सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अक्सिजन नपाएर १४ को मृत्यु : अक्सिजनको हाहाकार !!

रुपन्देही — रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालको भर्ना भएका जटिल खालका संक्रमित । तस्बिर ः अमृता अनमोल÷कान्तिपुर
सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन÷प्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातिसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन ।

 

समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरबाट अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ, लिक्विड पनि ल्याइँदै छ ।’ उनले भनेजस्तो तत्काल अक्सिजन व्यवस्थापन भएन ।

World Link Ads
Mahakali Polytechnic

अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालको आकस्मिक कक्ष र एचडीयूमा उपचाररत बिरामीका लागि अक्सिजनको जोहो गर्न नसक्दा मंगलबार राति ४ जना, बुधबार बिहान २ जना र अपराह्न ४ बजेतिर आईसीयूमा उपचाररत पाँच जनाको मृत्यु भएको छ । आकस्मिक कक्ष र एचडीयूमा उपचाररत ५ पुरुष र १ महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिला र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

 

त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो । गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुष, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुष, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुष र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको त्यही दिन राति मृत्यु भएको हो । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।

आईसीयूमा उपचाररत २९, ४४, ५२ र ५९ वर्षका व्यक्तिको मृत्यु भएको हो । तीमध्ये २९ वर्षीय पुरुष बुटवल–११ का हुन् । ती युवकले यही वैशाखमा विवाह गरेका थिए । उनी बिहेपछि कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका थिए । भीम अस्पतालमा मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर–४ की ४४ वर्षीया महिला छन् ।

भीम अस्पतालले अक्सिजनको चरम अभाव झेल्नुपरेको छ । बिहानसम्म अक्सिजन आपूर्ति भएन । त्यसपछि स्वास्थ्यकर्मीले पुराना सिलिन्डरमा बचेको अक्सिजनले केहीबेर धाने । मध्याह्न अक्सिजन आपूर्ति नभएपछि स्वास्थ्यकर्मीले हारगुहार गर्न थाले । अस्पतालमा अक्सिजन लगाएर उपचाररत संक्रमितका आफन्तको रुवाबासी चल्यो । अस्पतालमा उपलब्ध अक्सिजन सकिएको र मौज्दात नभएकाले करिब ८ मिनेट अभाव हुँदा बुधबार बिहान सवा १० बजे ती तीन जनाको मृत्यु भएको हो ।

अक्सिजन नपाएर तीन जनाको मृत्यु भएको विषयलाई अस्पताल प्रशासनले ढाकछोप गर्ने प्रयास गरेको छ । ‘अस्पतालमा अभाव देखेर आफन्तलाई अक्सिजन नपाएर मृत्यु भएको लाग्न सक्छ,’ अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, ‘अक्सिजन सकिनासाथ आइसकेको थियो ।’ अस्पतालमा अक्सिजन अभाव भइरहेको बारेमा आफूले मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन जताततै जानकारी दिएको उनले बताइन् ।

अस्पतालका एक स्वास्थ्यकर्मीले भने ती बिरामीलाई हाइफ्लो अक्सिजन आवश्यक थियो तर नपाएपछि छटपटाउँदै मृत्यु भएको बताए । ‘अक्सिजन सकिएपछि एकछिन त रुवाबासी नै मच्चियो,’ उनले भने, ‘सबै बिरामी स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्न थाले ।’

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अक्सिजन सकिएको र अन्तबाट सापटी ल्याएर जडान गर्दागर्दै उनीहरूको मृत्यु भएको बताए । सकिनासाथ १० वटा सिलिन्डर युनिभर्सल शिक्षण अस्पतालबाट सापटी ल्याइएको उनले जानकारी दिए । ‘बिहान २÷३ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदा अक्सिजन उत्पादन नभएपछि प्लान्टबाट ल्याउन सकिएन,’ ज्ञवालीले भने, ‘यसबारेमा मन्त्रालय, प्रशासन सबैमा जानकारी गराइएको हो ।’ प्लान्टबाट छिटोछिटो अक्सिजन ल्याउनुपर्ने भएपछि अस्पतालबाट ग्यास प्लान्टसम्म अक्सिजन ल्याउन, खाली सिलिन्डर भर्न, लोड–अनलोड गर्न, प्लान्टमा अक्सिजन भर्न लगाउनका लागि मात्रै २०÷२५ जना कर्मचारी खटाउनुपरेको उनले बताए ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि बुधबार अपराह्न ४ बजे हल्लाखल्ला भयो । नर्सले आत्तिँदै फोन गर्न थाले, त्यहाँ भएका अक्सिजन सिलिन्डर हेर्न थाले । आत्तिँदै बिरामीको नजिक जाने, सबैलाई हेर्ने गरिरहेका थिए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालसहित अन्य चिकित्सक र कर्मचारी तुरुन्तै आईसीयू कक्षमा पुगे । अक्सिजन पाइपबाट अक्सिजनको फ्लो बन्द हुन थाल्यो । बिरामी छटपटिन र बेडमै उफ्रिन थाले । मुखमा आवाज नआए पनि पीडाले छटपटिरहेको देखेको उक्त अस्पतालमा कार्यरत एक नर्सले बताइन् । अक्सिजन ठप्प भएपछि स्याँ–स्याँ गर्दै एकपछि अर्का संक्रमितको सास थामियो ।

