियो कलार जडान

जाजरकोट – शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको प्राविधिक एवं आर्थिक सहयोगमा २०७६÷७७ मा दुई र यही जेठ २ गते दुईवटा हिउँचितुवामा स्याटेलाइट जिपिएस कलार जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो ।

साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्जले जनाएको छ । साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ केजी तौलको अन्दाजी सात वर्षको वयस्क भाले हिउँचितुवाको घाँटीमा जिपिएस कलार जडान गरिएको छ । उक्त हिउँचितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ । त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी छ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन दिइएको छ ।

World Link Ads
Mahakali Polytechnic

स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मङ्गोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्र्याप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ । स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोफाइल तयार गर्न रगतको नमूनासमेत लिइएको छ ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँचितुवाको विचरणको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । हालसम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्यरूपमा आ–आफ्नो बासस्थानमा तीन हजार ६९ मिटरदेखि चार हजार ९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्जले जानकारी दिएको छ । घाङ्ग्री घापी हिउलले सात दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेनले एक दिनमा दुई किमी दूरी पार गरेको छ । यी हिउँचितुवा एक अर्काबाट छ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताइएको छ ।

Sana Kishan

उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहारलगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्याङ्क दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ । हिउँचितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो ।

हिउँचितुवामा स्याटेलाइट कलार जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरु चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

हिउँचितुवा–मानव द्वन्द्व न्युनीकरण, बासस्थान व्यवस्थान, अन्तरदेशीय सहकार्यलगायतका बारेमा समेत अध्ययन हुने बताइएको छ । हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणका लागि मुख्य सवालहरु पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले जनाएको छ । स्याटेलाइट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्गेनबाट प्राप्त ‘जिपिएस लोकेशन’का आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अनुगमन गरिएको छ ।

यसअघि गत वर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँचितुवा ९सामलिङ र जेबोरोङ० मरिसकेका छन् । कलार जडान गरेको छ महिनासम्म मात्र सम्पर्कमा रहेका सामलिङ र जेबोरोङ पछि एकाएक सम्पर्कबाहिर रहेका थिए । सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.