सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अपराध गर्न दोहोरो नागरिकता !!

विराटनगरः आपराधिक क्रियाकलापमा संलग्न भारतीय गिरोहले नेपाली नागरिकता लिएर अवैध धन्धा चलाउने गरेको पाइएको छ ।

खुल्ला सीमाका कारण भारतीय सीमावर्ती क्षेत्र सहित आसपासका भारतीय अपराधीहरुले नेपाली नागरिकता बनाएर नेपालमा आपराधिक क्रियाकलाप गर्ने गरेको रहस्य खुलेको हो।

मंसिर १९ गते सुनसरीको धरानमा राजकुमार सिंह ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए । सुनसरीको धरानबाट ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका सिंह सप्तरीको तत्कालिन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएको हो ।

World Link Ads
Mahakali Polytechnic

सिंह भारतीय नागरिक हुन् । र भारतमा पनि उनको आपराधिक पृष्ठभुमि नै रहेको अनुसन्धानबाट खुलेको हो । इलाका प्रहरी कार्यालय धरानले बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

बिहारको भीमनगरका स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेको हो । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह रहेको उल्लेख छ ।

पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारी चालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो ।

नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालिन पकरी गाविस वडा नम्बर २ छ ।

तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रसासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ । जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रसाशकीय अधिकृत आनन्दकुमार ठाकुरले २÷०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको बताए ।

सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालीन पकरी गाविस २ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एक जना पनि नरहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भीमनगर पञ्चायतका बासिन्दा रहेको समेत खुलेको छ । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी छ ।

त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख छ । उनको रासन कार्ड नम्बर १०२०८०११०२२२०८७६००००१९५१ भएको बुझिएको छ । भारतमा अझै नागरिक रहे पनि उनले नेपालबाट किर्ते नागरिकता लिइ नेपाल–भारत सीमा क्षेत्रमा विभिन्न गैरकानुनि गतिविधिमा संलग्न रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

बिहार भीमनगरका स्थायी बासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेको खुलासा भएको छ । नेपाल प्रवेश गरी उनले किर्ते नेपाली नागरिकता बनाएका नेपालमै दोश्रो विवाह समेत गरेका छन् ।

भण्डाबारीका पौडेल थरकी महिलासँग विवाह गरेका सिङ सुनसरीको इनरुवालाई पछिल्लो पटक कर्मभुमि बनाएका थिए । सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसाय समेत गर्दै आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन् ।

उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दै नेपालमा करौडौँको सम्पति नेपालमा जोडेको समेत खुलेको छ । सप्तरीबाट नागरिकता जारी भएको देखिएकोले सप्तरी प्रहरीले नागरिकतासमबन्धी अनुसन्धान गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले उनको नागरिकता शंका लागेर आवश्यक अनुसन्धान गर्ने बताए ।

सिंहको ड्राईभिङ लाइसेन्स, नागरिकतालगायत कागजातहरुको प्रारम्भीक अनुसन्धानबाट उनी नेपाली नागरिक नै भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनको नागरिकतामा सप्तरीको तात्कालिन पकरी गाविस–२ भनी ठेगाना देखिएपछि त्यसबारे खोजी थाल्दा सिंहको नागरिकता नै किर्ते रहेको रहस्य खुल्न आएको बताइएको छ ।

पछिल्लो समय पूर्वी नेपालको झापादेखि सुनसरी सप्तरी हुँदै पश्चिमको नेपालगञ्ज सम्ममा ब्राउन सुगरसहित धमाधमा अभियुक्तहरु पक्राउ परिरहेका घटनाहरुले समेत ब्राउन सुगरको कारोवारमा भारतीय नागरिकहरुको कनेक्शन र संगठित संजाल नै रहेको तथ्य समेत प्रहरी अनुसन्धानहरुबाट खुलेको छ ।

Sana Kishan

आफ्नो देशमा अपराध गरी त्यहाँका प्रहरी प्रशासनलाई छलेर नेपाल प्रवेश गरेको तथा किर्ते नेपाली नागरिकता लिएर नेपालमा गैर कानुनी गतिविधि गर्ने आरोपमा पक्राउ परेकाहरुको सूचीमा पछिल्लो पटक भारत बिहारको भीमनगर निवासी राजकुमार सिंहको नाम पनि जोडिएको छ ।

