सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डर र त्रासको भुमरीमा बाच्दै नारी : स्कुल गएका बालिका बेलुका सुरक्षित घर फर्कने–नफर्कने ठेगाना छैन !!

35
Sana Kishan

नारी हकहित र अधिकारका कुरा चौतर्फी गुन्जिरहँदा यता भने घरको कुनै कुनामा निसास्सिएर बसेका कयौं नारीको रोदन र क्रन्दनले सिरानी भिज्दासम्म पनि त्यो गुन्जिएको आवाज घरबाट बाहिर निस्कन सक्दैन र घरभित्रै मौन रहन्छ। नारी स्वतन्त्रताको अधिकार धुवाँको मुस्लो झैं आफैंमा विलिन हुन पुग्छ।

हाम्रा व्यवहार र संस्कारले नारी र पुरुषबीचको विभेद जन्मको सुरुवाती चरणदेखि नै झल्काउँछ। नारीलाई लक्ष्मी र सरस्वतीको उपमा दिने समाजले नारीको महत्व बुझेर सम्मानको दृष्टिकोणले भने कहिल्यै हेर्न सकेन। यो क्रम सृष्टिको गर्भबाटै सुरु भएको हो। भगवान्को सुशासनको स्वर्णकालमा पनि यो शंकाको घेराबाट बच्न सकेन। रामायणमा रावणले हरण गरेपछि सीताले आफ्नो पवित्रता सावित गर्न अग्नि बलिवेदीमा होमिनुपरेको थियो। माहाभारतमा द्रौपतीको चीरहरण गर्न भएको प्रयासको कल्पना पनि गर्न सकिँदैन। यसमा रामायण र महाभारतको महिमा र गरिमा कम गर्न खोजिएको हैन। यस्ता धार्मिक ग्रन्थको कटु पक्षबाट जोगिन नसकेर यस्तै पितृसत्तात्मक सोच र संस्कारमा हुर्किएका हामीले नारीप्रतिको विभेद पन्छाउन हम्मे परिरहेको छ।

Arus

नारीको हक हितका मामलामा कार्यान्वयन पक्ष कमजोर भएकाले सुधारको अनुभूति भने हुन सकेको छैन। नारी सुशिक्षित, सक्षम र सबल हुने वातावरण नबनेसम्म जस्तोसुकै कानुनी व्यवस्था पनि प्रभावकारी हुने देखिँदैन।
जन्मिन नपाउँदै नारीले विभेदपूर्ण व्यवहार खेप्दै बाँच्नुपर्ने अवस्था छ। नारी सधैं असुरक्षित र डरलाग्दा चोटले पीडित हुन्छन् र आफ्नो जीवनको यात्रा आफ्नो हिसाबले हिँड्न सक्दैनन्। नारीको शारीरिक बनावट नै असुरक्षाको कबजजस्तो भएको छ। नारीविना न पुरुषको भोग सम्भव छ न वंशको निरन्तरता र रक्षा नै। तर पनि सधैं नारी किन शोषित भइरहेका छन्। नारीलाई आफ्नो शरीर र इज्जत बचाउन हजार उपाय सिकाउन सक्ने हाम्रो संस्कारले किन पुरुषलाई नारीप्रति कुदृष्टिले हेर्नु हुन्न र महिला हिंसा गर्नु पाप हो भनेर किन सिकाउन सकेन ?

नारी जीवनलाई सक्षम, आत्मनिर्भर र सुयोग्य तुल्याउने सन्दर्भमा महिला सशक्तीकरणका विषयमा नारा घन्किएको लामो समय बितिसकेको छ। हरेक वर्ष मार्चमा ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ। नेपालमा प्रत्येक वर्ष २५ नाभेम्बरदेखि १० डिसम्बरसम्म महिला हिंसाविरुद्धको सोह्रदिने अभियान पनि सञ्चालन हुँदै आएको छ। आजसम्म पनि नारीको हक हितका मामलामा कार्यान्वयन पक्ष कमजोर भएकाले खास सुधारको अनुभूति भने हुन सकेको छैन। सन् २००७ मा भएको एक सर्वेक्षणअनुसार महिला र पुरुषबीचको लैंगिक असमानता समाप्त गर्न अझै सय वर्ष लाग्ने अनुमान गरिएको थियो।

आजसम्म पनि डर र त्रासको भुमरीमा नारीले बाँच्नुपर्ने अवस्था ज्यूका त्यूँ छन्। स्कुल कलेज गएका बालिका बेलुका सुरक्षित घर फर्कने–नफर्कने ठेगाना छैन। किशोरी १२र१५ वर्ष पनि पुग्न नपाई असुरक्षाको अनुभव गर्नुपर्ने र अकल्पनीय मृत्युको समेत सिकार हुनुपर्ने यो कस्तो नियति हो ? निर्मला पन्तलगायत अनेकौं किशोरी र महिलाको बलात्कारपछि हृदयविदारक हत्या भयो तर हाम्रो कमजोर संयन्त्रले हालसम्म दोषी पत्ता लगाई न्यायको कठघरामा उभ्याउन नसक्नु लज्जाजनक हो। यस्ता जघन्य अपराधको समयमै कारबाहीको टुंगो लाग्न नसक्नु र अनेकौं नमीठा भोगाइलाई नारीले सधैं अगाडि–पछाडि लगाएर हिँड्नुपर्ने अवस्था अन्त्य हुन नसक्नु विडम्बना हो। आजसम्म अनेकौं विसंगतिका पहाडले नारीको विकास र प्रगतिमा वाधा पु¥याइरहेका छन्।

