काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजेका लागि अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक छलफलका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । भट्टराईका अनुसार संसदलाई कसरी प्रभावकारी बनाउने र संसदीय दललाई कसरी एक ढिक्का बनाएर अगाडि बढ्नेलगायत विषयलाई एजेन्डाको रुपमा अगाडि सारिएको छ ।
‘शुक्रबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ’, प्रमुख सचेतक भट्टराईले भने, ‘संसदलाई कसरी प्रभावकारी बनाउने, विकास निर्माणका कार्यक्रमलाई कसरी अगाडि बढाउने र एमालेको संसदीय दललाई कसरी एक ढिक्का बनाउने भन्ने तीन विषयलाई एजेन्डा बनाएका छौँ ।’
यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएपछि यस पटकको बैठकमा यो विषयलाई एमालेले एजेन्डा बनाएको हो ।
प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिएसम्म उनले बोलाएका कुनै पनि बैठकमा नजाने अडानमा वरिष्ठ नेता नेपाल समूह रहेको छ । प्रधानमन्त्री ओलीसँग असन्तुष्ट भए पनि अघिल्लो संसदीय दलको बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिए । (annapurnapost बाट सभार)