जिल्ला अस्पतालमा उपचाररत फुङलिङ नगरपालिका–७ दोखुकी कोरोना संक्रमित कृष्णमाया गुरुङको शरीरमा अक्सिजनको मात्रा घट्दै गयो । अस्पताल प्रमुख डा. सोनिम लामाले उनलाई आईसीयू र भेन्टिलेटर उपलब्ध हुने अस्पतालमा लैजान सिफारिस गरे ।
कोरोना संक्रमितलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगिँदै। तस्बिर सौजन्य ः राजन गुरुङ
काठमाडौंको केएमसी अस्पतालमा भेन्टिलेटरको बन्दोबस्त मिलाएपछि परिवारले ५ लाख ९० हजार रुपैयाँ खर्चिएर हेलिकप्टर चार्टर गरे । हेलिकप्टर र अस्पतालमा बेड पाउन दुई दिन मिहिनेत गर्नुपरेको छोरी कल्पना गुरुङले बताइन् ।
यसअघि सोमबार फुङलिङ–९ हाङदेवा सिद्धिडाँडाकी ४२ वर्षीया महिलालाई पनि हेलिकप्टरबाटै काठमाडौं लगिएको थियो । उच्च ज्वरो आएपछि अस्पताल ल्याइएकी उनलाई संक्रमण पुष्टि नहुँदै थप उपचारका लागि राजधानी लगिएको हो ।
जिल्लामा एन्टिजेन किट सकिएको र पीसीआर रिपोर्ट आउन तीन÷चार दिन लाग्ने भएकाले अस्पतालले उनको लक्षण अनुसार उपचार सुरु गरेको थियो । अक्सिजनको मात्रा क्रमशः घटेपछि परिवारले सुविधा सम्पन्न अस्पताल लैजाने भए । तर भेन्टिलेटर र आईसीयू पाइने झापा बिर्तामोडका अस्पताल पु¥याउन कम्तीमा आठ घण्टा लाग्ने भएपछि छिटो उपचार होस् भनेर हेलिकप्टर रोजेको परिवारका सदस्य बताउँछन् ।
प्रदेश १ का हिमाली र पहाडी जिल्लाहरूमा आईसीयू र भेन्टिलेटर सुविधा छैन । जसका कारण गम्भीर बिरामीलाई तराईका जिल्ला पु¥याउनुपर्ने बाध्यता छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमजस्ता पहाडी जिल्लाका बिरामीलाई उपचारका लागि झापा, मोरङ, सुनसरीका विभिन्न अस्पताल लगिँदै आएको छ ।
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई त सघन उपचार पाउनै मुस्किल छ । अर्कोतर्फ स्वाब परीक्षणका लागि पनि तराईकै जिल्लाको भर छ । पछिल्लो पटक सघन उपचारको खाँचो हुने संक्रमित बिरामीलाई तत्काल अस्पताल पु¥याउनुपर्ने हुँदा मुख्य विकल्प हेलिकप्टर बनेको हो ।
पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बो आफ्ना जनतालाई कसरी सुरक्षित बनाउने भन्ने पीडा थपिएको बताउँछन् । ‘बिरामीलाई थप उपचारका लागि लामो यात्रा गर्दै एम्बुलेन्समा लैजानुपर्छ, अहिले त हेलिकप्टरमा पनि लानुपर्ने बाध्यता भएको छ,’ आफ्नै भाइ संक्रमित भएर सिकिस्त भएपछि झापा पु¥याएका उनले अनुभव सुनाए, ‘अस्पतालमा कम्तीमा दुई÷तीन लाख रुपैयाँ पहिल्यै डिपोजिट गर्नुपर्छ । एकजना निको हुँदासम्म कम्तीमा सात÷आठ लाख रुपैयाँ सकिने भयो । सर्वसाधारणले कसरी थाम्नु ?’
डा. लामा भने धेरै बिरामी निकै ढिलो भएपछि मात्रै अस्पताल आउने गरेकाले समस्या भएको दाबी गर्छन् । त्यसमाथि गम्भीर बिरामी भए मात्रै रेफर गर्ने गरेको उनले बताए । ‘दैनिकजसो संक्रमित आउनु हुन्छ, होम आइसोलेसनमा बस्नेलाई परामर्श दिएर फलोअप गर्छौं, राख्नुपर्नेलाई उपचार केन्द्रमा राखेर उपचार गर्छौं र अक्सिजनको कमी, सुगर, प्रेसर जस्ता अन्य समस्या भएकालाई रेफर गर्छौं,’ उनले भने ।
(ekantipur.com बाट साभार)