कञ्चनपुर – चैत-वैशाखमा बर्सेनि डढेलो लाग्नु नौलो होइन तर यसपटक फैलिएको डढेलोलाई संरक्षणकर्मीले धेरै क्षति पु¥याउने देखिएको बताएका छन् ।
शक्लाफाँटा राष्ट्रिय निकञ्जको अर्जनी घाँसे मैदानमा नियन्त्रित रुपमा आगो लगाइएको क्षेत्र । तस्बिर ः भवानी भट्ट÷कान्तिपुर
हिउँदमा पर्याप्त वर्षा नभई लामो समयदेखिको खडेरीले जताततै सुक्खा छ । वन क्षेत्रमा लागेको डढेलो फैलिँदै गएको छ । तराई र चुरे क्षेत्रमा डढेलोले वन क्षेत्रको ठूलो भाग सखाप हुन पुगेको छ ।
डिभिजन वन कार्यालयका अनुसार कञ्चनपुर जिल्लामा अहिले दुई दर्जन बढी स्थानमा डढेलो लागेको छ । लालझाडी संरक्षित क्षेत्रसँगै चुरे क्षेत्रमा बढी डढेलो लागेको हो । लालझाडीमा दमकल प्रयोग गरेर नियन्त्रण गरिए पनि चुरे क्षेत्रमा भौगोलिक कठिनाइका कारण नियन्त्रणमा समस्या देखिएको छ ।
‘सिद्धसरोवर तालदेखि गैरी खान र रौटेला खोलासम्मै तीन÷चार दिनदेखि ठूलो डढेलो लागेको छ,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘ब्रह्मदेवको ताराकोट र बुकीताल क्षेत्रमा पनि ठुलै डढेलो लागेको छ ।’ उनका अनुसार नेपाली सेना र स्थानीयवासीबाट नियन्त्रणको प्रयास भए पनि सफल हुन सकेको छैन ।
धेरैतिर एकैपटक डढेलो लागेकाले नियन्त्रणमा लिन गाह्रो भएको जिल्ला वन कार्यालय कञ्चनपुरका रेन्जर शिवराज अवस्थीले बताए । ‘तराईमा नियन्त्रण गरे पनि चुरेमा निकै गाह्रो भएको छ,’ उनले भने । उनका अनुसार चुरेमा ब्रह्मदेव, वेदकोट, शुक्लाफाँटा र कृष्णपुरको उत्तरी क्षेत्रमा डढेलो ठूलो भूभागमा फैलिएको छ ।
‘चुरेमा त फेदीबाट सुरु भएको डढेलो डडेलधुराको सीमासम्मै पुगेको छ,’ अवस्थीले भने, ‘त्यहाँ पुग्नै गाह्रो छ, नियन्त्रण गर्न सकिने अवस्था छैन ।’ निभाएका ठाउँमा पुनः डढेलो लागिरहेकाले झनै जोखिम बढाएको छ । एकातर्फ नियन्त्रण गरे अर्काे तर्फबाट पुनः डढेलो सुरु हुने गरेको छ ।
लालझाडीमा एक दर्जन बढी क्षेत्रमा डढेलो लागेको छ । चुरे क्षेत्रमा पनि त्यतिकै ठाउँमा डढेलो लागेको छ । तराई र चुरे दुवै क्षेत्रमा गरी डेढ सय हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भएको छ । रुख र बुट्यान कति नष्ट भए, त्यसको कुनै विवरण संकलन हुन सकेको छैन ।
डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारीसमेत भर्ना गरेको छ । वन क्षेत्रमा अग्निरेखा पनि बनाएको छ । ‘फाटफुट चैत पहिलो हप्तादेखि नै डढेलो देखिएको हो,’ रेन्जर अवस्थीले भने, ‘दोस्रो हप्तादेखि त ठुलै क्षति गर्न थाल्यो ।’ उनका अनुसार लालझाडी क्षेत्रमा वनसँगै जोडिएको बस्तीमा समेत डढेलो पस्ने जोखिम देखिन्छ । सामुदायिक वनका उपभोक्ता, अग्नि नियन्त्रण दलका कर्मचारी र सुरक्षाकर्मीसमेत डढेलो नियन्त्रणका लागि परिचालन गरिएको छ ।
(ekantipur.com बाट साभार)