सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना संक्रमण तीव्र रूपमा बढ्यो, बेड अभाव भएपछि भुइँमै उपचार !!

महेन्द्रनगर-  कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ।

दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्काे व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पु¥याएर बिरामीको उपचार गरिरहेको बताए। तर, बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ?’, ओलीले भने, ‘प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुप¥यो।’

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार सल्यान, प्यूठान, रुकुम, दाङलगायत जिल्लाका बिरामी आउने गरेका छन्। बेड छैनभन्दा गेटमा धर्ना दिने गरेको उनको भनाइ छ। उनले अस्पताललाई तत्काल ‘फुल फेज’मा चलाउनुपर्ने बताए। ‘बिरामी कहाँ राख्ने हो ? त्यसतर्फ ध्यान दिऊँ’, उनले भने, ‘अस्पताल पुगेको संक्रमितलाई उपचार गर्ने वातावरण बनाऊँ।’

पहिलो चरणको कोभिडमा सय बेडमा सञ्चालन भएको यो अस्पताल पछिल्लो समय २५ बेडमा सीमित थियो। ‘अहिले २५ बेडमा अस्पताल सञ्चालन भइरहेको छ’, उनले भने, ‘अस्पतालमा ३८ बेड बनाएर बिरामी राख्दा पनि थप बिरामीको उपचार गर्न समस्या भएको छ।’

जनस्वास्थ्य निरीक्षक विमल केसीले कोरोना संक्रमण समुदायस्तरमा अत्यधिक रूपमा बढेको बताए। ‘कोरोना समुदाय स्तरमा पुगेको छ,। अस्पताल भरिभराउ भएका छन्। होटल आइसोलेसनको रूपमा सञ्चालन भइरहेका छन्’, उनले भने। अब तत्काल अस्पतालको क्षमता विकास गरिनुपर्ने बताए। दाङमा सक्रिय संक्रमितको सख्या ३ सय नाघेको छ।

९ दिनमै १६ सय संक्रमित
बाँकेमा पछिल्लो नौ दिनमा १ हजार ६ सय ८९ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार जिल्लाको कुल संक्रमित ६ हजार १ सय ९६ को २७.२५ प्रतिशत हो। यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। जिल्लामा ६८ जनाको ज्यान गएकोमा २३.५२ प्रतिशत मृत्यु त वैशाख मै भएको हो।

Sana Kishan

जिल्लामा सबैभन्दा बढी संक्रमित नेपालगन्ज उपमहानगरपालिकामा छन्। बाँकेमा सक्रिय संक्रमित १ हजार ३ सय १८ छन्। नेपालगन्जमा सक्रिय संक्रमितको संख्या बढ्दो दरमा रहेकाले ७ दिन निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। ‘निषेधाज्ञाको पहिलो दिन नेपालगन्ज बजार ठप्प भयो। सर्वसाधारणलाई अत्यावश्यक सामान खरिद गर्न बिहान ९ बजेसम्म छुट दिइएको छ। त्यसपछि भने कडाइ गरिएको छ’, प्रजिअ गेलालले भने, ‘बिहीबार बिहान र साँझ परीक्षाले पनि अलि चहलपहल जस्तो देखियो। बिरामीको बहानामा पनि केही बजारमा डुलेको सूचना आए। सर्वसाधारणलाई कोरोनाबाट जोगाउन निषेधाज्ञा जारी गरिएको हो। आफ्नो सुरक्षाका लागि जनता आफैं पनि सचेत हुन जरुरी छ।’

आफ्नो स्वास्थ्यको ख्याल आफैं गरौं !
सुदूरपश्चिम प्रदेशमा पछिल्ला १० दिनमा पीसीआर परीक्षणमै कोरोना संक्रमण सात गुणाले बढेको छ। कोरोना संक्रमितको संख्या अप्रिल ५ देखि ११ सम्म ४९ मात्रै थियो। बुधबारसम्म ३ सय ७० जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ। निर्देशनालयकै तथ्यांकअनुसार चैत १७ गतेयता सीमा नाकाहरूमा एन्टिजेन परीक्षणबाट १ हजार ६८ जनामा कोरोना पोजिटिभ देखिएको छ। कोरोना फैलावट तीव्र भए पनि सतर्कता भने देखिएको छैन। जिल्ला प्रशासन कार्यालयले भीडभाड नर्गन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे पनि कडाइका साथ पालना हुन सकेको छैन।

