मार्क्सको खेती
तल-तल तहखाना बनायो
वेश्यालय चलायो
माथि-माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश
क्या गजब भो देश
मुलुकको मुखिया पनि आफैँ
वेश्यालयको दलाल पनि आफैँ
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश।
तल-तल तहखाना बनायो
रामनामी चलायो
माथि-माथि हँसिया-हथौडा बनायो
मार्क्सवाद चलायो
क्या गजबको देश
क्या गजब भो देश
रामको हनुमान पनि आफैँ
मार्क्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
तल-तल तहखाना बनायो
लेन्डुपवाद चलायो
माथि-माथि भीमसेनको मृर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश
क्या गजब भो देश
लेन्डुप पनि आफैँ
भीमसेन पनि आफैँ
भीमसेन र लेन्डुपको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
तल-तल तहखाना बनायो
पुँजीवाद चलायो
माथि-माथि हँसिया- हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश
क्या गजब भो देश
सर्वहाराको मार्क्स पनि आफैँ
पुँजीवादको मार्सल पनि आफैँ
मार्क्स र मार्सलको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
गान्धारीको पट्टी खुल्ने
एक दिन होला देश।
-निभा शाह