काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन ’झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन्।
’निजामति प्रशासन अझैं ’झिंगे टसाई’ सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने,’ यसलाई विराशत पाउन नसकेको भनिएता पनि समयको गतिसँगै प्रशासन परिवर्तन हुन सकेन।’
निजामति प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिएको उनको भनाइ छ। ’हामी परिणामभन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोशिस गरिरहेका छौं। जसले एउटा विडम्बना परिणाम हाम्रो अगाडि निरन्तर लिइरहेको छ। बढ्ने भन्दा पनि अड्ने कुरामा ध्यान दिएजस्तो लाग्छ,’ उनले भने।
प्रशासन क्षेत्रमा देखिएका कमिकमजोरी हटाउनका लागि कर्मचारीतन्त्रमा समयसापेक्ष हुनेगरी सोच परिवर्तन हुनुपर्नेमा उनले जोड दिए। ’देखिएको परिवर्तनको व्यवस्थापन हामीले गर्नैपर्छ। प्रशासन प्रणालीलाई सुदृढ र सवल बनाउने मुल जिम्मेवारी निजामति प्रशासनको काँधमा छ,’ उनले भने,’ निजमति प्रशासनलाई सक्षम तथा नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाएको अवस्थामा मात्र उक्त जिम्मेवारी र दायित्व पूरा हुनसक्छ।’
उनले संवेदनशील भएर काम गर्नुपर्ने औंल्याए। निजामति प्रशासनभित्र प्रवेश गर्ने चाहनेहरुको आकर्षण र यसले प्रवाहका गर्ने सेवाको प्रभावकारिताउपर आमनागरिकहरुले धेरै विश्वास गर्न नसकेको अवस्थालाई संवेदनशील भएर सबैले हेर्नुपर्ने बताए।
उपप्रधानमन्त्री पोखरेलले लोकतन्त्रलाई जनताको घरदैलोसम्म पु¥याउने जिम्मेवारी कर्मचारीतन्त्रको भएको बताए। उनले भने,’ जनताको घरदैलोमा पुगेको प्रशासनले मात्र सुशासनको अनुभूति दिनसक्छ भन्ने कुरा हामी सबैले विश्वास गर्छौं।’ (annapurnapost बाट सभार)