कोरोना भाईरसको दोश्रो लहर फैलिन सक्ने भन्दै भीडभाड नगर्न सरकारले आग्रह गरेसंगै गाउँघर होलीको रौनक हराएको छ । कोरोना भाईरसको जोखिमका कारण गत बर्षदेखि होली पर्वको खासै रौनक नभएको बैतडीका स्थानीयहरुले बताएका छन् । विभिन्न क्लब, विद्यालय र समूहले होली खेल्ने गरेको भएपनि यो बर्ष होली खेल्न नपाएको दोगडाकेदार ७ का प्रकाश भट्टले बताउनुभयो ।
होलीको समयमा भीडभाड हुने र स्थानीय प्रशासनले भीडभाड नगर्न भनेपछि होली नखेलेको उहाँले बताउनुभयो । होलीको समयमा गाउँघर शहर बजार गुञ्जायमान र रंगीन हुने भएपनि कोरोना कहरका कारण यो बर्ष सुनसान जस्तै
भएको छ । भीडभाड गर्दा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले सूचना निकालेर होली नखेल्न यसअघि नै आग्रह गरिसकेको छ । फाट्टफुट्ट रुपमा कहिँकतै होली खेलेको भएपनि अरु बर्षको जस्तो रौनक नभएका शिक्षक जयराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘होलीको समयमा गाउँघरमा रमाइलो हुन्थ्यो । तर यो बर्ष भने खास रमाइलो छैन् । जताततै सुनसान छ ।’
होलीको समयमा गाउँघरमा रमाइलो हुने भएपनि यो बर्ष रौनक नभएको सुर्नया ६ का केशवराज अवस्थीले बताउनुभयो । कोरोना भाईरसको जोखिमका कारण होलीपर्वमा रौनक नभएको उहाँले बताउनुभयो ।
होली पर्वमा होली गाउनुका साथै एकअर्कालाई रंग छ्यापेर मनाउने गरिन्छ । होलीलाई रंगको पर्व समेत भनिन्छ । परापूर्व कालमा भगवान विष्णुका परम भक्त प्रल्हादलाई उहाँकी फुपु होलिकाले आगोमा भष्म गराउन खोज्दा होलिका आँफै भष्म भएको अवसरमा होली पर्व मनाउने गरिएको हो । फागुन शुक्ल पूर्णिमाका दिन होली पर्वको समापन गरिने भएपनि फागुन शुक्ल अष्टमीबाटै होली खेलेर मनाउने चलन रही आएको छ । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)