सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी सहित मध्यपहाडी क्षेत्रमा मकै छर्ने चटारो !!

बैतडी –बैतडी जस्ता मध्य पहाडी क्षेत्रमा मकै छर्ने बेला शुरु भएको छ । अहिले किसानहरु मकै छर्ने कार्यमा व्यस्त रहेका छन् । बर्खेबाली मध्ये मुख्यबालीको रुपमा रहेको मकैबाली छर्नका लागि गाउँगाउँमा चटारो शुरु भएको किसानहरुले बताएका छन् ।

यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँ उत्पादनमा कमी भएपनि मकै छर्न भने समयमै पानी परेको छ । जिल्लाका प्रत्येक गाउँका किसान मकै छर्ने कार्यमा व्यस्त भएका पुर्चौंडी नगरपालिका ८का उत्तम बोहराले बताए । उनले भने ‘धेरै जसो ठाउँका किसानहरुले मकै छरीसकेका छन् । केही ठाउँका किसानहरु मकै छर्ने कार्यमा व्यस्त रहेका छन् ।’

धेरै मानिसहरु भारतको रोजगारी गुमाएर घर फर्केपछि अहिले आफ्नै बारीमा कृषि कर्ममा लागिरहेका छन् । बैतडीमा १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मकै उत्पादनमा बढावा दिनका लागि जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम समेत सञ्चालनमा रहेको छ । मकै उत्पादनबाटै किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि परियोजनाले काम गरिरहेको परियोजनाका जेटिए भावना भट्टले बताइन् । उनले भनिन् ‘बैतडी मकैको पकेट क्षेत्र पनि हो । त्यसैले यो क्षेत्रका किसानहरुलाई मकै उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि मकैजोन कार्यक्रम सञ्चालनमा छ ।’

बैतडीका दशरथचन्द नगरपालिका,पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा रहेको छ । ती स्थानीय तहका किसानहरुलाई परियोजनाबाट बीउ, उपकरण लगायतमा सहयोग गर्ने गरिएको जेटिए भट्टले बताइन् ।

मकै लगाउँदा मनकामना, रामपुर कम्पोजीट लगायतका उन्नत जातका मकै लगाउन उपयुक्त हुने जेटीए भट्टले बताइन् । यस्तै मकै लगाउँदा प्रशस्त मात्रामा प्रांगारिक मलको प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिइन् ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.