अस्पतालका अनुसार एकैछिनमा आईसीयूमा रहेका ५ जनाको मृत्यु भयो । आईसीयूमा खटिएकी ती नर्सका अनुसार उनीहरूको मृत्यु भएपछि छेउछाउमा उपचाररत पनि चिच्याउन थाले, आत्तिए, हारगुहार गरिरहे । नर्सहरू सम्झाइरहेका थिए तर उपाय केही थिएन । अक्सिजन सिलिन्डर समयमा जोड्न नपाएपछि बिरामीको एकपछि अर्को मृत्यु भएको ती नर्सले बताइन् । त्यसबेला अस्पतालका मेसु खनालसहित अन्य चिकित्सकले टुलुटुलु हेर्नेबाहेक केही गर्न सकेनन् । घटना सार्वजनिक भएपछि अस्पताल परिसरमा बिरामीका आफन्त जम्मा हुन थाले । भर्ना भएका अन्य बिरामीका आफन्तलाई पनि नर्सले अक्सिजन अभाव भइरहेको जानकारी गराउँदै केही भए जानकारी गराउँछौं भनिरहेका थिए । ‘स्वास्थ्य मन्त्रालय, निर्देशनालय र उपमहानगरपालिकामा अक्सिजन सकिएर ५ जनाको ज्यान गएको जानकारी गराएँ,’ अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले भने, ‘हाम्रो बसमा केही रहेन ।’ आफन्तको रुवाबासी हेर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

Sana Kishan

एचडीयूमा रहेका ३२ बिरामीमध्ये १३ जनाका लागि अक्सिजन छ । त्यसबाहेकका बेडका लागि आफैं सिलिन्डर तयारी राखिएकाले केहीबेरलाई एचडीयूमा समस्या नहुने उनले बताए । बुधबार साँझसम्म आईसीयूका लागि ६ वटा सिलिन्डर आइसकेको र १५ वटा आउने तयारी रहेको उनले बताए । ‘केहीबेरमा फेरि अक्सिजन सकिने, बिरामी आत्तिने, गुहार माग्ने स्थिति दोहोरिन सक्छ,’ उनले भने, ‘त्यस्तो बेला निरीह भएर मृतकको संख्या गन्नेबाहेक अरू उपाय सबै सकिएको छ ।’

पटकपटक सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सम्बन्धित निकायमा अक्सिजन नभए बिरामीको ज्यान जोखिममा छ भन्ने खबर दिइरहँदा पीडाबोध भइरहेको गौतमले बताए । उनका अनुसार बुधबार साँझसम्म आपत्कालीन कक्षमा रहेका बिरामीलाई अक्सिजन चढाउन सक्ने अवस्था छैन ।

अक्सिजनका लागि हारगुहार

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा पनि अक्सिजन अभाव कायम छ । शिक्षण अस्पतालले मंगलबारै सूचना जारी गरेर अक्सिजन अभाव भएको र भर्ना भएका बिरामीको ज्यान जान सक्ने चेतावनी दिएको थियो । शिक्षण अस्पतालले चितवनबाट अक्सिजन मगाएर बुधबार दिउँसोसम्म अभाव टारेको थियो । उक्त अस्पतालले बुधबार दिउँसो पुनः सूचना जारी गरेर अपराह्न ४ बजेपछि अक्सिजन सकिने भएकाले व्यवस्थापन गर्न बिरामीका आफन्तलाई भनेको थियो । अस्पतालले अक्सिजन अभावले मृत्यु भएमा आफूहरू जिम्मेवार नहुने भन्दै बुधबार सबै बिरामीका आफन्तलाई मञ्जुरीनामामा सही गराएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले अक्सिजन सकिँदै गएकाले बिरामीका आफन्तलाई यसबारे जानकारी गराइएको र मञ्जुरी लिइएको बताए ।

