नेकपा एमालेमा महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्ने ओलीको निर्णय !!

Sana Kishan
Total
18
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर ओलीले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित विधान संशोधन गरेका छन् । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छन् ।

Arus

बालुवाटारमा बसेको बैठकलाई केन्द्रीय कमिटीको ‘विशेष बैठक’ भनिएको छ, जसमा झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुलाई भने बोलाइएको थिएन ।

 

बैठकले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीलाई हटाएको छ ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा चुनिएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोरखेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योशेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । भण्डारी राष्ट्रपति छिन् भने बाँकी पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत थियो ।

तर ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । पछिल्लो समय बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।

५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेल बाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसियो

अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । उनले साबिकको नेकपा विभाजित हुँदा आफ्नो समूहले गरेको अधिकांश नियुक्तिलाई निरन्तरता दिएका छन् ।

प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, प्रदेश २ बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेललाई कायमै राखिएको छ । उनीहरु ओली पक्षका नेताहरु हुन् ।

यस्तै स्कुल विभाग प्रमुख आफैंसँग राखेका ओलीले विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई ल्याएका छन् । संगठन विभाग प्रमुखमा विष्णु पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाल र सम्पर्क कमिटी तथा आार्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मालाई आएका छन् ।

बादल समूहका २३ केन्द्रीय सदस्य

एमाले अध्यक्ष ओलीले पूर्व माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा बादल समूह ओलीतिर लागेको थियो । सर्वोच्चको फैसलापछि पनि उनीहरु ओलीतिरै छन् ।

केन्द्रीय कमिटीको विशेष बैठक भनिएको यो बैठकको निर्णयलाई ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने ओली पक्षीय नेताहरुले बताएका छन् ।

कसको जिम्मेवारी के तोकियो ?

Indreni

प्रदेश १

इन्चार्ज ः सुवासचन्द्र नेम्वाङ
अध्यक्ष ः देवराज घिमिरे
सचिव ः विनोद ढकाल

प्रदेश २

इन्चार्ज ः सत्यनारायण मण्डल
अध्यक्ष ः प्रभु साह,
सचिव ः सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज ः रामबहादुर थापा बादल
अध्यक्ष ः आनन्द पोखरेल
सचिव ः खेम लोहनी

गण्डकी

इन्चार्ज ः पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष ः जगत विश्वकर्मा
सचिव ः गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज ः शंकर पोखरेल
अध्यक्ष ः लीला गिरी
सचिव ः खेममान खड्का

कर्णाली

इन्चार्ज ः यमलाल कँडेल
अध्यक्ष ः गुलाबजंग शाह
सचिव ः धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज ः लेखराज भट्ट
अध्यक्ष ः कर्ण थापा
सचिव ः राजेन्द्र सिंह रावल

विभागहरु

स्कुल विभाग प्रमुख ः केपी शर्मा ओली
संगठन विभाग प्रमुख ः विष्णु पौडेल
विदेश विभाग प्रमुख ः राजन भट्टराई
सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुख ः छविलाल विश्वकर्मा
संसदीय विभाग प्रमुख ः सुवास नेम्वाङ
निर्वाचन विभाग प्रमुख ः विष्णु रिमाल

 

(अनलाइनखबरबाट साभार)

Total
18
Shares
सम्वन्धित समाचार
Total
18
Share