सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बहुमतको सरकार गठनको आज अन्तिम दिन, नजर माधव नेपाल पक्षतिर !!

दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन ।

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।

कांग्रेस नेता एनपी साउदले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालीरहेको र सभापति शेरबहादुर देउवाले माधव नेपाल पक्षका नेताहरुसँग छलफल जारी राखेको बताए । नेता साउदले अनलाइनखबरसँग भने, ‘हामी सबै पक्षलाई मिलाएर अघि बढ्न चाहन्छौं यसैक्रममा एमालेभित्रको उत्पीडित र असन्तुष्ट पक्षसँग पनि हाम्रो छलफल भइरहेको छ ।’

World Link Ads
Mahakali Polytechnic

यद्यपि नयाँ सत्ता समीकरण बन्ने गरी प्रगति नभइसकेको उनले स्वीकार गरे । नेता साउदले भने, ‘जसपाले एक ढिक्का भएर निर्णय गरिसकेको छैन । यहीबीचमा डा. बाबुराम भट्टराईको पछिल्लो धारणालाई संशय पैदा गरेको छ ।’ डा. भट्टराईले पूर्व र बहालवाला प्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने धारणा ट्वीटरमार्फत् सार्वजनिक गरेका थिए ।

दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

तर ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । विपक्षीको अहिले अहिलेसम्मको स्थितिलाई हेर्दा ओलीको पक्षमा विश्वासको मत पुग्ने देखिंदैन । संसदमा कसैको पनि बहुमत नपुग्ने स्थिति आएमा संसद विघटन गरी देश पुनः चुनावमा धकेलिने नेताहरु बताउँछन् ।

बहुमतको सरकार बन्ने एउटा सम्भावना

Sana Kishan

बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना एमालेको विभाजन हो । ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ ।

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ ।

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने चर्चा चलेको थियो । यद्यपि उनीहरुले तत्कालको अवस्थामा संसदमा अनुपस्थित भएर ओलीलाई असहयोग गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार एमालेको माधव नेपाल पक्षका २८ सांसदहरु संसदमा अनुपस्थित भएका थिए । विश्वासको मतमा मतदान गर्ने बेलामा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षकाले विपक्षमा मतदान गरेका थिए । कांग्रेस र माओवादी केन्द्र पनि विपक्षमै उभिएका थिए ।

गत सोमवार प्रधानमन्त्री ओलीको विश्वासको मतमा ९३ मत र उनको विपक्षमा १२४ मत आएको थियो । संसदमा तत्काल कायम संख्याको आधारमा बहुमत प्राप्त गर्न १३६ मत ओलीलाई आवश्यक थियो । तर ओलीले विश्वासको मत पाउन सकेनन् र सरकार कामचलाउमा परिणत भएको छ ।

गत सोमबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि तीन दिनको समयसीमा दिएकी थिइन्, जुन वैशाख ३० गते सकिंदै छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.