बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भरत महरामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ । अभद्र व्यवहार गरेको जाहेरी आएपछि प्रहरीले सोमबार अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दोगडाकेदार गाउँपालिका वडा नं ६ की एक एकल महिलाको घरमा शंकास्पद रुपमा भेटिएको भन्दै गएको बिहीबार राती स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । तिनै महिलासंग यही चैत ५ गते एक होटेलमा भेटिएको भन्दै वडा अध्यक्ष महरालाई प्रहरीले पक्राउ समेत गरेको थियो । त्यो बेला उहाँकी श्रीमतिले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि सहमतिमा वडा अध्यक्षलाई छोेडेको थियो ।
त्यसको एकसाता नबित्दै उनै महिलासंग फेरी वडा अध्यक्ष भेटिएको भन्दै स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएको शुक्रबार नै वडा अध्यक्ष महरा र ती महिलालाई नियन्त्रणमा लिएको भएपनि जाहेरी भने सोमबार दर्ता भएको हो । दुवै जनामाथि अभद्र व्यवहारमा जाहेरी दर्ता भएकाले सोही अनुसार प्रहरीले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
(निङ्गलाशैनीबाट साभार)