बैतडीको दोगडाकेदार गाउँपालिकाका–७ चडेपानीका दीपकराज भट्ट २९ फागुनमा गाउँ छाडेर मधेशतिर झरेका थिए।
बलात्कारपछि हत्या गरिएकी चडेपानीकै १७ वर्षीया भागरथी भट्टको घटनाको मुख्य अभियुक्तका रुपमा दीपकका जेठा छोरा १६ वर्षीय दिनेश मुछिएपछि उनको परिवारले गाउँ नै छाडे। भागरथी हत्या प्रकरणमा छोरा पक्राउ परेपछि सृजित सामाजिक वातावरणले बसाई सर्नु परेको दीपक बताउँछन्।
‘दिनेशसँगैका साथीहरु, भागरथीको परिवार, गाउँलेहरुले हेर्ने दृष्टिकोणले गाउँमा बस्न मनले मानेन’ उनले नेपालखबरसँग भने, ‘त्यसपछि घर, खेतीपाती, पशुचौपाय त्यस्तै छाडेर तराई झरेँ।’
दीपक २ छोरा, १ छोरी, श्रीमती, भाइ, भाइ–बुहारी र भाइको छोरीलाई लिएर पहाडबाट बसाईं सरी महेन्द्रनगर आएका हुन्। उनीहरु अहिले कोठा भाडामा लिएर बसेका छन्।
२१ माघमा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीको विद्यालयबाट घर फर्किने क्रममा बलात्कार पछि हत्या गरिएको थियो। उनको अर्को दिन घर नजिकैको स्थानीय लबलेक सामुदायिक वनमा शव भेटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले ५ फागुनमा भागरथीका छिमेकी तथा उनकै विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।
उनले प्रहरी, परिवारका सदस्य, सरकारी वकिल, अदालतमा अपराध स्वीकारेको बयान दिएका थिए। त्यसपछि जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएपछि अभियुक्त दिनेशलाई २६ फागुनमा डोटी पु¥याइएको थियो।
यद्यपी बाल सुधार गृहमा रहेका दिनेशले अहिले आफ्नो बुवासँगको भेटमा अपराध अस्विकार गरेपछि भागरथी प्रकरणमा नयाँ तरंग आएको छ।
दिनेशले आफूलाई जबर्जस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन्। फोन सम्पर्कका क्रममा आफू घटनामा संलग्न नभएको बताएपछि दिनेशलाई भेट्न शनिवार उनका बुवा बालसुधार गृह पुगेका थिए।
पाँच मिनेट कुराकानी गरेका दिनेशले सुरक्षाकर्मी (गार्ड) को सामुन्ने नै घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साविती बयान दिन लगाएको बताएको उनका बुवा दीपकराज भट्टले बताए। दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन्। उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ।
‘घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिए। त्यसपछि मैले अपराध स्वीकारेको हुँ। मैले भागरथीलाई मारेको होइन’ दिनेशको भनाई उदृत गर्दै दीपकले नेपालखबरसँग भने, ‘उनीहरुले नै मलाई मोबाइल, ब्याट्री देखाएका थिए।’
(गोकुल जोशीले nepalkhabar.com मा लेखेका छन्।)