यसअघि कुख्यात बंगलादेशी आतंकी सुब्रत बेन, भारतीय अपराधी धिरेन्द्र यादव, सुभाष झा, बमबम यादव लगायत यसरी नै नेपालमा पक्राउ परेका थिए।

नेपाल प्रहरीका उच्च अधिकारीहरुको भनाइ अनुसार ब्राउन सुगरको कारोबार भारतमै हुने गरेको तथा नेपालतर्फ यसको प्रयोगकर्ता मात्रै रहेको तथ्य स्पष्ट हुन्छ । गाँजा, चरेसको कारोबारी नेपालमा हुने तथा प्रयोगकर्ताहरु भारत तिर हुने गर्छन् । अर्थात् गाँजा चरेस नेपालबाट भारततर्फ तस्करी हुने र ब्राउन सुगरको कारोबार भारतमा हुने तथा त्यसको प्रयोगकर्ता नेपालमा हुने भएकोले भारतबाट नेपालमा ब्राउन सुगर भित्रयाउने खेल खुला सिमानामार्फत भइरहेको छ ।

यस कार्यमा अधिकांश भारतीयहरु नै ठूलो कारोवारीको रुपमा सीमा क्षेत्रमा सक्रिय रहेको तथा भरियाका रुपमा नेपालीहरुलाई प्रयोग गर्ने गरेको स्रोत बताउँछ । ब्राउन सुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंह पनि त्यस्तै कारोवारमा संलग्न रहेको प्रहरी स्रोतको दावी छ । सिंहको किर्ते नेपाली नागरिकता, किर्ते नागरिकताकै आधारमा उनले सुनसरीको इनरुवामा संचालन गरेको कपडा पसल र सिंहको नाममा नेपालमा रहेको करौडौको अकुत सम्पत्ति विवरणले समेत ब्राउन सुगर कारोबारमा सिंहको संलग्नता पुरानै रहेको भनि पुष्टि गर्ने आधार रहेको समाचार स्रोतले जनाएको छ ।

यसअघि ०७३ साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट समातिएका भारतीय नागरिक रईस मियाँसँग मोहम्मद मुस्तकिमको नाममा नेपाली राहदानी फेला परेको थियो । मियाँमाथि सप्तरी र सुनसरी गरी सात जनाको हत्यामा संलग्न रहेको आरोप छ । अनुसन्धान गर्दै जाँदा अभियुक्तको साथबाट तीन थान छुट्टा छुट्टै राहदानीहरु फेला परेका थिए । ती राहदानीहरुमा सप्तरी, सुनसरी र सिराहा जिल्लाको ठेगाना देखिएको थियो ।

कुनै बेला ईन्टरपोलबाट रेड कर्नर नोटिस जारी रहेका बंगलादेशी आतंकी सुब्रत बेन नेपालमा असरफ अलि अन्सारीको नामबाट नागरिकता र राहदानी लिएका थिए । सुनसरीको सिमरिया–५ बाट नेपाली नागरिकता लिएका बेन बंगलादेशका ‘कुख्यात’ अपराधी हुन् ।

सन् २००८ मा बंगलादेश सरकारले भारत सरकारलाई बुझाएको आफ्नो मुलुकका २३ कुख्यातहरुको सूचीमा बेनको नाम समेत रहेको थियो । बेनमाथि हत्या हिंसाका दर्जनौँ मुद्दा छ । अन्तर्राष्ट्रिय आतंकी संगठनहरुसँग समेत बेनको साँठगाँठ रहेको आरोप छ ।

सन् २००५ मा बंगलादेशको ढाकास्थित बंगबन्धु एभेन्यूमा आयोजित एक ¥यालीमा ग्रिनेड हमला गरेको आरोपमा बंगलादेशका सुरक्षा निकायले बेनलाई मस्टवाण्टेड सुचीमा राखेका हुन् । उनीमाथि १५ लाख रुपैयाँको इनाम समेत बंगलादेश सरकारले घोषणा गरेका थिए । झुम्का कारागार तोडेर फरार भएका बेन त्यसको एक महिना पनि नबित्दै भारतको कलकत्तामा फक्राउ परेका थिए ।