सुदूरपश्चिममा अझै पनि छाउपडी प्रथाको डरलाग्दो रूपले महिला पीडित छन्। महिनावारी भएको अवस्थामा एकातिर घरभन्दा बाहिर असुविधाको सामना गर्दै गोठ तथा असहज ठाउँमा असुरक्षित भएर बस्नुपर्ने अवस्था छ भने अर्कातिर अकालमा मृत्युसमेत भएको छ। यो प्रथा हटाउन आजसम्म धेरै प्रयास भइसकेका छन्। तर पनि यो अवस्थामा खास राम्रो सुधार आउन सकेको छैन।

नेपालमा दहेज र दाइजो प्रथाले पनि नारीमाथि तुषारापात छर्ने काम गर्दै आएको छ। योग्य र सक्षम केटीले पनि घरपरिवारमा सम्बन्ध जोड्न ठूलो धनराशि र जिन्सी सामान तथा गरगहनाको जोहो गर्नुपर्ने अवस्थाले नारी हकहितमा ठूलो आघात पारेको छ। त्यति मात्र नभएर विवाहपछि पनि झगडा र कुटपिटजस्ता हिंसाका कारण महिलाको कहालिलाग्दो मृत्युसमेत हुने गरेको छ। पारिवारिक हिंसाको कारणले महिलाको जीवन सधैं जोखिममा पर्ने गरेको छ। वैवाहिक जीवनको उत्तराखण्डमा समेत सम्बन्ध–विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। कयौं नारीको आफ्नै परिवारका सदस्यबाट दर्दनाक हत्यासमेत हुने गरेको छ।

मानव बेचबिखनको पाटोले पनि महिलाको अवस्था दयनीय तुल्याएको छ। गरिबीको मारमा परेका किशोरीलाई सुखसुविधाको प्रलोभन देखाएर विदेशमा लगेर बेचबिखन गर्ने र नारीहरूको जीवनलाई नरकमा होम्ने काम भइरहेको छ। केही वर्षदेखि समुद्रपारका मुलुकमा रोजगारका लागि गएका महिलाले भोग्नुपरेका पीडा पनि कम दर्दनाक छैनन्। बालविवाह, अनमेल विवाह र बहुविवाहले नारी अस्मितामाथि ठूलो खेलबाड गरेको छ। बाल्यकालमै विवाह हुँदा एकातिर वैवाहिक जीवन नै धरापमा पर्न जाने गरेको छ भने अर्कातिर बहुविवाहका कारण दाम्पत्य जीवन भताभुंग हुने गरेको छ।

Karnali Traders

बोक्सी प्रथा पनि नारीलाई आहत पार्ने ठूलो कुरीति हो। गलत अन्धविश्वासका कारण कयौंं नारी अनाहकमा यसबाट प्रताडित भइरहेका छन्। शारीरिक अंगभंग गराएर ज्यानसम्म जाने अवस्था यसले निम्त्याउने गरेको छ। एसिड आक्रमणका कारण नारीको जीवन क्षतविक्षत् बन्न पुगेको छ। कोमल किशोरी र महिलामाथि हुने यस्ता जघन्य अपराध फस्टाउँदै गएको छ। यसकारणले नारीको जीवन कुन बेला जोखिममा पर्ने हो कुनै ठेगान छैन। धार्मिक प्रथा र परम्पराको आडमा दूरदराजमा देउकी र कुमारी पुज्ने नाममा नारीको स्वतन्त्रता र अधिकार गुम्दै आएको पनि समाजमा विद्यमान रहिरहेको छ। सार्वजनिक स्थल, सवारीसाधनमा यात्रा गर्दा र काम गर्ने ठाउँमा हुने दुव्र्यवहार र हिंसाजन्य व्यवहार मौलाउँदै गएको छ। तर सामाजिक तहमा हुने यस्ता घटनाला सामान्य रूपमा लिइन्छ र पुरुषले गरेका यस्ता अपराध र अशोभनीय व्यवहार गौण बन्दै आएको छ।

सबल, सक्षम, सुशिक्षित र योग्य नारीबाट घरपरिवार, समाज र राष्ट्रको विकास तथा समृद्धिमा गहकिलो टेवा पुग्न सक्छ। अन्तर्राष्ट्रिय जगत्मा नारी धैरै अगाडि बढेको अवस्था छ। नेपालमा पनि नारीहरूको हकहित र विकासमा कुनै प्रयास नभएको भने होइन तर तिनीहरूको कार्यान्वयन पक्ष कमजोर भएको कारणले नारीहरूको अवस्थामा यथोचित सुधार आउन नसकेको हो। नेपालका दूरदराजका नारीले आफ्नो जीवनलाई अझसम्म