‘एन्टिजेन परीक्षणमा चारवटा नाकामा स्वास्थ्यकर्मी खटाएका छौं। बिरामी १०औं गुणा बढिरहेका छन्। अस्पतालमा स्वास्थ्यकर्मीहरू पनि संक्रमित भएका छन्। आइसोलेसन सेन्टरहरूमा स्वास्थ्यकर्मीको अभाव छ’, सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘यस्तो बेला पनि न्यून जनशक्तिमा हामी खटिएका छौं। घरको अवस्थाका बारेमा खासै अनुगमन हुन सकेको छैन। अब स्वयंले आफ्नो स्वास्थ्यको ख्याल गर्ने हो।’

यो अवधिमा कैलाली र कञ्चनपुरसँग सीमाना जोडिएको गौरीफन्टा नाकामा सबैभन्दा बढी कोरोनाका बिरामी पुष्टि भएका छन्। यो नाकामा चैत ३ गते हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण सुरु भएको थियो। ‘गौरीफन्टा नाकामा भारतबाट फर्केर आएका ११ हजार ३ सय ६८ जनाको एन्टिजेन परीक्षणमा ८ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ’, सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने।

कञ्चनपुरको गड्डाचौकीमा ३ हजार ८ सय ८६ जनाको परीक्षण गर्दा १ सय ८९, बैतडीको झुलाघाटमा ४ सय ९० जनाको परीक्षण गर्दा २१ र दार्चुलाको पुलघाटमा ४१ जनाको परीक्षण गर्दा एक जना गरी १ हजार ६८ जनामा कोरोना पोजेटीभ देखिएको हो। मन्त्रालयका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लाका अस्पतालमा ७५ जनाको उपचार भइरहेको छ। यी लक्षण देखिएका गम्भरी प्रकृतिका बिरामी हुन्। एन्टिजेन परीक्षण गरेर घरमा आइसोलेसन बस्न नसक्ने १ सय ७० जना विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन्।

कैलालीमा चैत र वैशाखमा पीसीआर र एन्टिजेन परीक्षणमा पोजेटिभ आएकाहरूको संख्या १४ सयभन्दा बढी छ। पीसीआरमा पोजेटिभ आएका तर लक्षण नभएकालाई घरमै आइसोलेसन बस्न भनेर पठाइएको छ। नाकामा एन्टिजेन पोजेटिभ आएकाहरूलाई पहिलो पटक नजिकको आइसोलेसन सेन्टरमा भर्ना गरिने र त्यसपछि बिरामीले आफैं गाडीको व्यवस्था गरे होम आइसोलेसन भनेर पठाउने गरिएको छ। धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा बनाइएको आइसोलेसनमा बिहीबारसम्म ३८ जना बसेका छन्। कञ्चनपुरको महाकाली अस्पताल र आईसीएचको आइसोलेसनमा ५० जना आइसोलेसनमा छन्। यीबाहेक १३ सय जनालाई होम आइसोलेसनका लागि भनेर घर पठाइएको छ। तर, उनीहरूको अवस्था के छ ? घरमा कत्तिको स्वास्थ्यका मापदण्ड पु¥याइएको छ ? छिमेकमा निस्केको छ कि छैन ? उपचारको अवस्था के छ ? अस्पताल कसरी आउने ? कुन चिकित्सकलाई सम्पर्क गर्ने ? स्थानीयमा संक्रमण हुने खतरा कत्तिको छ ? यसमा कुनै पनि निकायको ध्यानजान सकेको छैन।

 

(अन्नपूर्ण पोष्टबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.