बेनसँगै झुम्का जेलबाट भाग्न सफल भएका भारतीय कुख्यात अपराधी धिरेन्द्र यादव सप्तरी र सुनसरीको छुट्टा–छुट्टै दुई गाविसबाट फरक–फरक नाममा नेपाली नागरिकता लिएका छन् । नेपाली भूमीमा बसेर अपराधिक क्रियाकलाप गर्न सजिलै हुने दृष्टिले नेपालका दुई जिल्लाबाट उनले नेपाली नागरिकता लिएका हुन् ।

भारतको बिहार राज्यअन्तर्गत पर्ने सुपौल जिल्लाको चिकनीपट्टी निवासी यादवले १२ फागुन २०६७ मा खटिएको नागरिकता टोलीबाट सप्तरीको वभनगामा कट्टी गाविस–२ र सुनसरीको पश्चिम कुशाहा गाविस–१ बाट गरी दुई वटा नेपाली नागरिकता लिएका छन् । यादवले सप्तरी बभनगामा कट्टी–२ निवासी शंकर यादवलाई बुवा मानेर महावीर यादवको नामबाट नेपाली नागरिकता लिएका छन् भने सुनसरीको पश्चिम कुशाहा–१ निवासी महेश यादवको नामबाट नागरिकता लिएका हुन् ।

धिरेन्द्र उपर फरबिसगञ्जको गोल्छा हत्या काण्ड, राघोपुरको विपिन चौधरी हत्याकाण्ड लगायत २३ वटा आपराधिक मुद्दाहरु भारतमा छन् । नेपालमा भने कृषि विकास बैंक राजविराजका तत्कालिन प्रबन्धक विक्रमप्रसाद साहको हत्या तथा ३० लाख लुटपाट गरेको आरोपमा उनी जेल चलान भएका थिए । सन् २००८ मा नेपाल प्रहरीले सुनसरीको इटहरीस्थित रोयल रिसोर्टबाट धिरेन्द्रलाई पक्राउ गरेको थियो ।

हत्या, अपहरण, लुटपाल, फिरौतिलगायत मुद्दामा भारतीय प्रहरीको दवाव थेग्न नसकेर नेपाल छिरेका उनी सुनसरीको हरिपुर गाविसबाट हरिशचन्द्र झाको नाममा नेपाली नागरिकता प्राप्त गरे । नक्कली नागरिकताकै मुद्दामा झुम्का कारागारमा रहेका झा सुब्रत बेन, धिरेन्द्र यादव लगायतहरुसँग भाग्न सफल भएका थिए । झाले दिनेश झाको नाममा समेत नेपाली नागरिकता लिएको आरोप छ । यद्यपि उक्त तथ्यबारे खासै खुल्न सकेको छैन ।

त्यस्तै भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने त्रिवेणीगंजका बासिन्दा बमबम यादव उपर हत्या, अपरहण, लुटपाट लगायत १७ वटा मुद्दा भारतमा मात्रै रहेका छन् । उनी धिरेन्द्र यादवका निकटस्थ मानिन्छन् । झुम्का कारागारबाट भाग्नेहरुमध्ये उनी पनि एक हुन् । उनीसँग पनि नेपाली नागरिकता छ ।

नेपाली नागरिक जतिसुकै बेला पनि सहज रुपमा भारत आवत जावत गर्न सक्छन्, चाहेको बेला विना कुनै रोकटोक भारतको जुनसुकै सहरमा बस्न पाउँछन् तर पाकिस्तानी, बंगलादेशी वा अन्य विदेशीको हकमा भने भारत सरकारले उक्त सुविधा दिएको छैन । त्यसैले भारतमा आतंकी गतिविधि सञ्चालन गर्न पाकिस्तानी तथा बंगलादेशी आतंककारीहरु नेपाली नागरिकता र राहदानी लिन उपयुक्त ठान्ने गरेको बताइएको छ ।

भारतीय, बंगलादेशीलगायत विदेशी नागरिकहरुले पछिल्लो समय नेपाली नागरिकता प्राप्त गर्न सप्तरी, सुनसरी जस्ता सीमासँग जोडिएका जिल्लाहरुलाई सहज रुपमा प्रयोग गर्दै आएका छन् । (annapurnapost बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.