गुमराहमा राख्न बाध्य हुनुपरेको छ। नारीहरूको सशक्तीकरणका विषयमा तयार भएका प्रतिवेदनले सम्बन्धित मन्त्रालयको दराजको शोभा बढाउने र धमिराले खाने चरणलाई पार गर्न सकको छैन भन्दा कुनै अतिशयोेक्ति नहोला।

नारी र पुरुष एक रथका दुई पांग्रा हुन्। एकको अस्तित्वविना अर्कोको सहज र सुन्दर जीवनको परिकल्पना गर्न सकिँदैन। नारीहरू आजसम्म पछि पर्नुमा बहुसंख्यक पुरुषले नारीलाई हेर्ने दृष्टिकोण जिम्मेवार रहेको छ। यस्तो हुनुमा महिला मात्र सजग र सर्तक भएर नपुग्ने देखिन्छ। हामीले हाम्रो संस्कार र सिकाइलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ। नारीलाई हेर्ने दृष्टिकोण र व्यवहारमा जबसम्म परिवर्तन हुन सक्दैन यस्ता घटना दोहोरिरहन्छन्। आज नारीप्रति जेजति अप्रिय घटना भइरेहका छन् र त्यसको दोष सम्पूर्ण पुरुषलाई दिन मिल्दैन। अशिक्षित, अर्धशिक्षित, कुलतमा लागेका, मादक पदार्थ सेवन गर्ने र आपराधिक पृष्ठभूमि भएका पुरुषबाटै यस्ता विकृतजन्य र आपराधिक घटना भइरहेका छन्।

नारीलाई परापूर्वकालदेखि भोकविलासको माध्यमका रूपमा सीमित गरिनुले पनि यो अवस्था देखिएको हो। यसका लागि सबै पुरुषलाई नैतिक शिक्षा, लैंगिक शिक्षाजस्ता माध्मबाट सुशिक्षित बनाउन आवश्यक छ। दाइजो प्रथा, घरेलु हिंसा, बालविवाह, बहुविवाह, अनमेल विवाह, धार्मिक आडका रूपमा हुने देउकी प्रथा तथा छाउपडी प्रथा हटाउन हालसम्म भएका प्रयास त्यति प्रभावकारी हुन नसकेकाले यसलाई बढी सशक्त र निरन्तर रूपमा अगाडि बढाउन आवश्यक छ। यसमा समुदाय स्तर र राज्यको निरन्तर चासो रहनुपर्ने र साथै प्रभावकारी रूपमा कानुनलाई कार्यान्वयन गर्नु खाँचो छ। यस्ता हिंसाको अन्त्य नभएसम्म समृद्ध नेपालको परिकल्पना अधुरै रहन्छ र अन्ततः नारीले खुला आकाशमा विचरण गर्ने कुरा पनि कोरा कल्पना मात्र हुन जान्छ।

महिला सरकारको नजरमा पनि कति दयनीय हालतमा छन् भन्ने कुरा हालै अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि २०६५ को संशोधनको मस्यौदामा हुन लागेको प्रावधानलाई अघि सार्न सकिन्छ। खाडी र अफ्रिकी मुलुकमा पहिलोपटक जान लागेका महिलालार्ई स्थानीय तहको सिफारिस र पारिवारिक मञ्जुरीनामा चाहिने प्रस्तावित प्रावधानले संविधानमा व्यवस्था भएको मौलिक हकमाथि नै चुनौती खडा गरेको छ। त्यस्तै भिजिट भिसामा जानेले १५ लाख रुपैयाँ बराबरको निर्जीवन बिमा गर्नुपर्ने प्रस्तावित प्रावधान पनि नारीहरूको थाप्लोमा बोझिलो भारी हुन पुग्ने छ। सरकारले राम्रो मनसायले यो व्यवस्था गर्न खोजेको जिकिर गरे पनि यसले अन्ततोगत्वा लैंगिक असमानताको झल्को दिन्छ।

एक्काइसौं शताब्दीसम्म पनि नारीले यसरी खुम्चेर रहनुपर्ने अवस्था निश्चय पनि खेदजनक हो। नारी सुशिक्षित, सक्षम र सबल हुने वातावरण नबनेसम्म जस्तोसुकै कानुनी व्यवस्था पनि प्रभावकारी हुने देखिँदैन। संविधानको मर्मभन्दा बाहिर गएर लैंगिक समानताको प्रावधानको समेत ख्याल नगरी नारी स्वतन्त्रता हनन हुने गरी कार्यविधि तयार भएमा त्यसले अवश्य पनि नकारात्मक नतिजा निम्त्याउन सक्छ। तसर्थ प्रस्तावित कार्यविधिलाई समयानुकूल परिमार्जन गरी नेपाली नारीको विदेशमा आवतजावत गर्ने व्यवस्थालाई सहज तुल्याउन आवश्यक छ। जहाँसम्म विदेशमा गएका नारीले भोग्नुपरेका पीडाको सवाल छस यसमा सम्बन्धित निकायलाई नै बलियो, सक्षम र सुदृढ बनाइन आवश्यक छ।

(अर्पणा केसीले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.