स्थानीय उद्योगले केही थान सिलिन्डर उपलब्ध गराएपछि साँझसम्म अक्सिजन आपूर्ति भएको शिक्षण अस्पतालले जनाएको छ । त्यहाँ मंगलबार सिलिन्डर रित्तिएपछि चिकित्सक र नर्सले आत्तिँदै अक्सिजन पाइपलाइन चेक गर्न पठाए । अक्सिजन सकिन थालेको संकेत देखेपछि अस्पताल प्रशासन, चिकित्सक र कर्मचारीले अक्सिजनको जोहो गर्न विभिन्न ठाउँमा फोन गरे । अस्पताललाई नियमित अक्सिजन सप्लाई गर्नुपर्ने जिल्लाका ३ अक्सिजन ग्यास उद्योगले सिलिन्डर आपूर्ति नगरिदिँदा अस्पतालमा समस्या सिर्जना भएको जनसम्पर्क अधिकृत गुरुङले बताए । ‘हामीलाई यहाँको शंकर अक्सिजन प्रालिले १ सय २०, लुम्बिनी अक्सिजन प्रालिले १ सय ५० र एचओ अक्सिजन प्रालिले १ सय ५० सिलिन्डर दिने सम्झौता हो,’ उनले भने, ‘मंगलबारदेखि आयात भएको छैन ।’

समस्या बढेपछि मंगलबार राति नै आफूहरू जिल्ला प्रशासन कार्यालय पुगेको तर केही प्रतिक्रिया नपाएपछि अस्पतालकै पहलमा चितवनबाट २ सय अक्सिजन सिलिन्डर जोहो गरेर मगाउन लागेको उनले बताए । चितवनमा प्रशासनले रोकेपछि झन् तनाव भएको जनाउँदै गुरुङले गृह मन्त्रालयमा फोन गरी गाडी पठाउन भनेपछि बिहान गाडीमा १ सय ९० सिलिन्डर आएको उनले जानकारी दिए । उनका अनुसार राति जिल्ला प्रशासन पुग्दा गेट नखोलिएको र प्रमुख जिल्ला अधिकारीले फोन उठाएका थिएनन् । त्यसपछि शंकर अक्सिजन उद्योग पुगेर ४० वटा सिलिन्डर ल्याएर अस्पताल फर्केको उनले बताए ।

भीम अस्पतालमा पनि सीमित अक्सिजन सिलिन्डर भएकाले बिरामीले आफैं जोहो गर्दै अक्सिजन व्यवस्थापन गरिरहेका छन् । बिरामीका आफन्तले जुटाउँदा पनि जेनतेन चलिरहेको र अभाव कायम रहेको अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताइन् । ‘यसरी फाट्टफुट्ट व्यवस्थापनले कहिलेसम्म धान्ने,’ उनले भनिन्, ‘अभाव भएका बेला बिरामीका आफन्तले हात जोड्दासमेत केही गर्न सकेका छैनौं ।’

बुधबार साँझसम्म अस्पतालमा ४८ बिरामी उपचाररत थिए । उनीहरूका लागि २ सय ५० सिलिन्डर आवश्यक छ तर साँझसम्म ५÷१० वटा सिलिन्डर जम्मा हुने र त्यही बिरामीलाई दिने गरिरहेको उनले बताइन् । जिल्लामा बुधबार अहिलेसम्मकै धेरै ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बुटवल उपमहानगरपालिकाका ३ सय ९५, तिलोत्तमाका १ सय ७४, सिद्धार्थनगरका १ सय २, देवदहका ८७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा १६ जनाले ज्यान गुमाएका छन् । बुधबारसम्म जिल्लामा ७ हजार २ जना सक्रिय संक्रमित रहेका छन् ।

हेलिकप्टरबाट ४० सिलिन्डर

अक्सिजन हाहाकार भएर संक्रमितको मृत्यु हुन थालेपछि तत्काल राहत पु¥याउने उद्देश्यले बुधबार साँझ ‘एयरलिफ्ट’ गरेर ४० थान सिलिन्डर ल्याइएको छ । सिमरा र भरतपुरबाट जम्मा गरेर साँझ साढे ७ बजे नेपाली सेनाको हेलिकप्टरमा सिलिन्डर ल्याइएको हो । केन्द्रीय कोभिड संकट व्यवस्थापन केन्द्रसमक्ष जिल्ला सुरक्षा समिति रूपन्देहीले अक्सिजन उपलब्ध गराइदिन माग गरिएपछि सिमरा र भरतपुरबाट अक्सिजन ल्याइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

विराटनगरबाट ल्याउने भनिएको अक्सिजन राति भएकाले सम्भव नभएको उनले बताए । उनका अनुसार ती सिलिन्डरमध्ये अधिकांश बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्पताल लगिएको छ । त्यहाँ बुधबार बिहान र अपराह्न गरी ११ जनाको अक्सिजन अभावमा मृत्यु भएको थियो । त्यहाँ अहिले पनि १ सय १६ जना अक्सिजन चढाउनुपर्ने बिरामी छन् ।

भैरहवाको भीम अस्पतालमा पनि ७० भन्दा धेरै बिरामीले अक्सिजन लिइरहेका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले अक्सिजन अभाव हुन नदिन भारतबाट लिक्विड अक्सिजन आयात गर्न लागिएको र बिहीबार जिल्लामा आइपुग्ने बताए ।

 

(ekantipur.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.